RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/१२/२४ गते
१३६८ पटक

अन १९९२, थर्टी फर्स्ट अक्टोबर डे
आइ वाज बर्न ओके
बट आइ वाज कल्ड
सो कल्ड दलित ब्वाइ।

काठमाडौं ।   यो गीतसँगै नाटक ‘विमोक्ष’ समाप्त हुन्छ।

नाटकको एक पात्र दीप दर्नालको प्रतिरूप पात्र कमल घिमिरे बनेर अभिनय गर्ने सागर खाती कामी आफैंले यो गीतका शब्द बुनेका हुन्। उनी गितार बजाउँदै गाउँछन्।

तीन वर्षअघि अन्तर्जातीय प्रेमका कारण रूकुममा ६ जना युवाको हत्या भएको थियो। उक्त घटनाले सागरलाई छटपटी भयो। सोही घटनाले उनलाई यो गीत दियो। उनीभित्र यी शब्दहरू फुरे।

यी शब्द उनी आफैंसँग सम्बन्धित छन्। ‘१९९२, थर्टी फर्स्ट अक्टोबर’ उनको जन्ममिति हो।

‘मलाई नामभन्दा बढी दलित केटा भनेर बोलाउँछन् कतिपय मान्छे,’ उनले भने।

नाटक ‘विमोक्ष’ जातव्यवस्थाले जन्माएको विभेदमा आधारित छ। तीन वर्षअघि आफूलाई फुरेको उक्त गीत आफैंले अभिनय गर्न लागेको नाटकसँग सान्दर्भिक हुन्छ भन्ने लाग्यो। लेखक घिमिरे युवराजले नाटकमा गीत समावेश गरेका थिएनन्। सागरले निर्देशक प्रवीण खतिवडासँग गीतबारे कुरा गरे। प्रवीणलाई मनपर्‍यो। अन्ततः गीतले नाटकमा प्रवेश पायो।

 

यसमा संगीत पनि उनैले भरेका हुन्। सागर रंगकर्मीसँगै गायक र संगीतकारका रूपमा पनि चिनिन्छन्।

पूर्वी तराई, झापाको धु‍लाबारीमा जन्मेहुर्केका सागर सानो छँदा टेलिभिजन हेर्न खुब रूचाउँथे। फिल्म हेर्न र नाच्न मन पराउँथे। स्कुल पढ्दा कक्षामा नाच्न जान्ने केटामा उनी एक्लै थिए।

‘आठ कक्षा पुग्दासम्म म गितार बजाउन निकै जान्ने भइसकेको थिएँ,’ उनले भने, ‘स्कुलमा गितार बजाएर गीत गाउने एउटा समूह नै बनाएका थियौं।’

एघार कक्षा पुगेपछि उनी र साथीहरू मिलेर ‘अल्टस ड्रिम’ नामक ब्यान्ड बनाए। यही ब्यान्डमार्फत सागरले आफ्नो सांगीतिक सीप निखार्ने मौका पाए। धुलाबारीमा ‘अल्टस ड्रिम’ ले विभिन्न सांस्कृतिक कार्यक्रममा गीत गायो। चोकचोकमा गाउन थालेपछि श्रोताहरूले सागरको प्रशंसा गर्न थाले।

बिस्तारै सागरको रूचि नेपालीभन्दा अंग्रेजी गीततिर ढल्कियो। उनले रेस्टुरेन्टमा गीत गाउने काम पनि गरे। यसबाट पनि स्वरमा मिठास भरिँदै गयो।

सन् २०१५ मा उनी काठमाडौं आए। त्यति बेला उनी मण्डला नाटकघरमा नाटक हेर्न गए। मुख्य पात्रको अभिनयमा थिए कलाकार नाजिर हुसेन। नाजिरको अभिनयले सागर लोभिए। उनलाई अरू पनि नाटक हेर्न मनलाग्यो। यसपछि छोटो समयमा तीन वटा नाटक हेरे।

‘यहीँबाट मेरो आकांक्षाले नयाँ मोड लियो। मैले नाटकमा काम गर्ने सोचेँ,’ उनले भने, ‘गीतसंगीतमा थोरैतिनो अनुभव थियो, नाटकमा त अठोट मात्रै बोकेर अघि बढेँ।’

 

उनले केही समय पर्दापछाडि रहेर नाटकमा काम गरे। धुन (साउन्ड), प्रकाश (लाइट) लगायत अन्य अवयव संयोजनको प्राविधिक पक्ष बुझ्दै गए।

उनले मण्डलामै तीन महिना अभिनय कक्षा पनि लिए। केही समयपछि कलाकार दयाहाङ राईको ‘वैतरणी क्याफे’ मा अभिनयको मौका पाए। संवादबिनाको छोटो भूमिका भए पनि, यही नाटकले उनलाई अभिनयमा प्रवेश दियो। संवादसहित अभिनय गरेको पहिलो नाटक चाहिँ ‘सिरूमारानी’ हो। यसमा उनी ब्रह्मा ऋषि बनेर अभिनय गरे।

