RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१/४ गते
२२५ पटक

राजनीतिक खिचातानीमा मुसहरका समस्या ज्यूँका त्यूँ

सुवास गोतामे,

बारा (दौर्वा) । सदरमुकाम कलैयादेखि  १४ किमि पूर्व अवस्थित दौर्वा गाउँ भौगोलिक हिसाबले विकट छ । बारागढी गाउँपालिका–२ मा पर्ने दौर्वामा करिब ४० घरधुरी मुसहर छन् ।

उक्त मुसहर बस्तीको मुहार विगत तीन पुस्तादेखि अहिलेसम्म फेरिएको छैन । बस्तीबीच भेटिइन् ३९ वर्षीय चनरकलिया देवी माझी । उनका श्रीमानका तीन दाजुभाइ छन् । उनीहरुका एक–एक फुसको घरले छाएको छाप्रो छ । एउटा खाटसमेत नअट्ने त्यही छाप्रोमा २२ जनाको परिवार बस्दै आएको चनरकलिया बताउँछिन् ।

उनीहरुसँग खेती गर्न एक इन्च पनि जमिन छैन । दिनभर अरुको काम गर्न गएबापत ल्याएको ज्यालाले नै चनरकलिया परिवारको रोजीरोटी चल्दै आएको छ । गर्मीमा मुसहर बस्तीमा पंखा चल्दैन । वर्षातमा फुसका घरले पानी थेग्दैन ।

चनरकलिया भन्छिन्, ‘हामी धेरै गरिब छौं । हाम्रो गरिबीलाई सरकारले हेर्दैन । भोट माग्ने बेलामात्रै नेता आउँछन् । नाता लगाउँछन् । तर, हाम्रो जीवनयापन सुधारमा कसैले ध्यान दिंदैनन् ।’ मुसहर बस्तीमा धेरै चनरकलियाहरु भेटिए । कसैको मुहारमा हाँसो देखिएन । गर्मीमा लामखुट्टेले दिने दुःख र वर्षातमा पानीले दिने दुःख कसैले नदेखेको उनीहरुको दुःखेको छ ।

‘हामी दिनभरि अरुको काम गर्न जान्छौं, ज्याला सय रुपैयाँ पाउँछौं । त्यो पनि समयमा पाउँदैनौं । के गर्ने, गरिबीको मजबुरीले गर्दा हामीलाई ज्यालामा समेत ठगिन्छ, चनरकलियाले भनिन्, ‘एक दिन काम गर्न गएन भने बेलुका केले छाक टार्ने भन्ने चिन्ताले सताउँछ ।’

भोट माग्न आउँदा नेताहरु सबैले ढोग्ने गरेको चनरकलिया बताउँछिन् । चनरकलिया जस्तै पीडामा छिन् परमशीला माझी । उनी थोत्रा लुगालाई समेटेर डस्ना बनाउँदै गरेको अवस्थामा भेटिइन् । परमशीलाका श्रीमान् बिरामी छन् । उनलाई श्रीमानको स्याहारसुसारसँगै परिवारको जीवन पनि धान्नु छ । कतैबाट सहयोग आउँदैन । काम गर्न गयो भनेमात्रै परमशीलाको भान्सामा भात पाक्छ । उनी भन्छिन्, ‘हाम्रो दुःख कसले देख्ने ? आश्वासन दिने नेता धेरै आए । काम गर्ने एक जना पनि आएनन् ।’

४१ वर्षीय बुरुनी माझीका श्रीमान् वनु माझीको अकालमै मृत्यु भयो । उनी अहिले श्रीमान बितेको शोकबाट बाहिर निस्कन सकेकी छैनन् । चार बच्चाको हेरचाह गर्ने जिम्मेवारी बुरुनीको काँधमा छ । फुसको भत्कनै लागेको घरभित्र कष्टदायी जीवन गुजारा गरिरहेकी बुरुनीलाई अरु मुसहरले सहयोग गरिरहेका छन् । तर, बुरुनी पीडाबाट विक्षिप्त छिन् ।

