RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१२/१० गते
२१३ पटक

काठमाडौं । सञ्चारमाध्यममा दलित समुदायका सवाल र सहभागिता वृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले चासो व्यक्त गर्नुभएको छ । पूर्व राजदुत तथा दलितअधिकारकर्मी पदम सुन्दासले पत्रकारिता क्षेत्रमा समावेशीकरण सवाल र सहभागिता हुनुपर्ने बताउनुभयो ।
जागरण मिडिया सेन्टरको आयोजनामा आम सञ्चारमा दलित सवाल र समावेशीकरण विषयक अन्तरक्रियामा पूर्वराजदुत सुन्दासले सञ्चारमाध्यममा दलित समुदायका सवाल र सहभागिता बढाउने विषयमा युवा पुस्ताको चासो अझै बढी हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले दलित सवालमा आमसञ्चार माध्यमलाई मात्र दोष लगाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “दलित सवाललाई गैरदलित समुदायलाई पनि जोडेर अघि बढ्न जरुरी छ” ।
अधिकारकर्मी गणेश विश्वकर्माले वर्तमान सरकार देखि आयोगहरुमा दलितको सहभागिता नभएको बताउनुभयो । राज्यका हरेक संरचनामा समावेशीकरण मुद्धालाई स्थापित गर्न आन्दोलन गर्नुपर्नेमा उहाको जोड थियो ।
कार्यक्रममा दलित अधिकारकर्मी सुशिल विकेले आम सञ्चारमा दलित सवाल र समावेशीकरण विषयक कार्यत्रपत्र प्रस्तुत गर्दै भन्नुभयो । सञ्चारमाध्यममा दलित सवाल र सहभागिता कमजोर रहेको छ । उहाँले दलित समुदायका सवाल र मिडियामा पहुँच विस्तार गर्नका लागि राज्य, मिडिया र दलित समुदायको सहयोग, सहकार्य र समन्वयको जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जागरण मिडिया सेन्टरका कार्यवाहक अध्यक्ष दिनेश परियारले मिडियाकै कारण दलित समुदायका कतिपय समस्या समाधान गर्नमा योगदान पुर्याएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष रमेश विष्टले राजनीतिक समाचारले बढी प्राथमिकता पाईरहेकाले दलित समुदायको मुद्धा ओझेलमा परेको बताउनुभयो ।
सदस्य प्रकाश धौलाकोटी, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराली, महासचिव लक्ष्मण दर्नाल, चन्द्रगिरी नगरपालिकाका कार्यपालिका सदस्य सानोबाबु परियार लगायतले दलित सवाल केवल घटनाप्रदान मात्रै उठाइएकाले विषयवस्तु तथ्यपरक बनाउन र विशेष प्राथमिकताका साथ उठाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम जागरण मिडिया सेन्टरका महासचिव विरु नेपालीले कार्यक्रमको सहजीकरण गर्दै वैचारिक लेखन, वहसको पाटो कमजोर भएकाले संरचनातत्मक सहभागीता वृद्धि गर्न मुद्धाको उठानमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्