RaraNews

प्रकाशित : २०७७/१०/२८ गते
७२६ पटक

दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सरोकारवालाहरुको बिचमा समिक्षात्मक बैठक सम्पन्न भएको छ । दिगो विकास लक्ष्यको परिकल्पना अनुरुप नेपालमा के–कस्ता कार्यक्रम भए् भन्ने सवालमा ‘दिगो बिकास लक्ष्य २०३० को एजेण्डा र समीक्षा बैठक’ हिजो काठमाडौंमा सम्पन्न भएको हो । बैठकमा दिगो विकास लक्ष्यका लागि २०३० को एजेन्डाहरुको स्थिति र प्रगतिका बारे समीक्षा र छलफल गरिएको थियो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह–सचिव कोशलचन्द्र सुवेदीले नेपालमा ‘यूपीआर तेस्रो चक्र’को बारेमा चर्चा गर्दै मानव अधिकारको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले दिगो विकास लक्ष्य प्राप्त गर्दा मानव अधिकारका बिषयलाई महत्वपूर्ण सवालका रुपमा उठाउनु पर्नेमा जोड दिनु भयो ।


बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले दिगो विकास लक्ष्यको प्रगति प्रतिवेदन, कार्यान्वयनको समग्र स्थिति र चुनौतिहरू बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गैरसरकारी महासंघ नेपालका महासचिव अर्जुन भट्टराईले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालमा दिगो विकास मञ्चको भूमिका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भयो । बैठकमा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जितुराम लामाले मानव अधिकार र दिगो विकास लक्ष्य दुबै क्षेत्रलाई समान रुपमा प्राथमिकता दिइनु पर्ने बताउनु भयो ।


बैठकमा सरकारी तथा गैरसरकारी संस्थाा प्रतिनिधि,नागरिक समाज,मानव अधिकारकर्मी तथा विज्ञहरुको उपस्थिति रहेको थियो । दिगो बिकास लक्ष्य हासिल गर्नका लागि नेपाल बिभिन्न योजना ,निती, नियम र कार्ययोजना बनाएर लागि परेको छ । त्यस्तै सरोकारवालाहरुले पनि सन् २०३० सम्ममा गरिबीको अन्त्य, शून्य भोकमरी, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, सफा पानी तथा सरसफाइ, खर्चले धान्न सक्ने स्वच्छ ऊर्जा लगायत १७ वटा सवाललाई महत्वका साथ उठाउने गरि दिगो बिकास लक्ष्य हासिल गने जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस्