RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/४/१७ गते
३७६ पटक

दैलेख : उमेरले ६२ वर्ष नाघे। २०१७ पुस २५ गते जन्मिएका उनी निर्धक्क भएर सामाजिक कार्यमा सहभागी हुन सकेका छैनन्। आयआर्जनका काममा पनि सहभागी हुन जाँदैनन्। कारण हो, उनको नेपाली नागरिकता। नेपाली नागरिकता पाएपछि हरेक नेपालीले गर्वको महसुस गर्छन्। तर, उनले सधैं शिर निहुराउन परिरहेको छ।  उनको राशिको नाम कविराम हो। तर, तत्कालीन  श्री ५ को सरकार जिल्ला प्रशासन कार्यालय दैलेखले २०४६ जेठ ७ गते जारी गरेको नेपाली नागरिकताको प्रमाणपत्रमा उनको नाम ‘कुकुर कामी’ छ।

तत्कालीन समयका दैलेखका नापी अधिकृत दुर्गाप्रसाद गिरी नेतृत्वको नागरिकता टोली गाउँमा पुग्यो। उनले आफ्नो नाम कविराम कामी बताउँदा बताउँदै टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता थमाइदियो। तत्कालीन समयमा स्थानीय प्रशासनले कुकुर नाम दिएर नागरिकता थमाइदिएका कारण आफ्नो जीवन अँधेरी रातजस्तै बनेको उनले बताए। ‘नागरिकता पाएयता ३३ वर्षदेखि गाउँ समाजका भेलामा समेत जान छोडेको छु,’ उनले भने।  उनले आफ्नै नाम उच्चारणमा लज्जित हुनुपरेको र अपमान बोध महसुस गराएको दुःखेसो पोखे।

‘मैले नागरिकता टोलीसँग मेरो नाम कविराम कामी हो भनेर जानकारी गराउँदा–गराउँदै टोलीले कुकुर कामी भनेर नागरिकता दिएछन्, गाउँ समाजका जान्ने बुझ््नेहरूले भनेपछि आफ्नो नागरिकतामा नाम कुकुर लेखिएको भन्ने थाहा पाएँ,  म त अशिक्षित मान्छे त्यतिबेला प्रतिवाद पनि गर्न सकिन्,’ उनले भने। नागरिकता पाएदेखि नागरिकतामा भएको नामकै कारण हरेक समय अपमानित महसुस हुने गरेको उनले बताए। ‘नागरिकतामा त्यस्तो नाम राख्दा मेरा सन्तानहरूलाई पनि असहज भइरहेको छ, छोराछोरीले निर्धक्कसँग मेरो बुबाको नाम फलानो हो भनेर भन्न सक्दैनन्,’ उनले भने।

२०४६ जेठ ७ गते दैलेखका नापी अधिकृत दुर्गाप्रसाद गिरी नेतृत्वको नागरिकता टोली गाउँमा पुग्यो। नागरिकता बनाउन पुगे २०१७ पुस २५ मा जन्मिएका कविराम कामी। लेखपढ नजानेका उनले टोलीलाई नाम बताए कविराम कामी। तर, नागरिकतामा लेखियो ‘कुकुर कामी’। नागरिकतामा भएको नामकै कारण उनी मात्रै होइन परिवार नै लज्जित र अपमानित हुनुपरेको छ। समाजमा संस्कारका नाममा खराब नाम राख्ने चलनका कारण कविराम मात्रै होइन धेरै दलित समुदायले यस्तो पीडा अझै भोगिरहेका छन्।

आफू घरको कान्छो छोरो बताउँदै उनले त्यसबेला दलितहरूमाथि हेला गरिएको बताए। ‘म अघिका ६ दाजुभाइ जन्मदै मर्दै गरेपछि मलाई बाँच्न सक्छ भनेर गाउँकै पण्डितको सल्लाहमा घरमा कुकुर भनेर बोलाउँथे, नागरिकता टोलीले मेरो नाम कुकुर नै प्रमाणित गरिदियो, मेरो राशिको नाम त कविराम हो,’ उनले भने।

नागरिकतामा कुकुर कामी लेखिएका कविराम बुवा भुन्टो कामीको कान्छो छोरा हुन्। अघिल्ला ६ दाजुभाइको मृत्युपछि कविराम जन्मिका थिए। कुकुर नाम राखे बाँच्न सक्छन् भन्ने गाउँकै पण्डितका सल्लाहमा उनलाई घरमा कुकुर नामले बोलाउने गरिन्थ्यो।

कविरामलाई तत्कालीन मेहेलतोली गाउँ पञ्चायतका प्रधानपञ्च बखतबहादुर खड््काको सिफारिसमा नागरिकता दिइएको थियो। तत्कालीन मेहेलतोली गाउँपञ्चायत, नेपाल संघीय संरचनामा जानुअघि मेहेलतोली गाविस थियो। नागरिकतामा मेहेलतोली गाउँपञ्चायत–६ लेखिएको ठाउँ संघीय पुनर्संरचनापछि हाल भगवतीमाई गाउँपालिका–३ पर्छ। तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालयले पनि कुकुर नै नाम दिएर नेपाली नागरिकता थमाइदियो।

