RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/८/२२ गते
७९७ पटक

सीमान्तकृत तथा दलित महिलाका सवाललाई सम्बोधन गर्न राष्ट्रिय योजना आयोगसमक्ष सरोकारवालाहरुले माग गरेको छ । शुक्रबार काठमाडौंमा दलित महिलासंघ (फेडो)ले आयोजना गरेको अन्तरकृया कार्यक्रममा आयोगले सार्वजनिक गरेको सोह्रौंं योजना  (२०८१/८२-२०८५/८६) को अवधारणापत्रका विषयमा  सीमान्तकृत तथा दलित महिला सम्बन्धमा गरिनुपर्ने मुख्य सवाल, रुपान्तरण रणनीति र कार्यक्रमसहित विभिन्न सुझावसमेत दिएको छ ।

योजना आयोगका सदस्य डा.रामकुमार फुयालको सहभागिता रहेको कार्यक्रममा फेडोको तर्फबाट १६औं योजनामा समेट्नुपर्ने माग तथा सुझावको मस्यौदा मोहनसिंह सुनारले प्रस्तुत गर्नु भएको थियो । जसमा विशेषगरी दलित तथा दलित महिलाका विशिष्ट सवाल उल्लेख छन् ।

संस्थाको सुझावले योजना कार्यान्वयन गर्ने तथा योजनाको अध्ययन गर्ने व्यक्ति र संस्थामा सवालको गाम्भीर्यताप्रति संवेदनशील बनाउन मद्दत पुग्ने दलित महिला संघका अध्यक्ष कला स्वर्णकारले बताउनु भयो ।

संस्थाका संस्थापक दुर्गा सोबका अनुसार गरिबी र असमानता न्युनीकरण गर्न एकीकृत र लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने, परिसूचक र लक्ष्य निर्धारण गर्दा दलित तथा दलित महिलाका मुख्य सम्बोधनबाट आउने नतिजालाई पनि स्पष्ट र विशिष्ट रुपमा उल्लेख गर्नुपर्ने माग तथा सुझावमा समेटिएका छन् ।

उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रकाशनमा खण्डीकृत तथ्याङ्कको सुनिश्चितता गर्नुपर्ने तथा अन्य मन्त्रालय र विषयगत कार्यालयले खण्डीकृत तथ्यांक राख्ने मापदण्ड बनाइ प्रभावकारी अनुगमन गर्नुपर्ने, खण्डीकृत तथ्यांक व्यवस्थापन गर्न स्थानीय सरकारलाई प्राविधिक सहायता प्रदान गर्नुपर्ने बताउनु भयो ।

संस्थाले शिक्षा र सीप, स्वास्थ्य तथा पोषण, खानेपानी तथा सरसफाइ, रोजगारी र सामजिक संरक्षण, परम्परागत पेशा र उद्यमशीलताका विषयमा सुझाव दिएको छ । यस्तै कृषि र खाद्य सुरक्षा, विपद र जलवायु परिवर्तन, भूमि र आवास, मानव अधिकार, न्याय र सामजिक सशक्तीकरण, लैंगिक समानता तथा महिला सशक्तीकरण र समावेशीकरणसँग सम्बन्धित माग तथा सुझाव मस्यौदामा समेटिएका छन् ।

योजना आयोगका सदस्य फुयालले सरोकारवालाका सुझावलाई सकेसम्म सम्बोधन गरेर १६औं योजना निर्माण गरिने प्रतिबद्धता जनाउनु भयो । उहाँले सीमान्तकृत तथा दलित महिलाप्रति अहिलेको सरकार र योजना आयोग संवेदनशील रहेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्