RaraNews

प्रकाशित : २०७८/८/२१ गते
४९९ पटक

प्रदेश दुईमा सबैभन्दा बढी जातीय तथा लैङ्गिक हिंसा

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत र महिला हिंसाका घटनामा दलित महिलाहरु बढी प्रभावित भएका छन् । गैरदलित महिलाको तुलनामा दलित महिला बढी प्रभावित भएका छन भने दलित पुरुषको तुलनामा दलित महिला बढी प्रभावित भएका छन ।
दलित महिला संघ (फेडो) ले गरेको पछिल्लो एक वर्षका घटनाहरुको अध्ययन प्रतिवेदनले जातीय भेदभाव तथा छुवाछूतका घटनामा दलितम महिला ६१ प्रतिशत पीडित भएका छन भने पुरुषहरु ३५ प्रतिशत पीडित भएका छन । दलित बालवालिका दुई प्रतिशत पीडित भएका छन । २०७७ कात्तिकदेखि २०७८ असोजसम्मका जातीय भेदभाव तथा छुवाछूत ६७ वटा घटनाहरुमा सात जना दलितको हत्या भएको छ । जसमा चार जना दलित महिलाको हत्या भएको हो भने तीन जना दलित पुरुषको हत्या भएको छ । चारमध्ये तीनजना दलित महिलाको बलात्कारपछि हत्या भएको छ ।
पाँचवटा आत्महत्या दुरुत्सानको घटनामा ८० प्रतिशत दलित महिला र २० प्रतिशत दलित पुरुष पीडित भएका छन । जातीय भेदभाव तथा छुवाछूतका कुल १९ वटा घटनामा दलितम महिला ६३ प्रतिशत र दलित पुरुष ३६ प्रतिशत पीडित भएका छन ।
जातीय भेदभाव तथा दलित महिला हिंसाका घटनाहरु सबैभन्दा बढी प्रदेश नम्बर दुईमा घटेका छन । कुल ६७ वटा घटनामा ३२ प्रतिशत प्रदेश दुईमा घटेका छन । प्रदेश नम्बर एकमा २२ प्रतिशत घटेका छन । लुम्बिनी प्रदेशमा ११ प्रतिशत । बाग्मती र गण्डकी प्रदेशमा १०÷१० प्रतिशतघटना घटेका छन । सुदुरपश्चिममा आठ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ७ प्रतिशत घटना भएको छन ।
उक्त अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । अध्ययन अवधीमा दलित महिलामाथी ११ वटा जबरजस्ती करणीका घटना भएको छ ।
अध्ययनबाट दलित महिलाको मानवअधिकारको अवस्था दयनीय देखिएको संघकी अध्यक्ष कला स्वर्णकारले बताउनुभयो । उहाँका अनुसार दलित महिला र बालवालिकामाथि भएको हिंसा र विभेदअन्त्यका लागि बहस पैरवीको वातावरण निर्माण गर्न अध्ययन गरिएको हो ।
प्रहरी र अदालतका साथै राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोगमा दलित तथा दलित महिला सेल (डेक्स) र अदालतमा विशेष इजलासको व्यवस्था गरी न्यायमा पहुँच अभिवृद्धि गर्ने पर्ने सुझाव प्रतिवेदनले गरेको छ । संविधानको धारा ४० (५) र (६) अनुसार भूमीहिन दलितलाई एक पटक जमिन उपलब्ध गराउने, आवास विहिनलाई बसोवासको व्यवस्था गर्ने व्यवस्थामा महिला पुरूषले समानुपातिक अधिकार प्राप्त गर्ने व्यवस्थाको सुनिश्चित गर्नु पर्नेलगायतका १२ बुँदे सुझावहरु प्रतिवेदनले गरेको छ । उक्त अध्ययन तथा लेखन पत्रकार लक्ष्मण दर्नालले गर्नुभएको हो ।