दमाई, कामी जातिका व्यक्तिको नाम बिगारेर राख्ने शृंखला अझै पनि कायम रहेको अधिकारकर्मी मनीषा बिक बताउँछिन्। ‘यो जातीय विभेदको स्वरूप हो,’ उनले भनिन्। तत्कालीन समयमा सन्तान जन्मने तर, केही समयमै ज्यान गुमाउने गरेका कारण बाँचुन भनेर नाम बिगारेर बोलाउने चलन रहेको भगवतीमाई गाउँपालिका–४ का पूर्वशिक्षक कृष्णप्रसाद अधिकारीले बताए। ‘बाँचुन भनेर घरकाले बिगारेको नाम नागरिकतामा बदल्न सकिथ्यो,’ उनले भने।

  • तत्कालीन दैलेखका नापी अधिकृत दुर्गाप्रसाद गिरी नेतृत्वको नागरिकता टोलीले दिएको थियो नागरिकता
    २०४६ जेठ ७ गते जारी गरेको नेपाली नागरिकताको प्रमाणपत्रमा लेखियो नाम ‘कुकुर कामी’
    नाम कविराम कामी बताउँदा–बताउँदै टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता थमाइदिए
    नागरिकता पाएयता अपहेलनाकै कारण ३३ वर्षदेखि गाउँ समाजका भेलामा समेत जान सकेनन्
    छोराछोरीको नागरिकतामा बावुको सोही नाम हुँदा उनीहरूलाई पनि समस्या
    दलित अगुवा वीरबहादुर नेपालीले कुकुर लेखेर नागरिकताको प्रमाणपत्र दिनु जातीय विभेदको नमुना भएको बताए। जातिगत आधारमा दिइने नाममा पनि दलित समुदायलाई चरम विभेद गरिएको उनको भनाइ छ। नागरिकताको प्रमाणपत्रसम्बन्धी सिफारिसमा प्रधानपञ्चबाट सही गराउनु अघि तत्कालीन गाउँपञ्चायतका सचिवले ख्याल गरेको भए नागरिकतामा कुकुर कामीबाट रोकिने स्थानीय अगुवाहरू बताउँछन्।

जन्मिदै छोराहरू मर्न थालेपछि कविराम जस्तै यहाँका अरू व्यक्तिहरूलाई पनि ‘कुकुर’ भन्ने गरिएको थियो। उनीहरू सबैले नागरिकतामा राशिको नाम लेखाए। कविरामले नागरिकता लिएकै बेला ‘कुकुर’ नाम भन्ने गरिएकामध्ये तीन जनालाई क्रमशः प्रेमबहादुर दमाई, पदमबहादुर कामी र धनबहादुर कामी नाम लेखेर नागरिकता दिइएको स्थानीय जानकारहरू बताउँछन्।

सन्तानले लिएका छैनन् नागरिकता 
नागरिकतामा कुकुर कामी लेखिएका कविरामको जेठी ३२ वर्षीय छोरी लक्ष्मीको जाजरकोटको जुनीचाँदे गाउँपालिकामा विवाह भएको छ। एक छोरा र तीन छोरीकी आमा भइसकेकी लक्ष्मीले बुबाको नाम ‘कुकुर’ उल्लेख गरी नागरिकता लिन अप्ठ्यारो परेर नागरिकता लिएकी छैनन्। माइली छोरी २६ वर्षीय कल्पनाको भगवतीमाई गाउँपालिका–७ मा विवाह भइसकेको छ। उनका दुई छोरी छन्। कल्पनाले पनि यही समस्याले नागरिकता बनाएकी छैनन्।

उनका जेठो छोरा २९ वर्षीय जयबहादुर रोजगारीको शिलसिलामा मलेसियामा हुँदा बुबाको नाम ‘कुकूर’ लेखेर पैंसा पठाउन सकेनन्। कान्छी छोरी २३ वर्षीया रत्ना  र माइलो छोरा २० वर्षीय सन्तरामले नागरिकता बनाएका छन्। बुबाको नाम ‘कुकुर’ लेखिएकै कारण त्यो नागरिकता देखाउन अप्ठ्यारोले गाउँका समूहमा बस्ने, सामुदायिक क्रियाकलापमा सहभागी वा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता सरकारले दिएको आयआर्जन कार्यक्रममा सहभागी हुन नगएको रत्नाले बताइन्।

साइलो छोरा १८ वर्षीय पप्पु कक्षा ८ मा पढ््दा विद्यालयमा साथीहरूले कुकुरको छोरा भनेर जिस्काएकै कारण बीचैमा पढाइ छोडेर मजदुरीका लागि भारत हानिए। कान्छो छोरा १६ वर्षीय शिवराज अहिले गाउँकै एक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन्।

साथीहरूले कुकुरको छोरा भनेर जिस्काइदिने गरेकै कारण शिवराज पनि हतोत्साहित हुने गरेको खड््गदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद रेग्मीले बताए। ‘उनका बुबाको नाम थाहा पाएर पनि साथीहरूले जिस्काउने गर्छन्, हामीले त्यसो नगर्नु भनेर सम्झाउनेचाहिँ गरेका छौं,’ रेग्मीले भने। दैलेखका सीडीयो हरि प्याकुरेलले कविराम कामीको नागरिकतामा ‘कुकूर कामी’ लेखिएको विषयमा के कसरी सुधार गर्न सकिन्छ भन्नेबारे गृहमन्त्रालयसँग समन्वय गर्ने बताए। उनले कुकुर नाम लेखिएको  नागरिकता बदल्न आवश्यक प्रयास गर्ने बताए।

प्रतिकृया दिनुहोस्