RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/१३ गते
३५४ पटक

काठमाडौँ   नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विशुंकेले बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद विशुंकेले संविधानको व्यवस्थाबमोजिम नियुक्त भएका बाल विकास शिक्षकहरूको श्रमशोषण भइरहेको बताइन् ।

उनले बाल विकास शिक्षकहरू सरकारले दिन्छु भनेको तलब भत्ता नपाएर बाल विकास कक्षा नै बन्द गर्नुपर्ने र आन्दोलित बन्नुपर्ने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

‘संविधानको धारा ३९ (२ र ३) मा बालबालिकाको सर्वाङ्गिण तथा प्रारम्भिक विकास र सहभागिता सम्बन्धी प्रष्ट व्यवस्था छ । त्यहीअनुसार शिक्षा ऐन र विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमले ४ वर्ष भन्दा मुनिका बालबालिकालाई बाल विकास केन्द्रबाट शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक विकास तथा स्याहारका क्रियाकलाप गर्ने व्यवस्था गरेको छ,’ उनले भनिन्, ‘सरकारले ५ बर्ष मुनिका बालबालिकाको समग्र विकासका गर्नका लागि बाल विकास केन्द्र सन्चालन गरेको छ, त्यहाँ पढाउने शिक्षकलाई सुविधा दिएको छैन ।’

हाल देशभर करिब ३० हजार बाल विकास शिक्षक छन् । उनीहरूको मासिक पारिश्रमिक ६ हजारमात्रै छ । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमै संघीय सरकारले उनीहरूको पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्‍याउने घोषणा गरे पनि त्यसको कार्यान्वयन भएको छैन ।संघीय सरकारले ८ हजार केन्द्रबाट उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले बेहोर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले संघको त्यस्तो निर्णय स्वीकारेका छैनन् ।

‘कुन सरकारले के गर्ने हो ? त्यो गर्नुपर्‍यो । कम्तिमा बाल विकास शिक्षकले अहिलेको परिस्थिति सुहाउँदो पारिश्रमिक पाउनुपर्छ । बालबालिकालाई असल ज्ञान दिने सहजकर्ताले आन्दोलन गर्ने कि उनीहरूलाई सिकाउने दोधारको अवस्था सिर्जना नगरियोस्,’ सांसद विशुंकेले भनेकी छन् ।

प्रतिकृया दिनुहोस्