अध्ययनको मुख्य साराशं
वि.सं. २०७७ कात्तिकदेखि २०७८ असोजसम्म दलित समुदायमाथि जातीय भेदभाव तथा छुवाछूतका विभिन्न प्रकृतिका ६७ वटा घटनाहरू भएका छन । जुन विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएका घटनाहरू थिए । उक्त एक वर्षमा ७ जनाको हत्या भएको छ । जसमा तीन जन दलित महिलाको बलात्कारपछि हत्या भएको छ । पाँच जनाले आत्महत्या गरेका छन् । जातीय भेदभाव तथा छुवाछूतका १९ वटा घटेका छन । १५ वटा घटना कुटपीटका छन । जबरजस्ती करणीको संख्या ११ छ भने अन्तरजातीय विवाहका घटना ७ वटा रहेका छन । गालीगलौजका घटना तीन वटा छन् ।
जातीय भेदभाव तथा छुवाछूतका कारण दलित समुदायमाथि भएका विभिन्न घटनामा दलित पुरूषभन्दा दलित महिला बढी पीडित भएका छन । कुल ६७ वटा घटनामा दलित महिलामाथि ४१ वटा घटना घटेका छन । कुल घटनामा ६१.१९ प्रतिशत घटना दलित महिलामाथि भएका छन । दलित पुरूषमाथि २४ वटा घटना भएका छन । जुन ३५.८२ प्र्रतिशत हो । ७ जनाको हत्या हुँदा ४ जना (५७ प्रतिशत) दलित महिलाको हत्या भएको छ । दुई जना (४२ प्रतिशत) दलित पुरूषको हत्या भएको छ ।
राष्ट्रिय दलित आयोगमा आ.व २०७६÷७७ को तुलनामा आ.व २०७७÷८७ मा जातीय भेदभावको घटनाको उजुरी संख्या बढेको छ । आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन अनुसार जातीय भेदभाव तथा छुवाछूतका घटनामा दलित पुरूषभन्दा दलित महिलाहरू बढीमात्रामा छन । जातीय भेदभावकै कारण भएका हत्यामा दलित महिला बढी देखिएको छ । जातीय भेदभाव तथा छुवाछूत, कुटपीट र मृत्यु, कुटपीट बलात्कार, अन्तरजातीय विवाह प्रेम र मृत्यु, अन्तरजातीय विवाह प्रेम, हत्या र जातीय भेदभावलगायतका प्रकृतिका ३६ वटा घटनामध्ये १९ वटामा दलित महिला पीडित छन । जुन ५२.७७ प्रतिशत हो । दलित पुरूष १७ वटा घटनामा पीडित भएका छन । जुन ४७.२२ प्रतिशत हो । आ.व. २०७७÷७८ मा राष्ट्रिय दलित आयोगमा जम्मा ३६ वटा उजुरी परेका थिए ।
नेपालमा लैङ्गिक हिंसाका घटनाहरू दैनिक जसो हुने गरेका छन । नेपाल प्रहरीको तथ्याङ्कमा लैङ्गिक आधारमा महिला तथा बालवालिकामाथि हुने हिंसाको दर बढेको देखिन्छ । नेपाल प्रहरी, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोगका बार्षिक प्रतिवेदनहरूमा जातीय भेदभाव तथा छुवाछूतका घटनाहरू अघिल्लो वर्षको तुलनामा बढेका छन । जसमा दलित महिला बढीमात्रामा पीडित भएका छन ।
लैङ्गिक हिंसा, घरेलु हिंसा, बजरजस्ती करणी, हत्या, आत्महत्या दुरुत्साहन, कुटपीट जस्ता घटनाहरूमा दलित महिला बढी प्रभावित भएका छन । सरकारीमात्र होेइन सामाजिक संघसंस्थाका अध्ययनले पनि जातीय भेदभाव र लैङ्गिक हिंसाका घटना बढेको र दलित महिला अन्य महिलाको तुलनामा बढीमात्रामा पीडित भएको देखाएका छन । लैङ्गिक तथा घरेलु हिंसा, जातीय भेदभाव तथा छुवाछूतका घटनाहरूमा दलित महिला बढी पीडित भएका छन । यस्ता घटना सबैभन्दा बढी प्रदेश नम्बर दुई र एकमा अन्य प्रदेशको तुलनामा बढी भएका छन ।

प्रतिकृया दिनुहोस्