RaraNews

जागरण मिडिया प्रकाशित : २०७९/३/१६ गते
१४२८ पटक

प्यूठान । सरङकोटलाई धेरैले सारंगी गाउँका रूपमा चिन्थे । गाउँमा पाका उमेरका सबैले सारंगी बजाउँथे । एक समय यहाँका गन्धर्व समुदायको आम्दानीको माध्यम पनि सारंगी नै थियो । यही बाजा बजाएरै गुजारा गर्ने धेरै थिए । समयले कोल्टे फेर्‍यो, नयाँ पुस्ताको रुचि फरक पर्‍यो । बूढापाका मीठो धुन निकाल्ने हात उमेर ढल्केसँगै काम्न थाले । विस्तारै गाउँमा सारंगी धुन सुनिनै छाड्यो ।

पुर्ख्यौली बाजा लोप हुने चिन्ता बढ्न थालेका बेला गाउँका युवा र महिलाले फेरि बजाउन सुरु गरेका छन् । उनीहरूको लगाव देखेर गाउँमा खुसी फर्किएको स्थानीय अर्जुन गन्धर्वले सुनाए । अहिले गाउँका युवा सारंगी बनाउने र बजाउने तालिम लिइरहेका छन् । उनले भने, ‘अब त सारंगी बजाउन नजान्ने लगभग कुनै घर छैन होला ।’ सारंगी ब्युँताउन गाउँमा १५ दिनसम्म तालिम सञ्चालन भएपछि धेरैले बजाउन र बनाउन सिकेको उनले सुनाए ।

गन्धर्व जातिमै जन्मिएर पनि सारंगीका विषयमा मलाई थाहै थिएन, अहिले बजाउन सक्ने भएँ,’ स्थानीय सिर्जना गन्धर्वले भनिन्, ‘गाउँमै भएको तालिमले सारंगीको महत्त्व पनि चिनायो ।’ तालिमपछि गाउँलेमा सारंगीप्रतिको मोह नै फरक भएको उनको अनुभव छ । ‘बजाउने बाजा त हो नि भनेर भनिन्थ्यो, हाम्रो पहिचान भनेर त थाहै थिएन,’ उनले भनिन्, ‘अब त संरक्षण गर्नुपर्छ भन्ने लागेको छ ।’ गाउँका युवाहरूले चासो दिएकै कारण अहिले घरघरै सारंगी बजाउन सक्ने भएका छन् । सरङकोटको सिन्दुरेडाँडामा लोप हुने अवस्थामा पुगेको सारंगी बनाउने र बजाउने तालिमको आयोजना लुम्बिनी प्रदेश सरकारको सहयोगमा र ऐरावती गाउँपालिकाले गरेको हो । ३५ घरधुरी रहेको गाउँमा पहिले बुढापाकाले मात्रै सारंगी बजाउँथे । अहिले त गाउँमा तन्नेरी पुस्ता सबैले रुचि दिएको उनले सुनाइन् । गाउँका धेरैजना सारंगी रेटेर मिठो भाका सुनाउन सक्ने भएका छन् ।

‘ससुराहरूले सारंगी बजाउनु हुन्थ्यो, गाउँगाउँ पुगेर गीत गाउने, सूचना सुनाउने काम गर्नु हुन्थ्यो,’ सरङकोटकी ओमकला गन्धर्वले भनिन्, ‘अरु काम गरेर खान सक्दैनौं भनेर धेरैले होच्याउँदा अब सारंगी नबजाउनु पनि भनें । तर, अहिले सारंगी आफैं बजाउन सिक्दै छु । यो बाजाको महत्त्व बल्ल थाहा भयो ।’ उनीजस्तै ऐरावतीका २० जनाभन्दा महिला र युवाले सारंगी बजाउन र मर्मत तालिम लिएका छन् ।

पुर्ख्यौली पहिचानसँग युवा आकर्षण फेरि बढेको छ, यसले बुढापाका पनि खुसी छन् । वर्षौंदेखि सारंगी संरक्षणमा ध्यान दिउँ भनेर बुढापाका सम्झाए पनि युवाले चासो दिँदैनथे । अब भने सारंगीको महत्त्वका विषयमा धेरैको चासो बढेको स्थानीय ध्रुव गन्धर्वले सुनाए । गाउँमा भएको तालिममा पनि युवा र सबै घरका महिला सहभागी थिए । हातमा सारंगी र धनुकी लिएर सबेरै सिक्ने ठाउँमा आउने गरेका छन् । ‘तालिम लिएका सबैका हातमा एक–एकवटा सारंगी छन्,’ उनले भने, ‘अब सबैका घर–घरमा सारंगी हुन्छन् ।’ परम्परागत रूपमा भाका हालेर गीत गाउन सारंगी सहयोगी छ ।

सारंगी संरक्षणका लागि ऐरावती गाउँपालिकाले पनि प्रयास गरेको छ । कोरोना महामारीको समयमा सारंगी बजाउँदै चेतना जगाउने काम गर्नेका लागि तालिम एक प्रकारको सम्मान रहेको गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले बताए । ‘घरघरमा पुगेर हात धुने, सरसफाइमा ध्यान दिने सारंगीबाटै सुनायौं,’ उनले भने, ‘वन डढेलो नियन्त्रणमा जनचेतना फैलाउन पनि सारंगीकै सहायता लिएका थियौं ।’ प्रदेश सरकारसँग सहकार्य गरेर सारंगी सिकाइएको छ । कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया दिनुहोस्