RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१२/२२ गते
३०० पटक

सरकारले समुदायस्तरमा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन नसक्दा र योग्यता पुगेका जनस्वास्थ्यकर्मी पर्याप्त नपुर्‍याउँदा समस्या कायमै

विद्या राई,

काठमाडौँ — रूपन्देहीको सैनामैना नगरपालिकाकी २२ वर्षीया सोनिया रेश्मीले झारफुक गरेर निको पार्ने बहानामा कक्षा ९ पढ्ने १४ वर्षीया सीता ज्ञवालीको चरम यातना दिएर ज्यान लिइन् । सीतालाई चार/पाँच दिनदेखि कान दुख्ने समस्या थियो । परिवारले स्थानीय मेडिकलमा जँचाइरहेका थिए ।

दुखाइ बढेपछि अभिभावकले माता भनिने सोनियाकहाँ पुर्‍याए । स्नातक पढ्दै गरेकी उनी झारफुक र पूजापाठमा पनि लागेकी थिइन् । आफूमा दैवीशक्ति भएको बताउँथिन् ।

सोनियाले सीतालाई झारफुक गरेर सन्चो बनाउँछु भन्दै भुइँमा घोप्टो पारेर शरीरमाथि बसेर घण्टी बजाउँदै कुटपिट गरिन् । बेहोस् हुने गरी टाउको र घाँटीमा खुट्टाले टेक्दै लछारपछार गरिन् । कपाल लुछ्ने, नाक र मुखमा पानी खन्याउने, अनुहारमा थुक्ने, खरानी खुवाइदिने गरिन् । यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो । चरम यातना खेपेकी सीताको झारफुक गर्न पुर्‍याएकै दिन मृत्यु भयो । इलाका प्रहरी कार्यालय सालझन्डीले माता भनिने सोनियालाई पक्राउ गर्‍यो । घटनाको २३ औं दिन (चैत १३) घटनाका प्रत्यक्षदर्शी १० र अन्त्येष्टिमा सहभागी ७ गरी १७ जना समातिए । जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान अघि बढाइएको रूपन्देही प्रहरीले जनाएको छ ।

उता, धामीको भर पर्दा कैलाली गोदावरीकी ९ महिनाकी सुत्केरी कल्पना विकको मृत्यु भयो । सुत्केरी गराउने मिति नजिकिँदै गर्दा फागुन ३ गते अचानक बोल्न नसक्ने, मुखबाट र्‍याल फाल्ने तथा जिब्रो मुखबाट बाहिर निकालेर टाउको हल्लाउने, काप्ने हुन थाल्यो । परिवारले ‘भूतप्रेत लागेको’ ठानेर धामीकहाँ लगे । स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि पुनः सेती प्रादेशिक अस्पताल पुर्‍याए । फोक्सो र रगतमा इन्फेक्सन भइसकेको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइए पनि मिर्गौला, कलेजो, फोक्सोले काम गर्न छाड्यो । १७ दिनसम्म सेती प्रादेशिक अस्पतालमा उपचार गराएपछि २२ वर्षीया कल्पनाको फागुन २१ मा मृत्यु भयो ।

‘चाँडो विवाहको असर तथा स्वास्थ्यसम्बन्धी ज्ञान र अभ्यास’ बारे हालसालै प्रकाशित जर्नलमा गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य केन्द्रमा लैजाने विषयमा परिवारले निकै ढिला निर्णय गर्छन् । पहिले धामीझाँक्रीकहाँ लैजाने, त्यहाँ निको नभए मात्रै स्वास्थ्य केन्द्र पुर्‍याउँदा रक्तस्रावका साथै विभिन्न रोग तथा संक्रमणको उच्च जोखिममा पुगिसकेका हुन्छन् । धामीझाँक्रीमा भर पर्ने सामाजिक परम्परागत हानिकारक अभ्यासले गर्दा कैलालीकी कल्पनाको झैं मातृ मृत्युले प्रश्रय पाइरहेको छ । २०७८ को जनगणनाअनुसार मातृ मृत्युदर १५१ जना प्रतिलाख छ ।

