RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/८/२२ गते
१४७ पटक

काठमाडौं। पत्रकारितामा दलित समुदायका दक्ष जनशक्ति टिकाउन चुनौति बढिरहेको सरोकारवालाहरुले दावी गरेका छ । बढ्दो आर्थिक मन्दीसँगै मिडिया क्षेत्र पनि प्रभावित भएकाले यस्तो चुनौति देखिएको हो ।

जागरण मिडिया सेन्टरद्धारा बिहिबार आयोजित सामाजिक लेखाजोखा तथा वार्षिक समिक्षा कार्यक्रममा पत्रकारिता क्षेत्र सामाजिक सञ्जालका कारण चुनौति बढिरहेको गरिएको छ । पूवंसांसद तथा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले मिडिया चुनौति बन्दै गएकाले दलित समुदायका पत्रकारहरुलाई यो पेशामा जोगाइ राख्न समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मिडियामा एकपछि अर्को चुनौति थपिएका छन, आर्थिकमन्दीको मारमा मिडिया परेको छ दक्ष जनशक्ति पलायन हुने खतरा छ । दलित समुदायका पत्रकारहरु थप चुनौतिमा छन् ।”जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले मिडिया बलियो नहुँदा लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभयो ।

मिडिया क्षेत्र समावेशीकरण हुन नसकिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “समावेशीकरण हुँदा मिडिया बलियो हुन्छ । मिडिया बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको जनता बलियो हुनु हो । त्यस कारण मिडियामा दलित समावेशीकरण जरुरी छ ।”

समाजकल्याण परिषदका सदस्य आस्था केसीले सीमान्तकृत समुदायका मुद्धा स्थापित गर्न अझै पत्रकार उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले सीमान्तकृत समुदायका युवा जनशक्तिलाई पत्रकारका रुपमा उत्पादन गर्ने नेतृत्व जागरण मिडिया सेन्टर लिनुपर्ने बताउनुभयो ।

दलित गैरसरकारी महासँघका महासचिव एकराज लकान्द्रीले जातीय भेदभाव विरुद्धका घटनामा सञ्चारमाध्यमले मिसनका रुपमा मुद्धा उठाइदिनुपर्ने बताउनुभयो । दलित मुद्धामा दलितसँगै गैरदलित समुदायका व्यक्तिहरुले लेखन र बहस थाल्नुपर्ने बताउनुभयो ।

जुरी नेपालका सह कार्यकारी निर्देशक विष्णु पोखरेलले नागरिक समाज र मिडियाको भूमिका जोड्ने पुलको रुपमा जागरण मिडिया सेन्टरले काम गर्न सक्ने बताउनुभयो । उहाँले सामाजिक न्याय र समानताका क्षेत्रमा जागरण मिडिया सेन्टर अझै काम गर्न सक्ने बताउनुभयो ।

शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले जागरण मिडिया सेन्टरले सानो बजेटमा पनि प्रशस्त काम गरेका बताउनुभयो ।

अधिवक्ता रक्षाराम हरिजनले लुम्बिनी प्रदेशमा दलित सम्वन्धी ऐन ल्याउन जागरण मिडिया सेन्टरको नेतृत्वमा पहल गर्नुपर्ने बताउनुभयो ।

जागरण मिडिया सेन्टरका संस्थापक उपाध्यक्ष कृष्ण रणपाल र समता फाउन्डेसनका अर्जुन विश्वकर्माले दलित समुदायको प्राज्ञिक बहसका लागि डिजिटल प्लेटफमको विकास गरी अगाडि बढनुपर्ने बताउनुभयो ।

जागरण मिडिया सेन्टरका कार्यक्रम संयोजक वीर बहादुर नेपालीले सामाजिक लेखाजोखा तथा वार्षिक समीक्षा कार्यक्रम सम्वन्धी प्रस्तुती राख्नुभयो । संस्थाकी वित्त अधिकृत माया चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका महासचिव भीम बहादुर घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्