RaraNews

प्रकाशित : २०७८/६/१७ गते
४९३ पटक

न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल) ले दोश्रो सामाजिक लेखाजोखा कार्यक्रम शुक्रबार काठमाडौमा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । संस्थाले संस्थागत सुशासन र पारदर्शिताका लागि गतवर्ष देखि संस्थाका गतिविधि, यसको प्रभाव ,खर्चको विवरण र योजना सम्वन्धित सरोकारवालाको बिचमा सार्वजनिक गर्दै आएको छ ।


कार्यक्रममा लेखा तथा प्रशासन प्रमुख सुनिता सिंह ठकुरीले संस्थाको आ.व.२०७७÷७८ मा विभिन्न परियोजना र संस्थागत खर्च गरी करिव २ करोड ६४ लाख रकम खर्च गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा संस्थाको लेखा परीक्षण गर्ने निकायका चाटर्ड एकाउन्टेन्ट अनिल जोशीले संस्थाको आन्तरिक सुशासनका विषयमा जानकारी गराउनुभएको थियो । त्यस्तै संस्थाका कार्यकारी निर्देशक मोहनलाल आचार्य संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि मधेशी आयोगका अध्यक्ष डा. बिजयकुमार दत्तले सिमान्तकृत वर्गको हितमा कार्यक्रम केन्द्रित गर्न र विकासको पक्षबाट सबैभन्दा पछाडि परेको भौगोलिक क्षेत्र र जनसंख्यामा गतिविधि बढाउन सुझाव दिनुभयो । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले आयोगका सिफारिस कार्यान्वयन गराउनका, मानव अधिकारको प्रत्याभूति गराउन संस्थाले अझै सक्रियता बढाउन अनुरोध गर्नुभयो ।


कार्यक्रममा सुदुरपश्चिम प्रदेश, समाजिक विकास मन्त्रालयका कानून अधिकृत दान बहादुर सुनार,गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सचिवालय संस्थाका सदस्य तथा सिद्दार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुका सल्लाहकार पोम नारायण पौडेल, मानव अधिकार रक्षक सञ्जाल लुम्बिनी प्रदेशका संयोजक रवी ठाकुर, मानव अधिकार रक्षक सञ्जाल प्रदेश नं २ का संयोजक ओम प्रकाश गिरी तथा जुरीको साझेदार संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र वि.क, मोहन्याल दृष्टिबिहिन तथा अपाङ्गता समाज डोटीका खड्क बोहरा, मुक्त कमलरी विकास मञ्च दाङका अध्यक्ष शान्ति चौधरी र जुरीका संस्थापक अध्यक्ष तथा सल्लाहकार राजुप्रसाद चापागाई लगायतले जुरीका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा सिमान्तकृत समूदायको हकहितका क्षेत्रमा अझै बढी क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।


सामाजिक लेखाजोखा कार्यक्रममा बिभिन्न विकास साझेदार संस्थाहरुका प्रतिनिधिको पनि सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै आइ.एम.स्विडिस डेभलपमेन्ट पार्टनरका सुनिता गुरुङ, ओपन सोसाइटी पोलिसी सेन्टरका सोम निरौला र यु.एन.वुमनका सन्तोष आचार्यले जुरी–नेपालले जिम्मेवार सामाजिक संस्थाको भूमिका खेलेको र आगामी दिनमा अझै शशक्त भुमिका खेल्न शुभकामना दिएका थिए ।


संस्थाका अध्यक्ष अधिवक्ता श्यामकुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव अधिवक्ता शसी बस्नेतले उदेश्य माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजिकरण सञ्चारकर्मी तथा सुशासन अभियन्ता दिपेश घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्