RaraNews

बाग्मती प्रदेशका सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम

लैङ्गिक समानता, सामाजिक समावेशीकरण र मानव अधिकारको प्रभाव विश्लेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

जागरण मिडिया प्रकाशित : २०८१/६/५ गते
११६ पटक

बाग्मती प्रदेशका सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम

५ असोज २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ

जागरण मिडिया सेन्टरले UNDP को संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम तथा CSSID को सहकार्यका बाग्मती प्रदेशका सांसदहरूको सहभागितामा संसदमा लैङ्गिक समानता, सामाजिक समावेशीकरण र मानव अधिकारको प्रभाव विश्लेषण औजार सम्बन्धी काठमाडौँमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले सहभागी सबैलाई स्वागत गर्दै बाग्मती प्रदेशका सांसदहरूलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र मानव अधिकारको प्रभावलाई विश्लेषण गर्नका लागि आवश्यक सीपका बारेमा जानकारी गराउने अर्थात् यसका लागि आवश्यक औजारहरूको विषयमा जानकारी गराउने उद्देश्यले यस अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले राष्ट्रिय तथा प्रदेश सभाका सांसदहरूको काम गराइको अनुभव आदान प्रदान गरेर बाग्मती प्रदेशका सांसदहरूको सीप विकासमा वृद्धि गर्नका लागि पनि यो कार्यक्रमको आयोजना गरेको र यस्ता कार्यक्रम मार्फत सिकेका सीपहरू मार्फत सीमान्तकृत तथा दलित समुदायको मुद्दालाई प्रभावकारी रूपमा उठाउन सहयोग गर्ने कुरामा जोड दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा पूर्व मन्त्री तथा सांसद मीन विश्वकर्माले संसदमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र मानव अधिकारको प्रभाव विश्लेषण औजारका विषयमा प्रस्तुतीकरण गर्नुभयो । सो प्रस्तुतीकरण मार्फत उहाँले सांसदहरूले दलित तथा सीमान्तकृत समुदायका सवालहरूलाई अगाडि बढाउन, उनीहरूका मुद्दाहरूलाई उजागर गर्नका लागि आवश्यक औजार सम्बन्धी जानकारी दिँदै यसको औचित्य र महत्त्व, समावेशी संसदको अवधारणा, औजारका सीमा तथा सूचकहरूको बारेमा जानकारी गराउनु भयो । साथै  उहाँले औजारका सीमा अन्तर्गत कानुन निर्माणसँग सम्बन्धित, संसदीय निगरानीसँग, संसदीय प्रतिनिधित्व सम्बन्धी, संसदीय औजारहरूको उपयोग सम्बन्धी, मानव अधिकार र अन्तर्राष्ट्रिय दायित्व सम्बन्धी र संसदीय संस्कृति र असल अभ्याससँग सम्बन्धित सूचकहरू भएको बताउनु भयो । त्यसै गरी उहाँले सूचकहरूमा कानुन निर्माण सम्बन्धी सूचकहरूमा कानुन निर्माण र कानुनको समीक्षा, उत्तर विधायिका परीक्षण, प्रत्यायोजित विधायनका बारेमा पनि प्रस्ट पार्नु भएको थियो । यसका साथै उहाँले संसदीय निगरानी सम्बन्धी सूचकहरूमा नीतिगत निगरानी, स्थलगत निगरानी, वित्तीय निगरानी, सरकारी आश्वासनको निगरानी, निगरानीको प्रतिवेदन, निर्देशन तथा अनुगमन  लगायतका विभिन्न सूचकहरूको विषयमा प्रस्ट पार्नु भएको थियो ।

जागरण मिडिया सेन्टरले काठमाडौँमा आयोजना गरेको संसदमा लैङ्गिक समानता, सामाजिक समावेशीकरण र मानव अधिकारको प्रभाव विश्लेषण औजार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी ने.क.पा. एमाले बाग्मती प्रदेश सांसद रुकु चौलागाईले हाम्रा कुनै पनि ऐन कानुनलाई व्यवस्थित बनाउन कुराको अभाव भएको भन्दै यस्ता कार्यक्रमहरूमा विभिन्न मन्त्रालयका मन्त्रीहरूलाई पनि सहभागी गराउनु पर्ने बताउनु भयो । त्यसै गरी  अर्का बाग्मती प्रदेश सांसद ठुला थामीले यस्तो महत्त्वपूर्ण कार्यक्रममा सबै राजनीतिक दलका सांसदहरूको सहभागिता गराउनु पर्ने भन्दै सम्बन्धित विषयका विज्ञहरू सहित यस्ता कार्यक्रमहरूको आयोजना गर्दा कार्यक्रम प्रभावकारी हुने कुरामा जोड दिनु भयो ।

त्यसै गरी CSSID का प्रतिनिधि योगेन्द्रराज रिजालले यस पुस्तकका विषयमा बाग्मती प्रदेशका सांसदहरूबाट सल्लाह सुझाबको लागि छलफल कार्यक्रमको सुरुवात भएको र आगामी दिनमा सबै प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने र उनीहरूबाट आएका सल्लाह सुझावका आधारमा यी सामाग्रीहरूमा सुधार गरी हाते पुस्तिका निर्माण गर्ने बताउनु भयो । अन्य सहभागी सांसदहरूले यो कार्यक्रम ज्यादै उपयोगी रहेको र यस बाट कुराहरूको ज्ञान भएको र दलित तथा सीमान्तकृत समुदायको मुद्दाहरू उठाउने क्रममा सधैँ अगाडी बढ्ने कुरामा जोड दिनु भएको थियो । उक्त कार्यक्रममा  बाग्मती प्रदेशका सांसदहरू सहित ३५ जनाको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्