दौर्वामा धेरै चनरकलिया, धेरै परमशीला र धेरै बुरनी माझीहरु छन् । उनीहरुले छोएको पानी बस्तीका कसैले पनि पिउँददैनन् । उनीहरुका लागि छुट्टै साझा धारा, छुट्टै शौचालय र छुट्टै पाहुना घरको व्यवस्था गाउँपालिकाले गरेको छ ।

दौर्वामा उनीहरुलाई हेर्ने दृष्टिकोण सबैको एउटै छ । उनीहरुको घरभित्र छिर्न समेत अरु मान्दैनन् । गाउँपालिकाले एउटामात्रै काम गरेको छ– बाटो ढलान ।

बिजुली बत्ती नहुँदा रात परेपछि मुसहरका महिलाहरु बाहिर निस्कनसमेत डराउँछन् ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसा खै ?

गरिबका लागि केन्द्र सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएको थियो । त्यो कार्यक्रमको पैसा वडाध्यक्ष र  गाउँपालिकाको अध्यक्षको स्वार्थ र आपसी टकराबका कारण अहिले व्यवस्थित हुन सकेको छैन । कार्यक्रम अन्तर्गत गाउँपालिकाको प्रत्येक वडाबाट १६ जना छनौट गर्नुपर्ने हुन्छ । त्यसमा पालिका अध्यक्ष र वडाअध्यक्षले आफ्ना मान्छे घुसाउन नाम लिष्ट नै परिवर्तन गर्दै आफैँ फारम भर्ने गरेको देखियो ।

गाउँपालिकाका अध्यक्ष जसपाका अशोक कुमार जयसवाल र बारागढी–२ का वडाअध्यक्ष कांग्रेसका जोगिन्दर साह कलवार छन् । पार्टी फरक भएका कारण त्यसको असर गाउँपालिकावासीमा परेको छ । त्यसमाथि मुसहरको समस्या समाधानका लागि पालिका अध्यक्ष र वडाअध्यक्ष दुवै समवेदनशील नरहेको पाइयो ।

मुसहरका लागि के गर्नु भएको छ ? भन्ने प्रश्नमा पालिका अध्यक्ष जयसवाल भन्छन्, ‘गरिबको परिचय पत्र बनाउने काम भइरहेको छ । तर, पालिकामा ऐलानी भूमि नभएका कारण मुसहरलाई कहाँबाट जग्गा दिन सकिन्छ भनेर खोजिरहेका छौं ।’

आवासका लागि दुई करोड रुपैयाँ बजेट मागेको उनी बताउँछन् । यसअघिको आएको बजेटमध्ये गरिब परिवारलाई ५० हजार रुपैयाँ बाँड्नुपर्नेमा ३० हजारमात्रै बाँडिएको रहेछ । बाँकी २० हजार नपाउँदा पहिला पाएको ३० हजार पनि खाइसके । पालिका अध्यक्ष जयसवालले भने, ‘पहिला पैसा हचुवाको भरमा बाँडियो, न छानो लगाउन त्यो पैसाले पुग्यो । कतिले छानो नै नलगाई खाइसके । अब मलाई पुरानो हिसाब ल्याउ भनेर आदेश आउँछ । कसरी दिउँ ? अहिलेको महँगीमा आवास निर्माण गर्न ५० हजारले के हुन्छ ?’

गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच टकराव

बारागढी गाउँपालिकाका अध्यक्ष जसपाका नेता अशोक कुमार जयसवाल र बारागढी–२ का वडाअध्यक्ष कांग्रेसका जोगिन्दर कलवार छन् । अशोक कुमारले यस अघि कांग्रेसको किल्ला तोडदै जित हासिल गरे । उनीबाट विकास निर्माणमा धेरैले आशा गरेका छन् । जयसवालको घर बारागढी र विरगंजमा पनि छ । कलवारको घर बारागढीमा मात्रै । आर्थिक रुपमा जयसवाल सम्पन्न छन् । कलवार पनि ईटाभट्टा र जग्गाजमिन प्रशस्त भएका व्यक्ति । स्थानीयस्तरमा दुवैका आआफ्ना राजनीतिक गुट छन् । तर, दुवैले एकअर्कोलाई देखिसहन्नन् ।

