RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/३/२० गते
३२५ पटक

काठमाडौै । अन्तरजातीय विवाहको निहुँमा जुम्ला जिल्लाको तातोपानी –४, गिडिखोलास्थित मुकुन्द नेपालीको घरमा आगो लगाएको घटनाप्रति आर्थिक, सामाजिक साँस्कृतिक राष्ट्रिय सञ्जालप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली थरका एक युवकले स्थानीय गैरदलित किशोरीसँग अन्तरजातीय प्रेम विवाह गरेकै कारण जातीय विभेद गरी ज्यान मार्ने उद्योगको मनसाय राखी घरमा आगजनी गरेको देखिन्छ । यो कार्य संविधान, मानवअधिकार सम्बन्धी अन्तरराष्ट्रिय कानुन तथा प्रचलित कानुन बमोजिम गम्भीर फौजदारी कसुर रहेको सञ्जालको दावी छ ।

उक्त कसुरजन्य कार्यको प्रमाणहरुको संरक्षण गर्दै सोमा संलग्न व्यक्तिहरु कसैले पनि उन्मुक्ति नपाउने गरी तत्काल पहिचान गरी तत्काल पक्राउ गरी निजहरुलाई जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८, मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूर लगायत प्रस्तुत घटना सम्बन्धमा आकर्षित हुने प्रचलित कानूनहरु बमोजिम हदैसम्मको सजायँ गर्न, प्रस्तुत कसुर कार्यका कारण आवासबाट बिमुख भएका पीडितहरुलाई अविलम्ब अन्तरिम क्षतिपूर्ति दिई सामाजिक पुनस्र्थापना गर्न तथा पीडितलाई न्यायमा पहुँचको सुनिश्चितता गर्न सरकारसंग माग गरेको सञ्जालका संयोजक श्यामलाल विश्वकर्माले बताउनुभयो ।

नागरिकको अधिकार सुनश्चितताका लागि चुनिएका संघीय तथा प्रादेशिक तहका जनप्रतिनिधिहरुले जातीय भेदभाव तथा छुवाछूत विरुद्धका कानुन कार्यान्वयनको अनुुगमन गर्दै सोमा रहेका अपूर्णता पहिचान गरी सामयिक सुधारका लागि सरकारहरुलाई अबिलम्ब निर्देशन गर्न समेत अनुरोध गरिएको छ ।

मानवअधिकारको संरक्षण तथा प्रवर्धनका लागि गठित राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग लगायतका राष्ट्रिय मानवअधिकार सम्बन्धी संस्थाहरु लगायत नागरिक समाजलाई घटनाको यथाशीघ्र अनुगमन गरी सत्यतथ्य सार्वजनिक गर्दै आवश्यक कारबाही र उपचारका निम्ती सम्बन्धित निकायमा सिफारिस गर्न समेत विशेष ध्यानाकर्षण गरिएको जनाइएको छ ।

जातीय भेदभाव तथा छुवाछूत विरुद्धका कानुनको प्रभावकारी कार्यान्वयन गर्दै जातीय भेदभाव तथा छुवाछूत अपराध समाजबाट उन्मूलन गर्ने बस्तुगत योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरी संविधानको मर्म बमोजिम समतामूलक समाज निर्माण गर्न सम्पूर्ण सरोकारवालाहरु एकबद्ध हुन अपील गरेको छ ।

प्रतिकृया दिनुहोस्