RaraNews

प्रकाशित : २०७७/४/३० गते
८८६ पटक

कृष्ण रणपाल
आज साउन ३० गते आजकै दिन वि.स. २०६८ साउन ३० गते तदनुसार सन् २०११ अगष्ट १५ तारिखका दिन नेपाली दलित आन्दोलनका एक होनहार सक्रिय युवा सुवास कुमार दर्नाललाई सदाका लागि गुमाएको अत्यन्तै दुःखद दिन हो । आज उहाँलाई गुमाएको १० वर्ष पुगेको छ । साउनको महिना त्यतिबेला आकाश मडारिएर वर्षाले जलमग्न भएको तराई अनि पहाडको बाढी पहिरोले विपद्मा परी प्रकृति आफै रोइरहेको अवस्था थियो । यता भने विहान विहान सुभास दाइको मृत्युको खबर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सुन्नुपर्दा विश्वासै लागेन । अझै भनौं हजारौं माइल टाढा अमेरिका रहनुभएका दाइ सुभासको सडक दुर्घटनामा परी ३१ वर्षको अल्पायुमै मृत्युको खबरले अत्यन्तै दुःखित एवं स्तब्ध भयौं । नेपाली दलित आन्दोलनका एक योद्धालाई हामीले सदाका लागि गुमाउनुको पीडा सहनुबाहेक अन्य विकल्प पनि रहेन । सत्य यथार्थ नै हुन्छ, सत्यलाई कहिल्यै असत्यमा बदल्न सकिदैन भन्ने कुरा उहाँको मृत्युले प्रष्ट बताइ दिएको छ ।
अमेरिकास्थित स्ट्याण्डफोर्ड युनिर्भसिटीमा ३ हप्ताको ड्रपर डिस्लुमर फेलोसिपमा अध्ययन गर्न जानुभएका दर्नाल अध्ययन सकेर वासिङटन फर्केपछि सवारी दुर्घटनामा परी घटनास्थलमा मृत्यु भएको थियो । सुभाष वास्तवमै नाम मात्रको सुभास नभई उहाँको कामले सबै क्षेत्रमा फूलको वास्नाका रुपमा स्थापित एउटा सुभाषका रुपमा परिचित संघर्षशील व्यक्ति हुनुहुन्थ्यो । उहाँमा एउटा सरल, निडर, साहसी र मृदुभाषी स्वभावले सबैसँग सहजरुपमै तुरुन्तै घुलमिल हुने र जस्तोसुकै विषयलाई पनि तार्किक निष्कर्षमा पुराउने अदम्य क्षमता थियो । उहाँ जीवनका कठिन र संघर्षशील यात्राका क्रममा एउटा कुशल लेखक, पत्रकार, मानवअधिकारकर्मी र सिंगो दलित सञ्चारकर्मीका अभिभावक र दलित आन्दोलनलाई स्थापित गर्ने अभियान्ताका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँले दलित आन्दोलनको कमजोर क्षेत्रका रुपमा रहेको पत्रकारिता र आम सञ्चार क्षेत्रलाई संस्थागत गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्व विकास गरी मिडिया परिचालनमार्फत सशक्तिकरण, समावेशिकरण, स्थानीय नागरिक संस्थाहरु र दातृ निकायहरुका बीचमा सुमधुर सम्बन्धको विकास गर्नुभएको थियो । खासगरी देशमा सदियौं वर्षदेखि जडको रुपमा रहेको जातीय विभेद र छुवाछुतको विरुद्धमा राज्यबाट बाहिर रहेका समुदायहरुलाई एकीकृत गरी सभ्य समाजको निर्माण गर्ने र सिंगो दलित समुदायका व्यक्तिहरुको न्यायका लागि देशभित्र एउटा बलियो संस्था निर्माण गर्ने दौरानमा लाग्नेक्रममा कम उमेरमै हामीबाट छुट्टिनुभएको छ ।
उहाँले आवाजविहीनहरुको आवाजलाई बुलन्द गर्दे वि.स.२०६२/०६३ सालको जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ विपन्न परिवारमा हुर्किएको व्यक्ति भएकोले पनि होला समाज र राष्ट्रमा जातीय विभेद र छुवाछुतजस्तो कुरीति र कुप्रर्थाको घोर विरोध र अन्त्यमा तल्लीन भई विभिन्न आन्दोलनहरु चाहे त्यो नागरिक आन्दोल होस् या दलित आन्दोल वा राजनीतिक आन्दोलनमा सधै सक्रिय भूमिका रहेको थियो । मानवतावादी, समन्यायिक र समतामूलक समाज निर्माण गर्न उहाँ एउटा अथक र कर्तव्यनिष्ठ सामाजिक योद्धाका रुपमा परिचित हुनुहुन्थ्यो । सामाजिक कुरीति, कुसंस्कार र अव्यवस्थाविरुद्ध चेतना र कलमको वैचारिक युद्ध छोड्दै हिंड्नु भएको थियो । देशमा उच–निचको मध्ययुगिन मनुवादी सोचबाट निर्देशित २१ औं शताब्दीको नेपाली समाजलाई परिवर्तन गर्ने सोचमा उहाँमा अथाह रहेको थियो । यो लडाईमा सबल र समयसापेक्ष बनाउने तत्कालीन राज्य र मूलधारका दलित गैरसरकारी संस्थाले समेत चासो नदिएको आम सञ्चारमा दलितको पहुँचलाई मूल मुद्धाको रुपमा उठान गरी दलितहरुको सूचनाको हक स्थापित गर्न र त्यसलाई दलित मुक्तिसँग जोड्न उहाँले आफ्नो नेतृत्वमा जागरण मिडिया सेन्टरको स्थापना गर्नुभयो । एउटा साँघुरो कोठाबाट सुरु भएको जागरण मिडिया सेन्टरको यात्रा प्रकारान्तरले देशकै बृहत दलित आन्दोलन हाक्ने नेतृत्वदायी संस्थाको रुपमा स्थापित भैसकेको थियो ।

