अलैंची उत्पादनका लागि घरायसी महिला कामदारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको विश्व बैंकको एक अध्ययनले देखाएको छ। ‘अलैंची र अल्लोको मूल्य शृंखलामा घरायसी महिला कामदारको भूमिका सिंहावलोकन’ नामक अध्ययनले महिला अलैंची र अल्लोजस्ता नगदेबालीको खेती र फसल भित्र्याउन घरायसी महिला कामदारको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरेको छ।
यी नगदेबाली बिक्री केन्द्र, बजारमा जानुअघि र निर्यात हुनुअघिसम्मको मूल्य शृंखलामा घरायसी महिला कामदार सहभागी हुने गरेका छन्। विश्व बैंकले अलैंची खेती हुने पूर्वी पहाडको ताप्लेजुङ जिल्लामा स्थलगत अध्ययन गरेर निष्कर्ष सार्वजनिक गरेको हो। जीवनयापनका लागि बहुुसंख्यक घरायसी महिला कामदार अलैंची खेतीमा सहभागी भएका छन्। यस्ता घरायसी महिला कामदार तथा महिलामुखी संस्थामा गरिने सहयोगले उनीहरूको क्षमता विकास र विश्व बजारमा आफ्ना उत्पादन बिक्रीका लागि उत्पादनको राम्रो मूल्य प्राप्त गर्न सक्छन्।
प्रतिवेदन दक्षिण एसियामा अलैंचीको मूल्य शृंखला विकासका सम्भावना सम्बन्धी बहुसरोकारवाला परामर्श बैठकमा बुधबार सार्वजनिक गरिएको हो। परामर्श अलैंचीमा आधारित दक्षिण एसिया विशेषगरी नेपाल, भारत, भुटान र बंगलादेशका महिला उद्यमीलाई मूल्य शृंखलामा समावेश गराउने सम्बन्धमा केन्द्रित थियो। कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाले क्षेत्रीय सहकार्यबाट अलैंचीको उत्पादन र बजारका लागि दक्षिण पूर्वी एसिया र पूर्वी हिमालय क्षेत्रलाई लक्षित गर्नुपर्ने बताइन्।
मसलाको रूपमा प्रयोग हुने अलैंची औषधिको गुणसमेत भएको पहाडी उत्पादन हो। नेपाल अलैंची उत्पादनमा विश्वकै ठूलो उत्पादक हो। भुटान र भारतले पनि नेपालको उत्पादन विधि अनुसरण गर्दै आएका छन्। होमनेट साउथ एसिया नामक दक्षिण एसियाका घरायसी कामदारको सञ्जालले विश्व बैंकको अध्ययनमा सहभागी थियो। कार्यक्रममा ताप्लेजुङकी ४० वर्षीय लीलादेवी दाहालले आफू अलैंची खेतीमा सहभागी घरायसी कामदार भएर आफ्ना सन्ततिलाई पढाउन खर्च जुटाउँदै आएको बताइन्।
‘म अलैंचीबाट मसला र चियामा प्रयोग हुने धुलो बनाउन सिकेर यसै पेसाबाट थप आर्जन गर्न चाहन्छु’, उनले भनिन्। सन् २०१५ देखि नेपालको अलैंची निकासी ओरालो लागिरहेको छ। अलैंची खेती सिञ्चित गर्न पानीको अभाव र रोगका कारण अलैंचीको व्यापारमा गिरावट आएपछि घरायसी महिला कामदार चिन्तित छन्। विश्व बजारमा मागको आधारमा मूल्य उतारचढाव भए पनि अलैंची नेपालको प्रमुख निर्यातको सूचीमा थियो।
अध्ययन सार्वजनिक कार्यक्रममा विश्व बैंकका राष्ट्रिय व्यवस्थापक फारिस हदाद जर्भोसले महिलामैत्री प्रविधि र उपकरणको माध्यमबाट अलैंची उत्पादन र प्रशोधनमा सहयोग गर्ने उल्लेख गर्दै महिलाको संस्थाको सशक्तीकरण र सीप विकासका माध्यमबाट अलैंची उत्पादनबाट उपयुक्त प्रतिफल प्राप्त हुने वातावरण बनाउने बताए।