RaraNews

प्रकाशित : २०७८/३/३ गते
७८९ पटक

काठमाडौं, ३ असार । जात थाहा पाएपछि कबुल गरेको कोठा भाडामा दिन अस्विकार गर्ने घरबेटी विरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेको छ । महानगरीय प्रहरी बृत सिंहदरबारले पीडितले प्रमाणसहितको जाहेरी लिएर बृतको कार्यालयमा पुग्दा दर्ता गर्न अस्विकार गरेको हो ।


ईमेज टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रुपा सुनारलाई काठमाडौंको बबरमहल स्थित एक घरबेटीले कोठा भाडामा दिने पक्का भएपछि जात सोधेकी थिइन् । ‘सुनार’ अर्थात दलित समुदायको भएको थाहा पाएपछि उनलाई घरबेटीले कोठा भाडामा दिन अस्विकार गरेकी थिइन् ।

ती घरबेटीले ‘घरमा आमा हुनुहुन्छ । तिमीहरुलाई कोठा भाडामा दिन मिल्दैन’ भन्दै जातिय विभेद गरेपछि रुपा घरबेटी काठमाडौं ११ स्थित बबरमहलकी सरस्वती प्रधान विरुद्ध अडियो रेकर्डसहित प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् ।

जात थाहा पाएपछि कोठा नदिने घरबेटी विरुद्ध जाहेरी लिन सिंहदरबार प्रहरीद्वारा अस्विकार !


विहिबार प्रहरी बृत्त सिंहदरबारमा काठमाडौंमा क्रियाशिल सञ्चारकर्मी/पत्रकारसहित पुगेकी रुपाको जाहेरीसहित अडियो सुनाउँदा ‘अडियो पुष्टि गर्ने आधार’ नभएको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेको हो ।


मुलुकी फौजदारी कार्याविधि संहिता परिच्छेद–२ दफा ४ उपदफा (१)मा अनुसूची–१ मा उल्लिखित कुनै पनि कसुर भएको, भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले त्यस्तो कसुरका सम्बन्धमा आफूसँग भएको वा आफूले देखे जानेसम्मको सबुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सुचना वा विद्युतिय माध्यमको सुचना अनुसुची–५ बमोजिम ढाँचामा नजिकको प्रहरी कार्यालयमा यथासिघ्र दिनुपर्ने उल्लेख छ ।


जाहेरी वा सुचना दिने व्यक्तिले लिखित रुपमा सुचना वा जाहेरी नदिएमा निजले दिएको सुचना सबै कुराहरु प्रहरी कर्मचारीले नै पढेर सुनाई सहिछाप समेत गराएर राख्नुपर्ने संहिताको दफा ४ उपदफा २ मा उल्लेख छ ।


महानगरीय प्रहरी बृत्त सिंहदरबारका डिएसपी हरि बहादुर बस्न्यातलाई यस विषयमा प्रतिक्रिया लिन उनको मोबाइल नम्बरमा पटक पटक फोन गर्दा उनले फोन उठाएनन् ।

पीडित जाहेरी लिएर बृत्त कार्यालय पुग्दा डिएसपी बस्न्यात दिनभर काठमाडौं परिसरमा बैठक छ भन्दै कार्यालयमै आउन नचाहेको पीडितका आफन्तले जानकारी दिए ।

साभार दियोपोष्टबाट ।

प्रतिकृया दिनुहोस्