सीमित सफलतामा मात्र उहाँ कहिल्यै सन्तुष्ट नरहने सरल सवभावका कारण अमेरिका र बेलायतमा अध्ययन, अनुसन्धान गरी अत्यन्त नविनतम र ठोस योजनासहित दलित समुदायको बैज्ञानिक अध्ययन, अनुसन्धानका लागि समता फाउण्डेशन स्थापना गर्नुभयो । जुन संस्थाले आजसम्म दलित समुदाय र बहिस्करणमा परेको समुदायको अध्ययन र अनुसन्धानको रुपमा अग्रणी संस्थाको रुपमा स्थापित भएको छ ।
भनिन्छ, जसको आयु कम हुन्छ, उनीहरुले अल्पायुमै एउटा सफलताको विरासत निर्माण गरी जान्छन् र सधै समाज र देशका लागि युगौंयुगसम्म जीवित रहिरहन्छन् । हो आज सुभासका लागि त्यस्तै भएको छ, युवा अवस्थामा भएका ऊर्जा र सपनालाई पूरा गर्ने ऊर्जा, आत्मबल, दृष्टिकोण, त्याग र लगनशीलताको उचित संयोजन कमै व्यक्तिमा मात्रै हुन्छ तर सुभास दाइमा यस्ता सबै गुणले युक्त हुनुहुन्थ्यो भन्ने आधारको ज्वलन्त उदाहरण उहाँले स्थापना गरेको संस्था जागरण मिडिया सेन्टर, शान्तिका लागि साझा अभियान (कोक्याप) र समता फाउण्डेशनको सफलता हो । जागरण र समताको आज जुन क्षितिज छ त्यो क्षितिजमा अथाह रङ भर्ने काम सुभास दाइले नै गर्नुभएको थियो ।

