RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/१९ गते
४४० पटक

काठमाडौं । जागरण मिडिया सेन्टरद्धारा प्रकाशित ‘न्यायको पहुँचमा दलित ?’ नामक पुस्तक बिहिबार काठमाडौंमा विमोचन गरिएको छ । पुस्तकको विमोचन कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल गर्नुभएको हो । पुस्तकमा दलित तथा सीमान्तकृत समुदायको मानवअधिकार उल्लंघनका घटनामा, घटनाको प्रकृति न्यायमा पहुँचको अवस्था, संघर्ष र प्रक्रिया सम्बन्धी विषय समावेश गरिएका छन् ।

यो पुस्तकमा नेपालभरका दलित मानवअधिकार उल्लंघनका १२ वटा घटनाहरु समावेश गरिएको छ । नेपालको संविधान २०७२ ले सबै नागरिकलाई सम्मानपुर्वक बाँच्न पाउने स्वतन्त्रताको हकको सुनिश्चित गरेको छ । संविधानको मौलिक हक अन्तर्गत धारा २४ मा भेदभाव तथा छुवाछुत विरुद्धको हक र धारा ४० मा दलितको हकको व्यवस्था गरिएपनि दलित समुदायले अझै पनि विभेदकै कारण ज्यान गुमाउन बाध्य भएका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सामाजिक मूल्यमान्यताकै कारण दलित समुदायमाथि जातकै आधारमा विभेद र हिंसा भईरहेको बताउनुभयो । समाजमा जति पनि निर्ममता पुर्वक विभेदहरु हुने गर्छन् । त्यसलाई दण्ड, सजायको कठघरामा नउभ्याएसम्म दलितमाथिको विभेद कम नहुने पोखरेलले बताउनुभयो ।

राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन समितिका सभापति निरादेवी जैरुले नेपालको संविधान संसारभरिकै उत्कृष्ट बनेको तर कार्यान्वयनको अवस्था फितलो भएका कारण दिनप्रतिदिन जातीयताकै कारण हत्याको घटना बढीरहेकोे बताउनुभयो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले अन्याय र अत्याचारको विरुद्ध सबै एकजुट हुनुपर्नेे बताउनुभयो । दलित तथा गैरदलित साँसदहरुले दलितका विषयमा संसदमा बोल्न समेत उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य सिंह बहादुर विकले माननीयहरुले अझै पनि काठमाडौंमा कोठा नपाउने जस्ता समस्या झेल्नुपरेको बताउनुभयो । उहाँले माननीयलाई यस्तो प्रकारको समस्या खेपिरहन परेको छ भने दलित समुदायलाई जातीय विभेद र अपमान नहुने कुरै भएन भन्नुभयो ।

उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जितु गौतमले दलित समुदायको उत्थानका लागि उचित खालको बजेट नभएका कारण पछाडि परेको बताउनुभयो । अहिलेको अवस्थामा संविधान एकातिर र राज्यको नीति तथा कार्यक्रम र बजेट नमिलेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जातको आधारमा घटेको घटनाहरु प्रहरीमा घटना दर्ता हुन्छ दर्ता पछाडि गम्भीर किसिमले अनुसन्धान गर्नुको सट्टा मिलापत्र गरी सामान्यीकरण गरेर पठाउने बताउनुभयो ।

दलित अधिकारकर्मी गणेश विश्वकर्माले दलितमाथि घटेका घटनाहरुलाई उच्च ओदाहको मानिसले निरुसाहित गराउने काम गरेको बताउनुभयो ।
वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार केदार शर्माले दलितको मुद्धामा गैदलितले अगुवाई गर्नुपर्ने र विभेद अन्त्यका लागि सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।
दलित महिला संघकी अध्यक्ष कला स्वर्णकारले मानवअधिकार सुनिश्चित गर्न नागरिक स्तरबाट दबाबको खाँचो रहेको औल्याउनुभयो ।

लेखक तथा अनुसन्धानकर्ता जेवी विश्वकमाले पुस्तकमा नेपालको दलित समुदायले जातीयताकै आधारमा भोग्नुपरेको विभेद र अत्याचारका घटनामा नेपालको न्याय सम्पादन प्रणाली, न्याय प्रशासनले जिम्मेवारीपूर्ण व्यवहार गर्न नसकेको बताउनुभयो ।

जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले पुस्तकमा देशका सबै प्रदेशको प्रतिनिधित्व हुने १÷२ घटना समावेश गरिएको जानकारी दिनुभयो । विभेदलाई अन्त्य गर्न बोलीमा भन्दा पनि व्यवहारमा परिवर्तन ल्याउन जनचेतनामुलक कार्यक्रमको महत्वपूर्ण भूमिका भएको विश्वकर्माले बताउनुभयो ।

कार्यक्रमको स्वागत जागरण मिडिया सेन्टरका कार्यकारी निर्देशक भीम बहादुर विक र सञ्चालन कार्यक्रम संयोजक वीर बहादुर नेपालीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्