यसअघि पालिका अध्यक्षमा कांग्रेसका देवदत्त प्रसाद थारुले जितेका थिए । वर्तमान अध्यक्ष जैसवालको घर जाने बाटो ढलानको काम थारुले बीचैमा छाडिदिए । थारुले जयसवालको घर जाने बाटोलाई ‘फोरम मार्ग’ भनेर ढलान पूरा नहुँदै टुङ्ग्याइदिएपछि जयसवालले अहिले कलवारलाई देखिनसहने गरेको स्थानीयहरु बताउँछन् ।

गाउँपालिकाका वडाअध्यक्ष कलवारका अनुसार ६ वटा वडाअध्यक्षले फ्रिज हुन लागेको चार करोड ३२ लाख रुपैयाँमध्येबाट एउटा हस्पिटल बनाउने र दुई एम्बुलेन्स राख्ने सुझाव पालिका अध्यक्ष जयसवाललाई दिएका थिए । तर, जयसवालले चुनावी नारामा दिएको आश्वासन अनुसार हरेक गरिब परिवारलाई एउटा ग्यास सिलिण्डर र ग्यास चुल्हो वितरण गर्ने कार्यक्रमबाट टसमस हुन सकेका छैनन् ।

‘आवश्यकता अहिले ग्यासभन्दा पनि अस्पतालको छ । कोही बिरामी परिहाल्यो भने तुरुन्तै कलैया र विरगंज पु¥याउनुपर्ने हुन्छ,’ वडाध्यक्ष कलवारले रातोपाटीसँग भने, ‘हामी ६ वटै वडाध्यक्षको सुझावलाई पालिका अध्यक्षले मान्नुभएन ।’

मुसहरलाई बासबस्ने ठाउँ निर्माणका लागि पनि जयसवाल समवेदनशील नभएको आरोप कलवारको छ । जयसवालले विद्यालयमा करारमा राखेका व्यक्तिबाट समेत पैसा असुलेर काममा लगाउने, विद्यालय निर्माणमा कमिसन माग्ने, बाटो निर्माणमा कमिसन माग्ने जस्ता कार्यले उनीसँग दुरी बढेको वडाध्यक्ष कलवार बताउँछन् ।

पाँच वर्षमा मुसहरका समस्या समाधान गर्छु

अशोक कुमार जैसवाल, अध्यक्ष, बारागढी गाउँपालिका

विगतमा बिग्रिएका सबै काम सुधार्नु छ । अहिल्यै नतिजा खोजेर हुँदैन । बाराका गाउँपालिकाहरुमध्ये धेरै मुसहर, डोम, चमार जस्ता जातका मानिसहरु यही गाउँपालिकामा बस्छन् । यो गाउँपालिकाको वार्षिक बजेट भनेको ४० करोड रुपैयाँ छ । ६ वटा वडाको जनसंख्या करिब २७ हजार छ । पाँच हजार बिगाहाभन्दा बढी जमिन छ । आवश्यकता असीमित छन् तर, बजेटको सीमितताले गर्दा काम गर्न चुनौती छ । मुख्यकुरा बाटो, स्वाथ्य र शिक्षा पहिलो आवश्यकता देखिए पनि अधिकांश सर्वसाधारण कृषिमै आश्रित भएकाले कृषि क्षेत्रमा लगानी धेरै खर्चिनुपर्ने अवस्था छ । जनताका दैनिक आवश्यकता एकातिर छन्, त्यससँगै पूर्वाधार विकासमा ठूलो धनराशी खर्चिनुपर्ने अवस्था छ । गाउँपालिकाको अध्यक्षका नाताले मैले कति गर्नसक्छु, त्यो त गर्छु नै तर, केन्द्र सरकार र प्रदेश सरकारको पनि भूमिका र दायित्व रहँदैन र ?