त्यस्तै उहाँकै नेतृत्वमा आवाजविहीनहरुका लागि आवाज भनेर बुटवलको कालिकानगरमा रेडियो जागरण ९३.६ मेगाहर्ज स्थापना गर्नुभयो । त्यस्तै उहाँकै नेतृत्वमा दलन टेलिशृङ्खला कार्यक्रम टेलिभिजनबाट प्रसारणजस्ता थुप्रै संस्थाहरुमा कुशलतापूर्वक नेतृत्व गर्नुभएको थियो । सुभाष दाइले ३१ वर्षको अल्पायुमै एउटा विपन्न गरिब परिवारमा जन्मिएर पाल्पा, बुटवल हुँदै काठमाण्डौंमा रहेर छोटो समयमै गरेको प्रगति र उल्लेखनीय कार्यले अबको भावी पुस्ताले दर्बिलो पाठ सिक्ने अवसर निर्माण गर्नु भएको छ । सुभास दाइको भौतिक शरीर हामीबीच नरहेपनि उहाँले आफ्नो जीवनका हरेक कालखण्डमा गरेका संस्थाहरुको प्रगति अत्यन्तै उत्कृष्ट र प्रशंसनीय छन् र हाम्रो मानसपटलमा सधै संझनायोग्य रहिरहनु हुनेछ भन्नेमा हामी सबै विश्वस्त छौं । उहाँका बाँकी रहेका सपनाहरु र संस्थागत विकासमा आगामी यात्रा सफल र उदाहरणीय बनाउन हाम्रो महत्वपूर्ण सहयोग रहिरहने छ । सुभास दाइलाई अर्पण गरेका श्रद्धाञ्जली त्यति बेलासम्म सच्चा ठहर हुनेछ, जतिबेला उहाँले देखेको दलित मुक्तिको सपना साकार पार्न हामी आफ्नो ठाउँबाट केही गर्न सक्नुपर्छ । एउटा दियो निभेपनि उहाँको सपनालाई मूर्तरुप दिन उहाँले लिएको मार्गलाई पहिचान गरी अन्य सुभाषहरु जन्माउन सक्नु पर्छ ।
सुभास र नागरिक आन्दोलन
तत्कालीन विद्रोही माओवादी र सात राजनीतिक दलका बीच दिल्लीमा १२ बुँदे सहमतिपछि नेपालमा सडक आन्दोलनको माग बढिरहेको थियो । ठीक त्यही बेला सुभासकै समन्वयमा मानवअधिकारवादी तथा नागरिक अगुवाहरुको भेला भयो । डाक्टर देवेन्द्र पाण्डे, श्याम श्रेष्ठ, पद्मरत्न तुलाधर, हरि रोका, दिपेश प्रसाई, चरण प्रसाई, शम्भु थापा, विनोद पहाडी, पदमलाल विश्वकर्मा, कृष्ण भट्टचन र डाक्टर सुन्दरमणी दिक्षितलगायतको भेला गरी लोकतन्त्रका लागि नागरिक आन्दोलन परिचालनका लागि विशेष पहल भयो । त्यसैगरी उहाँले दलित नागरिक आन्दोलनको संयोजन गर्ने काम गर्नुभयो ।
को हुन् सुभाष दर्नाल ?
सुभाष कुमार दर्नालको जन्म वि.सं. २०३६ साल जेठ २६ गते पश्चिम पाल्पाको मुझुङ –१ पाल्पा हाल रैनादेवी छहरा गाउँपालिकामा आमा सरिता दर्नाल र बुबा डिलबहादुर दर्नालका कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्म भएको हो । गरिब परिवारमा जन्मिनु भएका दर्नालको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले अध्ययन गर्न धौँधौँ परेको थियो । उहाँ सानै उमेरदेखि अत्यन्तै मेहनती र पढाईमा अग्रपङ्तीमा हुनुहुन्थ्यो, फलस्वरुप एस.एल.सी.मा गाउँको विद्यालय कालिका मा.वि.बाट प्रथम श्रेणीमा उत्तीर्ण भई उच्च शिक्षाको लागि बुटवल आउनु भएको थियो । पछि बुटवलमा अध्ययन गर्न र जीविका चलाउन नसक्ने भएपछि काठमाण्डौं प्रस्थान गर्नुभयो । उहाँले त्यसअघि बु्टवलको दैनिक लुम्बिनी र नयाँ चुनौती साप्ताहिकमार्फत उहाँले पत्रकारिता आरम्भ गर्नुभएको थियो ।

