RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१२/२२ गते
४५९ पटक

सीता बि.के.

काठमाण्डौ – बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरकी सुनिता थापालाई यतिबेला भ्याइनभ्याइ छ । घरायसी र अरु कामले होइन, परीक्षाको तयारीले । उहाँ घरमा छोराछोरीसँगै पढ्नुहुन्छ र बिहान उनीहरुकै साथमा परीक्षा दिन निस्कनुहुन्छ । उहाँ र छोराछोरीको परीक्षा केन्द्र फरक–फरक छ ।

तीन घण्टाको परीक्षा सकेर घर फर्किने समय भने तीनैजनाको उस्तैउस्तै बेला हुन्छ । घर पुगेर परीक्षा कस्तो भयो भनेर समीक्षा हुन्छ । अनि खाना खाने समय हुन्छ । सुनिताले छोराछोरीलाई खाना पस्किएर दिनुहुन्छ । अनि आफूले खानुहुन्छ । खाना खाइसकेपछि फेरि शुरु हुन्छ अर्को दिनको परीक्षाको तयारी । अहिले यसरी नै ४८ वर्षीया सुनिता, उहाँका १७ वर्षीय छोरा सुशन र १६ वर्षीया छोरी समिक्षाको दैनिकी चलिरहेको छ । सुनिताको घरबाट आमा, छोरा र छोरी तीनजनाले एकैपटक एसईई दिने ऐतिहासिक मौका जुरेको छ ।

छोराछोरीसँगै बसेर पढ्न पाउँदा आफू पनि बच्चाझैं लागेको अनुभूति सुुनिता सुनाउनु हुन्छ । हुन त छोराछोरी र सुनिता पढ्ने स्कूल फरक फरक हो । तर घरमा परीक्षाको तयारी एकै ठाउँ बसेर गर्नु हुन्छ ।  उहाँ भन्नुहुन्छ ‘पढ्ने बेलामा पढ्न पाइएन, अहिले पढ्ने रहर पूरा गर्दैछु । छोराछोरीले पनि मैले नजानेको कुरा सिकाउँछन् । छोराछोरीसँगै यसरी पढ्न पाइएला भनेर मैले कहिल्यै पनि सोचेकी थिइनँ । म यसरी छोराछोरीसँग पढ्न पाउँने एक भाग्यमानी आमा हुँ, त्यसैले निकै खुशी छु ।’

पहिले घरको कमजोर आर्थिक अवस्थाका कारणले कक्षा ८ पढेपछि उहाँले पढाइलाई निरन्तरता दिन सक्नु भएन । पछि विवाह भयो । बालबच्चा भए । परिवारको जिम्मेवारी थपिदैैँ गयो । तर पढ्ने रहर भने सधै मनमा छँदै थियो । ‘हामी बाबाआमाका पाँचजना सन्तान थियौं, बाबाले परिवार चलाउनका लागि  भारतमा काम गर्नु हुन्थ्यो, घरको आर्थिक अवस्था कमजोर थियो, त्यतिबेला पढ्ने वातावरण भएन, विवाहपछि घरगृहस्थी सम्हाल्न व्यस्त भएँ, पढ्ने सपना अधुरो रह्यो’ उहाँले सम्झनुभयो । हक्की स्वभावकी सुनिता विवाहपछि पनि घरभित्रमात्रै सीमित रहनु भएन । उहाँले महिला स्वास्थ्य स्वयम्सेविका भएर काम गर्नु भएको छ । जब उहाँ घर बाहिरको काममा निस्कनु भयो, तब उहाँलाई पढाई नहुँदाको पीडाले पिरोलीरह्यो ।

चार सन्तानकी आमा सुुनिताको मनमा पढ्ने हुट्हुटी चलिरहको थियो । त्यहीबेला बुटवलमा रहेको साधना महिला विद्यालयबारे थाहा पाउनुभयो । जहाँ इच्छा त्यहाँ उपाय भनेझै उहाँ पढ्ने हुटहुटी लिएर विद्यालय पुग्नु भयो । त्यहाँको शिक्षिकाहरुले पढ्नको लागि हौसला दिए । अधुरो पढाई पूरा गर्न आफूजस्तै आमाहरु विद्यालयमा पढ्दै गरेको देखेर झनै उत्साहित हुनुभयो । आफ्नो पढ्ने इच्छाबारे घरसल्लाह गर्नु भयो, अनि २०७९ सालदेखि विद्यालय भर्ना भएर पढाई अगाडि बढ्नुभयो । झन्डै तीन दशकपछि विद्यालमा पढ्न जाँदा शुरु–शुरुका दिनमा गाह्रो पनि भयो । छिमेकीहरुले कुरा काटे ।

सुनिता भन्नुहुन्छ ‘मलाई त प्रौढ कक्षा जस्तै होला भन्ने लागको थियो तर त्यसो होइन रहेछ, अरु विद्यालयमा जस्तै १० देखि ४ बजेसम्म पढाई हुने, शुरुवातमा गाह्रो भयो, छिमेकीले बुढेसकालमा स्कुल हिँडेकी छ भनेर कुरा काट्थे ।’ आफ्नो पढ्ने इच्छा पुरा गर्न निक्कै सर्घष गर्नु परेको उहाँ बताउनु हुन्छ । छिमेकीको कुरालाई कुनै वास्ता नगरी आफ्नो यात्रालाई निरन्तर अगाडि बढाउनु भयो ।

एसईईमा जुटिरहनु भएकी सुनितालाई अहिले छोराछोरी, घरपरिवार, शिक्षिकाहरु लगायतको साथ, सहयोग, हौसला र प्रेरणा मिलेको छ । उहाँले दिनरातको प्रवाह नगरी एसईई नतिजा राम्रो ल्याउन मिहिनेत गर्नु भएको छ । ‘जब पढाईको महत्व बुझें, पढ्ने रहर लाग्यो अहिले त सपनामा पनि किताबै पढेकै देख्छु, पढ्न थाल्दा भोक, निद्रा ,तिर्खा सबै हराउँछ’ सुनिता भन्नु हुन्छ । मेहनतअनुरुप नतिजा राम्रो आए कलेज पढ्ने उहाँको सपना छ ।

चार सन्तानकी आमा सुनितालाई पारिवारिक, सामाजिक जिम्मेवारी उत्तिकै छ । एक व्यक्ति भूमिका अनेक भनेझैं उहाँले श्रीमती, आमा, महिला स्वास्थ्य स्वयंसेविका र विद्यार्थीको भूमिका निर्वाह गर्दै आउनु भएको छ ।  सुनिता भन्नुहुन्छ ‘इच्छाशक्ति भए समय त व्यवस्थापन भैहाल्छ, म पनि बिहान पाँच बजे उठेर घरयासी काम, सामाजिक काम, आफ्नो पढाईको व्यवस्था मिलाउँछु । समय व्यवस्थापन गर्न सके सहजै हुने रहेछ ।’

बुटवलमा रहेको साधना महिला विद्यालयबाट सुनिता जस्तै १६ जनाले यस वर्षको एसईई दिईरहेका छन ।

(साभार : उज्यालो अनलाइन )

 

प्रतिकृया दिनुहोस्