सरकारले समुदायस्तरमा स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन नसक्दा र पालिकास्तरमा योग्यता पुगेका जनस्वास्थ्यकर्मी पर्याप्त नपुर्‍याउँदा यस्तो समस्या कायमै रहेको स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. मिङ्मार गेल्जे शेर्पा बताउँछन् । ‘गर्भवती, क्षयरोगी, कुष्ठरोगी, झाडापखाला, निमोनिया रोगीहरू अस्पताल नगएर धामीझाँक्रीकहाँ जाने, अन्डा, दूध तथा सागसब्जी बिक्री गरेर चाउचाउ, कुरकुरे र भिटामिनको धूलो किनेर खाने अभ्यास ग्रामीणस्तरमा व्याप्त छ,’ उनी भन्छन्, ‘आज इन्टरनेटको युगमा समेत स्वास्थ्यसम्बन्धी सामान्य चेतना जनतासमक्ष पुर्‍याउन नसक्नुले उनीहरू उपचारका लागि धामीझाँक्रीमा विश्वास गर्न पुग्नु, अनाहकमा ज्यान गुमाउनुमा नेपालमा स्वास्थ्य निकायको ठूलो कमजोरी हो ।’

धामीले भूत भगाउने बहानामा निर्घात कुटपिट गर्दा बझाङको साइपाल गाउँपालिकाकी २७ वर्षीया प्रमा बोहराले दुवै कान सुन्न छाडेको १५ वर्ष भइसकेको छ । उनी १२ वर्षकी हुँदा एक दिन गाईबस्तु चराउन गएका बेला अचानक पेट दुख्न थाल्यो, बान्ता भयो । घर फर्कन नसक्ने भएपछि साथीले बोकेर ल्याए । उनका बाआमाले घरमा धामी बोलाएर झारफुक गराउन लगाए । भूत भगाउने भनेर धामीले कुटेर थिलथिलो भएकी उनलाई १०/१२ जना अरू धामीले पालैपालो रातभर कुटे, चिथोरे, टोके, पन्यूले डामे । भोलिपल्ट होसमा आउँदा उनका दुवै कानले श्रवणशक्ति गुमाइसकेका थिए । कानको उपचार गर्न उनका बुबाले सदरमुकाम चैनपुर ल्याए । जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि आर्थिक अवस्थाका कारण सुविधा सम्पन्न अस्पतालमा उनको उपचार हुन सकेन ।

ग्रामीण भेगमा मात्रै होइन, सहरी क्षेत्रमा पनि बिरामीको उपचारमा धामीझाँक्रीको विश्वास राख्ने चलन छ । काठमाडौंमा मात्रै झन्डै दुई तिहाइ बिरामीले धामीको झारफुकमा विश्वास राख्ने गरेको ०७५ सालमा प्रकाशित एक जर्नलमा उल्लेख छ । काठमाडौं महानगरपालिकाको टुसालमा ७६ महिला र २० पुरुषसँग अन्तर्वार्ता गरिएको अध्ययनले धामीमा विश्वास राख्नेहरू सधैं आर्थिक रूपमा असक्षम पनि नहुने गरेको देखाएको छ । यस्ता अन्धविश्वासको अभ्यासविरुद्ध स्थानीयलाई व्यापक सचेतना गरी सुरक्षित र वैज्ञानिक स्वास्थ्य सेवामा प्रोत्साहन गर्नुपर्ने जर्नलले सिफारिस गरेको छ ।

धामीझाँक्री, जपतप, मन्त्र उपचारमा भर परेका कारण ज्यान गुमाउने, अपांगता हुनेहरूको यकिन तथ्यांक सरकारी निकायमा उपलब्ध छैन । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले दुई वर्षअघि धामीझाँक्रीमा हुने विश्वासजस्तै समाजमा अभ्यास गरिने हानिकारक प्रथासम्बन्धी प्रतिवेदन तयार पारेको थियो । लैंगिकता, उमेर, जातजाति, भाषा, धर्मलगायत आधारमा गरिने विभेदले महिला र बहिष्करणमा परेका समूहलाई मृत्युको जोखिममा पुर्‍याउने प्रतिवेदनले उजागर गरेको थियो । सुरक्षित र वैज्ञानिक स्वास्थ्य सुविधा नपाउने मात्रै होइन, उनीहरू आत्मसम्मानसहितको स्वतन्त्र जीवन जिउनबाट वञ्चित भएका छन् ।

साभार  : ekantipur.com

प्रतिकृया दिनुहोस्