काठमाण्डौंमा पुगेपछि आर्थिक अभावका कारण समस्याहरुलाई संघर्षका साथ पार गर्दै आम सञ्चार, पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक तहसम्म अध्ययन गर्नुभएको थियो । पछि त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर तह अध्ययनकै क्रममा उहाँको निधन भयो । सुभासको दलित आन्दोलनलाई सशक्तरुपमा अगाडि बढाउन र दलित आन्दोलनका कार्यक्रमहरु गर्नेजस्ता महत्वपूर्ण निर्णय गर्न उहाँको मामा पत्रकार विनोद पहाडीको महत्वपूर्ण सल्लाह र सुझाव दिनु हुन्थ्यो । पत्रकारिता र सामाजिक रुपान्तरणको आन्दोलनमा सुभासलाई प्रेरित गर्ने पहाडी मुख्य पात्र हुनुहुन्थ्यो । त्यसैले त सुभास दिनदिनै सबैको छत्रछायाँमा चम्किलो ताराका रुपमा उदाउनु भएको थियो । सुभासले आफ्नो जीवनलाई निरन्तर संघर्षका यात्रामा अगाडि बढाउँदै दलित अधिकार र नागरिक आन्दोलनका कार्यक्रममा सरिक हुँदै अगाडि बढ्नु भयो । जागरण मिडिया सेन्टरको स्थापना गरी समाजमा व्याप्त जातीय भेदभाव र छुवाछुत अन्त्य गरी सामाजिक न्याय स्थापनाका लागि क्रियाशील दर्नालले जागरण मिडिया सेन्टरको संस्थापक अध्यक्ष, शान्तिका लागि साझा अभियान (कोक्याप)को अध्यक्ष र समता फाउण्डेशनको कार्यकारी निर्देशकको रुपमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

त्यस्तै निरङकुश राजतन्त्रविरुद्ध २०६२/०६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा उहाँले दर्जनौं मानवअधिकारवादी संस्थाको संयोजनगरी मानवअधिकार रक्षाका लागि नेतृत्वदायी भूमिका खेल्नु भएको थियो । उहाँको नेतृत्वकालमा दलित समुदायको अगुवाईमा सुरु भएको दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोः रेडियो जागरण ९३.६ मेगाहर्ज बुटवलमा स्थापित गर्ने र ऐतिहासिक टेलिशृङखला ‘दलन’ निर्माणमा महत्वपूर्ण भूमिका निभाउनु भएको थियो । त्यसैगरी नेपाली दलित आन्दोलन होस् या राजनीतिक आन्दोलनलाई एकिकृत गर्ने कार्यमा उहाँको निरन्तर सक्रियता अपरिहार्य रहेको थियो ।

दर्नाल अवार्ड स्थापनाः
सामाजिक न्यायका अभियान्ता स्व.सुभाष दर्नालको स्मरणमा दर्नाल अवार्ड स्थापना गरिएको छ । अन्तर्राष्ट्रियस्तरको उक्त अवार्ड रु ५ लाख राशीको रहेको छ । हालसम्म सिन्धुपाल्चोक मेलम्चीको गरिब बस्तीको एक प्राथमिक विद्यालयलाई र क्रमशः दलित आन्दोलनका जुझारु युवाहरु कपिलवस्तुका रक्षाराम हरिजन, अछामका दुर्गा विश्वकर्मा, वैतडीकी सरस्वती नेपाली दर्नाल अवार्डबाट सम्मानित भैसक्नु भएको छ । उक्त पुरस्कार उहाँको पत्नी सरिता परियारले सरिता परियार ट्रष्ट फण्ड मार्फत हरेक २ वर्षको अन्तरालमा अगष्ट १५ का दिन ४० वर्ष मुनीका दलित युवाहरुलाई दर्नाल अवार्ड प्रदान गरिदै आएको छ ।