मुसहरका पीडा देख्दा मलाई पनि कहाँ राम्रो लाग्छ र ? मैले मेरो घर जाने बाटो ढलान गर्न छाडेर मुसहरका दैलोमा ढलाने बाटो पु¥याएँ । गरिबको परिचय पत्र, मुसहरलाई जग्गा वितरण गर्ने काममा म समवेदनीशल भएर लाग्छु ।  वर्षौंदेखि कांग्रेसको गढमा अहिले जसपाले अध्यक्षमा जितेपछि धेरैले मेरो इष्र्या गर्छन् । मलाई मेरो काम र जिम्मेवारीसँग मात्रै मतलब छ । पाँच वर्षमा मुसहरको अनुहारमा हाँसो ल्याउने गरी काम गर्छु । अहिले जो जहाँ बसेका छन्, त्यही ठाउँमा उनीहरुका लागि कति सकिन्छ, त्यति नै सहयोग गर्ने हो । अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडाबाट समावेश भएका नामको मैले विस्तृत अध्ययन गरिरहेको छु, साँच्चै गरिबको नाम समावेश छ वा छैन भनेर । त्यो कोटामा मुसहरलाई नै प्राथमिकतामा राखेको छु ।कार्यपालिकाको बैठकमा उठेका सुझावलाई मैले आवश्यकताको आधारमा मात्रै सुन्छु । हुनै नसक्ने र गर्नै नसक्ने सुझावको निर्णय गराएर केही हुँदैन ।

मुसहरको आवासका लागि प्रयास गरिरहेको छु : सांसद मैनाली

गत मंसिरमा भएको चुनावमा प्रतिनिधिसभातर्फ बारा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नेता अच्युत मैनालीले जितेका थिए । प्रदेशतर्फ १ (क) मा एमालेकै गिरिधारी चौधरी र (ख)मा जसपाका नेता सरोज यादवले जितेका थिए । यादव अहिले मधेश प्रदेशका मुख्यमन्त्री छन् ।

सांसद मैनालीले आफ्नो निर्वाचन क्षेत्रमा धेरै मुसहर, दलित बस्ती रहेकाले उनीहरुको उत्थानका लागि प्रदेश र केन्द्र सरकारसँग लागातार समन्वय गरिरहेको बताए । उनले भने, ‘मुसहर दलित बस्ती विकास र उनीहरुको जीवनयापनमा परिवर्तन गर्ने कुरामा म जहिल्यै समवेदनशील छु । यस विषयमा संघ र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएको छु । केही ठाउँमा बस्ती विकास गर्न सकिए पनि धेरैमा नसकिएको यथार्थ हो ।’

उनले मेयर र गाउँपालिकाका वडाध्यक्षहरुबीचको तालमेल नहुँदा काम अगाडि बढ्न नसकेको बताए । मधेशमा दलहरुको राजनीतिको विकृत रुपले गर्दा समयमा काम गर्न नसकिने दाबी उनले गरे । भने, ‘म एमालेको सांसद, मेयर कांग्रेस र जसपाका छन् । मैले राम्रो गर्न खोज्यो भने मेयरले रोक्ने र मेयरले राम्रो गर्न खोजे वडाध्यक्षले भाँजो हाल्ने र वडाअध्यक्षले राम्रो गर्न खोजे मेयरले भाँजो हाल्ने गर्छन् । राजनीतिक तादम्यता मिल्न अझै समय लाग्छ ।’

राजनीतिक खिचातानीका कारण अघिल्ला योजना पारदर्शी र आर्थिक नियमावलीलाई अनुशरण नगरेकाले अधुरो रहेको मैनाली बताउँछन् । मुसहर र दलितको आवासका लागि केही दिनमै बैठक बस्ने तयारी भइरहेको उनले बताए । कोभिडका बेला सेनाले बनाइदिएको आवास गृह पछि सञ्चालनमा आएको उनले बताए । मुसहर बस्तीमा शिक्षा, खानेपानी र स्वास्थ्यका समस्या पनि टड्कारो रहेको उनको भनाइ छ ।

साभार :Ratopati.com

प्रतिकृया दिनुहोस्