RaraNews

प्रकाशित : २०७८/३/५ गते
५५९ पटक

ओखलढुंगाः अन्तरजातीय विवाह गरेको आरोपमा चम्पादेवी गाउँपालिका ३, ताप्केडाँडाका मित्रबहादुर तामाङको अन्येष्टिमा दुई छोराहरुलाई सहभागी हुन रोक लगाइएको छ । ७० वर्षीय तामाङको गत जेठ २९ मा घरमै निधन भएको थियो । 

उनका चार भाइ छोराहरु छन् । त्यसमध्ये माइला शंकर तामाङ र कान्छो प्रदीपलाई अन्र्तजातीय बिहे गरेको कारण देखाएर बुवाको अन्त्येष्टिमा सहभागी हुन समाजले रोक लगाएको छ ।  उक्त कामको नेतृत्व वडाअध्यक्ष बलबहादुर तामाङले गरेका छन् ।

वडाअध्यक्ष तामाङले समुदायलाई उकासेर बुवाको मुख हेर्नसम्म नदिएको शंकर र प्रदीपको गुनासो छ । बुवा बितेको खबर सुनेपछि शंकर धादिङबाट र कान्छो प्रदीप काठमाडौंबाट घर पुगेका थिए । तर बुवाको अन्त्येष्टि स्थलमा पुगेका उनीहरुलाई माटो चढाउन पनि रोक लगाइयो । 

‘यदि तिमी र तिम्रो भाइ कान्छाले छोयौँ भने सबै मलामी फर्किन्छौं भनेर रोकियो, ‘शंकरले भने, ‘त्यसपछि आमा रुनुभयो र तिमीहरु फर्क नत्र म झुन्डिएर मर्छु भनेपछि हामी त्यही दिन काठमाडौं फर्कियौं ।’ उनीहरु फर्किएपछि जेठो यामबहादुर र साइलो तुलबहादुरले बुवाको अन्त्येष्टि तथा परम्परा अनुसार कामकाज गरेका छन् । 

शुक्रबार घरमा बुवाको काजकिरिया भइरहेको छ । तर माइलो र कान्छो काठमाडौंमै छन् । अन्त्येष्टिका मुख्य पूजारी लामाले क्रियापुत्रीको रुपमा सहभागी भएपनि होउ भने । तर वडाअध्यक्ष बलबहादुर तामाङको नेतृत्वको गाउँलेले नदिएको उनीहरुको आरोप छ ।

‘तिमीहरु कानुनीरुपले जहाँ गए पनि जाउ । अन्तिममा मिल्ने समाजमै हो । देशको कानुन र समाजको कानुन फरक हुन्छ भनेर वडा अध्यक्षले थर्काए’ शंकरले भने ।शंकरले क्षत्री थरकी बिहे गरेका हुन भने कान्छा भाइ प्रदिपले दलित समुदायकी केटीसँग बिहे गरेका थिए । । यस गाउँमा जातीय कारण देखाएर विभेद गरिएको पहिलो घटना भने होइन ।

सोही गाउँका राजु तामाङले दुईवर्ष अघि हजुरबुवा बित्दा आफूलाई अन्र्तजातीय बिहे गरेको भन्दै विभेदको प्रयास गरिएको बताए । वडाअध्यक्ष बलबहादुर तामाङ भने यो आरोप सरासर झुटो भएको दावी गरे ।

 ‘उनीहरु दाजुभाइमै कुरा भएपछि आफैले हामी छुँदैनौँ भनेर हिँडेका हुन्, ’ वडाअध्यक्षले भने, ‘मेरो कुनै भूमिका छैन ।’ तर उनले मंगलबार भने संचारकर्मीसँगको टेलिफोन कुराकानीमा तामाङ समुदायको संस्कार भएकाले त्यही अनुसार उनीहरुलाई रोक लगाइएको गरिएको जवाफ दिएका थिए ।

जातीय विभेदको शिकार बनेका छोराहरु राजनीतिक रंग गाँसिएको बताउँछन् । राजनीतिक रुपले समर्थन नगर्ने भएकोले वडाअध्यक्षको भूमिका यस्तो हुनसक्ने अनुमान गरिएको छ । किनभने अघिल्लो वर्ष मात्रै वडाअध्यक्षको हजुरआमा बित्दा उनका काकाले नेवार थरकी केटी विवाह गरेको भए पनि काज किरियामा सहभागी गराइएको थियो ।

जिल्लास्थित दलित अधिकारकर्मी बलबहादुर परियार देशको कानुन एउटा र गाउँमा ठूलाठालुले चलाउने अर्को कानुन भएको बताउँछन् । यस्ता विभेदका घटनामा जनप्रतिनिधिले मलजल गर्ने अवस्था आउनु दु:खद भएको उनले बताए । 

अन्नपूर्णबाट साभार

प्रतिकृया दिनुहोस्