RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१/४ गते
२४७ पटक

यम बम,

देशका ५८ जिल्ला डढेलोको चपेटामा परेका छन् । डढेलो नियन्त्रण सञ्जालका अनुसार मध्य र पूर्वी नेपालमा केन्द्रित रहेको डढेलो पछिल्ला दिनमा पश्चिम नेपालसम्म फैलिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाका अनुसार पछिल्लो २४ घन्टामा नेपालका ६ सय १२ स्थानमा डढेलो लागेको छ । यसअघि २८ चैतमा ६ सय ८१ स्थानमा डढेलो लागेको थियो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माका अनुसार तराईदेखि मध्य पहाडी वनजंगलसम्ममा डढेलो लागेको छ । आइतबार कञ्चनपुर, डोटी, कैलाली, बर्दिया, सुर्खेत, कालिकोट, बाँके, अर्घाखाँची, पर्सा, बारा, मकवानपुर, ओखलढुंगा, खोटाङ, उदयपुर, धनकुटा, तेह्रथुमलगायत ५८ जिल्लाका वनजंगलमा डढेलो लागेको छ ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । ०७७÷७८ को गर्मीयाममा मात्र नेपालमा ६ हजार सात सय ९९ स्थानमा डढेलो लागेको थियो । तर, ०७८/७९ को गर्मीयाममा भने घटेको थियो । डढेलोविज्ञ शर्माको भनाइमा धेरैजसो डढेलो मानवीय कारणले लाग्ने गर्छ । ‘चुरोट खाएर टुटो त्यतिकै फ्याँकिदिँदा डढेलो लागेर ठूला घटना हुने गरेका छन् । नयाँ पालुवा र घाँसको लोभमा पनि वनजंगलमा डढेलो लगाउने गरेको पाइन्छ,’ उनले भने, । वैशाख–जेठमा ठूलो हावाहुरी चल्ने भएकाले पनि डढेलोको सिजन अझै बाँकी नै रहेको छ ।

मौसमविद्हरू हिउँदमा पर्याप्त पानी नपर्दा डढेलो बढेको बताउँछन् । सुक्खायाममा आगलागी र डढेलाका घटना बढी हुने गरेकोमा यस वर्ष लामो समय सुक्खा हुँदा घटना बढ्दै गएको आकलन छ  । नेपालमा डढेलोबारे सकारी निकायबाट अध्ययन नभए पनि समयमै पानी नपर्नु, पानी परे पनि पर्याप्त नहुनुलगायत कारण पनि डढेलोका घटना बढ्नमा सघाउ पुगिरहेको बताइन्छ ।

वायु प्रदूषण खराब स्थितिमा 
काठमाडौंमा वायु प्रदूषणको मात्रा खराब अवस्थामा पुगेको छ । सुक्खा मौसमका कारण वायु प्रदूषण बढिरहेका वेला २८ चैतबाट उपत्यकामा डढेलोको धुवाँ पनि प्रवेश गर्दा झनै खराब स्थितिमा पुगेको हो । हाल उच्चचापीय प्रणाली मजबुत बनेर वायुमण्डल स्थिर बनिदिएको छ, जसकारण प्रदूषणका कण (धुलो–धुवाँ) पनि हट्न सकेको छैन ।

वातावरण विभागका प्रवक्तासमेत रहेका रसायनशास्त्री शंकरप्रसाद पौडेलका अनुसार नेपालसहित दक्षिण एसियाली मुलुकका वनजंगलमा लागेको डढेलो र सुक्खा मौसमका कारण प्रदूषण उच्च भएको हो । ‘यस क्षेत्र (दक्षिण एसिया)मा अहिले डढेलो, आगलागीको सिजन नै हो, नेपालमा पनि लागेकाले बढेकाले वायु प्रदूषण बढेको हो,’ पौडेलले भने, ‘पानी नपर्दा र हावा नचल्दा प्रदूषणयुक्त कण (धुलो–धुवाँ) तल्लो वायुमण्डलमा तैरिएर बसेको छ ।’ डढेलोको धुवाँमा कार्बनमनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडसहितका रसायन हुने भएकाले यो जनस्वास्थ्यका लागि हानिकारक हुन्छ ।

वातावरण विभागको भैँसपाटीस्थित प्रदूषण मापन केन्द्रमा एयर क्वालिटी इन्डेक्स (वायुको गुणस्तरको मात्रा) आइतबार साँझ साढे ७ बजे ३०५ पुगेको छ, जुन खतरनाक मानिन्छ । यो अवस्थामा सबैलाई खुला ठाउँमा कुनै पनि शारीरिक गतिविधि नगर्न सुझाइन्छ । साथै, जनस्वास्थ्यका लागि संवेदनशील प्रकृति भएकाले घरभित्र बस्न, शारीरिक गतिविधि कम गर्न र घरभित्र पनि धुलोधुवाँका ससाना कण छिर्न नदिने उपाय अवलम्बन गर्न भनिन्छ ।

