RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/१०/२५ गते
४०९ पटक

पहिलो पटक नेपालमा हुन लागेको विश्व सामाजिक मञ्च २०२४ तयारी तीव्र रुपमा भैरहेकोे छ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ हुने १६ औं सम्मेलन आगामी फागुन ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको हो । विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिले विहीबार काठमाडौमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि कार्यक्रमको तयारी, कार्यतालिका ,ढाँचा,सहभागिता बारे जानकारी दिएको हो ।
समग्र तयारी तथा व्यवस्थापनका लागि नेपाल आयोजक समिति बनाइएको छ । ११ वटा उप समितिहरु गठन गरि क्रियाशील छन् ।

मञ्चको उदघाटन समारोह फागुन ३ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । यसैगरी फागुन ४ देखि ६ गतेसम्म विभिन्न विषयगत सम्मेलन र समानान्तर सत्रहरु आयोजना हुनेछन् । फागुन ५ गते अन्तरमहादेशीय युवा मञ्च हुनेछ भने संसदीय मञ्चको पनि कार्यक्रम आयोजना हुनेछ ।
पत्रकार सम्मेलनमा नेपाल आयोजक समितिका सदस्य डा.नेत्र तिमिल्सिनाले यस सम्मेलनलाई सफल बनाउन सबैको सहयोग हुनुपर्ने बताउनु भयो ।

त्यस्तै आर्थिक असमानता र न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिकाबारे छलफल हुने उहाँले बताउनुभयो । उहाँले भन्नु भयो ‘अफ्रिका, क्यानडा, अमेरिका, अष्टे«लियातिरबाट पनि प्रतिनिधिहरु हामीले अपेक्षा गरेभन्दा धेरै हुनुहुन्छ । अहिले काठमाडौंमा मध्यमस्तरका होटलहरु ध्माधम बुकिङमा भैरहेका छन । उहाँहरुले मध्यमस्तरका होटलहरु बुक गर्ने तर नेपालको बसाई पन्ध्र बीस बढि लम्बाउने गरि बसेर नेपाललाई बुझ्ने सोच बनाएको देखिन्छ ।’

आयोजकले दिएको जानकारी अनुसार उल्लेखित विषयमा छलफल र अन्तरक्रिया लागि आधारित चार सयवटा कार्यक्रमहरु दर्ता भएका छन । कार्यक्रममा हालसम्म ९१ देशका १ हजार १६५ वटा संस्थाहरुले सहभागीताको लागि दर्ता भएको जनाइएको छ । करिव ५० हजार मानिसको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ ।

समितिका सदस्य ओम थपलियाले न्यायका लागि अर्को संसार चाहिएको बताउनु भयो । उहाँले यो सम्मेलन बृहत्त आन्दोलनको पनि आन्दोलन भएको बताउनु भयो ।

त्यस्तै समितिका सञ्चार समन्वय उपसमितिका संयोजक सुशील विकले सबैको मानव अधिकार रक्षाका लागि ,बहिस्करणमा परेको समुदायको मुद्धा अन्तराष्ट्रियकरण गर्नका लागि यस्ता सम्मेलन हुन आवश्यक रहेको बताउनु भयो । नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्ध सामूहिक आवाज उठाउने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्