काठमाडौंमा एक वर्ष नाटकमा काम गरेर उनी घर फर्के। झापाको ‘परिवर्तन नाटकघर’ मा आफैंले नाटक निर्देशन गरे- राजाको नयाँ लुगा।

त्यसपछि झापाकै दमकमा रहेको कदम थिएटर समलिंगी महिलाको कथामा आधारित ‘तिम्रो आँखामा खसेको साँझ’ निर्देशन गरे। योसँगै उनले ‘गैंडा टाइम्स’ मा मुख्य पात्रको रूपमा अभिनय गर्ने अवसर पाए। यसपछि सागर फेरि काठमाडौं फर्के। लगत्तै ‘झिम्के मामा’ मा अभिनय गरे।

काम गर्दै जाँदा सागरले नाटकमा आफैं सांगीतिक धुन भर्न थाले। आफूले सिर्जना गरेको धुन पहिलोपटक ‘नाइट मदर’ नाटकमा प्रयोग गर्न पाए। यो आत्महत्याको विषयमा बनेको थियो।

‘गीतका लागि संगीत गर्नु र नाटकमा धुन भर्नुमा धेरै फरक छ,’ उनी भन्छन्, ‘नाटकको कथासँग सांगीतिक धुन मिलाउनुपर्छ। संगीतमार्फत नाटकघरको परिवेश सुमधुर बनाउनुपर्छ। तर दर्शकको ध्यान नाटकबाट संगीततर्फ मोडिनु हुँदैन। नाटकमा संगीतको काम दर्शकलाई कथामा अड्याइराख्नु हो। केन्द्रमा संगीत होइन, नाटक नै हुन्छ।’

 

नाटकमा संगीतको काम पात्रको दिमागमा चलेको कुरा दर्शकलाई बुझाउनु पनि हो। पात्रले अभिनयमा के गर्दैछ, उसको दिमागमा के चल्दैछ, उसले भन्न खोजेको के हो भन्ने कुरा कहिलेकाहीँ संगीतले नै देखाउनुपर्ने उनी बताउँछन्।

दर्शकहरू नाटकघर प्रवेश गर्दा एक किसिमको सांगीतिक धुन गुन्जिएको हुन्छ। दृश्य, कथाको मर्मअनुसार धुनले आफ्नो बाटो लिन्छ।

‘विमोक्ष’ मा प्रयोग भएका दुई गीत सागरले भरेका हुन्। गत कात्तिकमा मञ्चन भएको ‘सुनकेशरी’ मा पनि उनले काम गरेका थिए।

‘सुनकेशरी कर्णालीको कथा थियो। त्यसैले कर्णालीबारे धेरै अध्ययन गर्‍यौं। त्यहाँको गीतसंगीत र भाका बुझेर मात्रै काम गर्‍यौं,’ उनले भने।

उनका अनुसार हाल नाटकहरूमा संगीत प्रयोग निकै हुन थालेको छ। यसले दर्शकलाई भावनात्मक रूपमा नाटकमा अड्याइरहन मद्दत गर्छ। दर्शकको ध्यान कथासँगै संगीतमा पनि बगिरहन्छ। संगीतले कथाको मर्म, पात्रको मनोभाव र दर्शकको एकाग्रतालाई केन्द्रमा राख्ने प्रयास गरेको हुन्छ।

‘नाटकमा सबै जना मेहनती हुन्छन्। अझै रिहर्सल (पूर्वाभ्यास) सबैको ऊर्जाले एकअर्कालाई जोश आउँछ,’ उनी भन्छन्, ‘यही मौकामा मलाई पनि उपयुक्त गीत फुर्छ। लेख्न जाँगर आउँछ।’

पर्दा पछाडिको काम गर्दैगर्दै कलाको संसारमा उदाएका सागरले नेपालमा सुटिङ भएको मलयालम फिल्म ‘थिरिमाली’ मा पनि काम गरेका छन्। रंगकर्मी अनुप न्यौपानेले लेखेको गीतमा उनले स्वर दिए। नेपाली र मलयालम दुवै भाषाको शब्द रचना भएको यो ‘खोज्दै छ खोज्दै छ नयन आज तिमीलाई’ गीत सागरको ‘अन्तर्राष्ट्रिय डेब्यु’ हो।

‘म धेरै किसिमका गाना सुन्छु, लेख्छु। बजाउँछु र गाउँछु,’ उनी भन्छन्।

नेपाली फिल्म ‘भूगोल’ को ‘हराएँ म कता…’ बोलको गीतमा पनि संगीत र स्वर दिएका छन् उनले। संगीतकर्मको यही संलग्नताले उनलाई रंगकर्मीभन्दा संगीतकारका रूपमा चिनाएको छ। आखिर नाटक उनको जीवनको अभिन्न अंग बनेको संगीतकै माध्यमबाट हो।

सागर चाँडै नयाँ गीतीसँगालो निकाल्ने सुरमा पनि छन्। समाचार : सेतोपाटीबाट साभार

समाचार: मनिका विश्वकर्मा/सेतोपाटी

 

 

प्रतिकृया दिनुहोस्