उपलब्धमध्ये अन्य ६ स्थानको वायु गुणस्तर केही कम रहे पनि जनस्वास्थ्यका लागि हानिकारक अवस्थामै छ । आइतबार साँझ एक्युआईको मात्रा काठमाडौंको खुमलटारमा १९७, शंखपार्कमा १७४, रत्नपार्कमा १४४ र कीर्तिपुरमा १४४ छ । यो मात्रा धनकुटामा १५२ छ भने राराको वायुको अवस्था पनि प्रदूषित भएर ६७ पुगेको छ ।

एक्युआईको मात्रा १५१ देखि दुई सय हुँदा सबै उमेर समूहकालाई खुला ठाउँमा लामो समयसम्म नबस्न भनिन्छ भने दुई सय नाघ्नुलाई एकदम अस्वस्थकर मानिन्छ । १०१–१५० सम्म हुनुलाई संवेदनशील प्रकृति भएका (मुटु र फोक्सोसम्बन्धी समस्या भएका, वृद्धवृद्धा र बालबालिका)लाई खोकी लाग्ने वा श्वास फेर्न समस्या हुने गर्छ । तर, शून्यदेखि ५० सम्मलाई भने सामान्य मानिन्छ ।

पिएम २.५ र पिएम १० को तथ्यांकलाई एक्युआई भ्यालुमा परिवर्तन गरेर कलर कोड गरेर राखिन्छ । एक्युआई भ्यालु तीनदेखि १२ घन्टाको दौरानमा हावामा प्रदूषणको कणको घनत्व फरक भएका वेला मापन हुन्छ भने पिएम २.५ को मात्रा हरेक घन्टा र २४ घन्टामा निकालिन्छ । तर, प्रदूषणको मात्राको औसत मापदण्ड भने २४ घन्टालाई आधार मानेर तय गरिन्छ । यो सूचकांक हावामा रौँभन्दा झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पार्टिकुलेट्स म्याटर (पिएम २.५) मा मापन गर्दा नेपालमा २४ घन्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर बढ्दा अस्वस्थकर मानिन्छ ।

नेपालमा विशेष गरी हिउँदयाममा वायु प्रदूषण उच्च हुने गर्छ । तर, हिउँद सुक्खा भएको र डढेलो लागेको वर्ष गर्मीयाममा पनि प्रदूषणको मात्रा उच्च हुने गर्छ । ०७८ मा हिउँदे वर्षा पर्याप्त हुँदा गर्मीयाममा वायु प्रदूषण केही दिन मात्र खराब स्थितिमा पुगेको थियो । तर, ०७७ मा भने हिउँददेखि नै खराब अवस्थामा रहेको वायु प्रदूषण वैशाख–जेठ ०७८ सम्म कायम थियो । १३ चैत ०७७ मा काठमाडौंमा एक्युआईको मात्रा ४७० पुगेको थियो । स्विट्जरल्यान्डमा मुख्यालय रहेको वायु गुणस्तर मापनसम्बन्धी सञ्जाल आइक्यु एयरले त काठमाडौंलाई प्रदूषित सहरको सूचीमा समावेश गरेको छ ।

मौसम विभागले भन्यो– अझै तीन दिन तुवाँलो
मौसम पूर्वानुमान महाशाखाले वायुमण्डल अझै केही दिन स्थिर हुने बताएको छ । जसकारण अझै तीन दिन काठमाडौंसहितका क्षेत्रमा तुवाँलो कायमै रहने महाशाखाकामा मौसमविद् राजु प्रधानांगले बताए । ‘हाल नेपालमा उच्चचापीय प्रणालीको प्रभावका कारण वायुमण्डल स्थिर छ,’ उनले भने, ‘यो प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिन्छ । जसकारण तत्काल वर्षाको सम्भावना छैन ।’ महाशाखाले आगामी तीन दिनसम्म देशका धेरै भूभागमा तुवाँलो लाग्ने सम्भावना रहेको जनाएको छ ।

एक वर्षमा ३,०१० ठाउँमा आगलागी, १०९ को मृत्यु
नेपालमा एक वर्षमा आगलागीमा परी एक सय नौजनाको ज्यान गएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०७९ मा तीन हजार १० ठाउँमा आगलागी हुँदा तीन सय ९४ जना घाइते भएका छन् । आगलागीमा तीन हजार सात सय २३ घरपरिवार प्रभावित भएका छन् ।

यी घटनामा दुई अर्ब ५१ करोडको क्षति भएको प्राधिकरणको तथ्यांक छ । पछिल्लोपटक २६ चैतमा रौतहटको माधवनारायण नगरपालिका– ४ मानपुरको बिसुनपूर्वामा आगलागी हुँदा एउटै टोलका २२ घरटहरा जलेका थिए । हावाहुरीसँग आगलागी हुँदा १५ परिवारका घर जलेका थिए । खाना पकाउँदा, बालबालिकाले आगोका स्रोत चलाउँदा तथा जंगलमा लागेको डढेलो बस्तीमा सल्किएर आगलागी हुने गरेका छन् भने त्यसबाहेक चट्याङ र विद्युत् सर्ट भएर पनि आगो लाग्ने गर्छ ।

साभार : Nayapatrikadaily.com

प्रतिकृया दिनुहोस्