सुभाषले गरेका उपलब्धिहरुः
सुभाष दर्नालले सन् २००८/०९ मा अमेरिकास्थित ‘रेगम–फेसिल डेमोक्रेसी फेलोसिप’ प्राप्त गर्नुभएको थियो । उहाँले समावेशी लोकतन्त्रका लागि सकारात्मक विभेदबारे अध्ययन गर्नु भएको थियो । त्यस्तै उहाँको लेखनमाःसंविधान सभामा दलितःसभासद संवाद,उहाँको सम्पादनमा ‘आरक्षण र विशेषाधिकारको राजनीतिक पुस्तक’ प्रकाशित भएका छन् भने लोकतन्त्र र दलित अधिकारका विषयमा दर्जनौ लेख रचनाहरु प्रकाशित गर्नु भएको छ । सुभाषको मृत्यु भैसकेपछि उहाँले गरेका सिर्जनशील र रचनात्मक दलित आन्दोलनलाई नयाँ उचाईमा पुराउन उहाँले थालनी गरेका योजना र प्राज्ञिक दृष्टिकोणलाई जीवन्त राखी निरन्तरता दिन नेपालमॉ सुभास दर्नाल स्मृति प्रतिष्ठान’ गठन भएको छ । उहाँको मृत्यु भएको वर्ष दिनको अवसरमा प्रतिष्ठानका तर्फबाट सुभास दर्नालसँग सम्बन्धित परिवारजन,मानवअधिकारकर्मी,दलित आन्दोलनकर्मी तथा सह–योद्धाहरुको स्मरणहरुको संगालोको रुपमा ‘सुभास दर्नाल स्मुति ग्रन्थ’नामक महत्वपूर्ण पुस्तक प्रकाशित भएको छ । उक्त ग्रन्थमा उहाँको बाल्यकालदेखि युवाअवस्थामा आईपुदासम्मका निरन्तर संघर्षका नाली बेलीहरु प्रष्टसंग देख्न सकिन्छ ।
जन्मथलो मुझुङ पाल्पादेखि कर्मथलो बुटवल, काठमाण्डौ र अन्तराष्ट्रिय देश अमेरिकाको यर्थाथ विषयवस्तुलाई समष्टिगत रुपमा उल्लेख गरिएको छ । यसरी ३१ वर्षको कलिलो उमेरको युवा अवस्थामै उहाँकी पत्नी सरिता परियार र १ वर्षकी सानी छोरी सामनालगायत हामी सबैले आदरणीय व्यक्ति गुमाउनु परेको छ । तरपनि कठीन परिस्थितिलाई सम्हालेर मनलाई दर्बिलो बनाई आफ्नो जीवन चलाउनुबाहेक हामीसँग अर्को कुनै विकल्प रहेन । यसरी नेपालको दलित आन्दोलनलाई संस्थागत विकास गर्न र आम नागरिकको मानवअधिकारको रक्षाका लागि सुभाष दर्नालको महत्वपूर्ण योगदान रहेको छ । आज हामी बीच उहाँ भौतिक रुपमा जीवित नभएतापनि उहाँले सञ्चालन गरेका संस्थाहरुको प्रगति र उन्नतिले फेरि पनि सुभाष दर्नाल यताकता मानसपटलमा रहिरहनु हुनेछ ।
आवाजविहीन नागरिकको आवाज बुलन्द गरी देशभित्र रहेका तमाम दलित–गैरदलित नागरिकले सामाजिक न्यायको रुपमा आफ्नो अधिकार प्राप्त गरेका छन् । आज उहाँ यो संसारमा नभएको ९ वर्ष बितिसकेको छ । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै बैकुण्ठवासको कामना गर्दछु ।

प्रतिकृया दिनुहोस्