RaraNews

प्रकाशित : २०७८/२/१३ गते
७६३ पटक

कोरोना महामारीबाट पीडितलाई राहत देउ

सुशील विके
जेठ १२, काठमाडौं । कोभिड १९ को दोस्रो लहरसँगै शुरु भएको निषेधाज्ञाले ज्याला मजदुरी गर्ने दलित तथा गरिवलाई वढी असर परेको भन्दै दलित अधिकारकर्मीहरुले सरकारले राहत दिनुपर्ने वताएका छन् ।

दलित गैरसरकारी संस्था महासंघ (डिएनएफ) ले आयोजना गरेको कोभिड १९ महामारी र वन्दावन्दीका कारणले सृजित समस्या र समाधानका लागि नागरिक संघ संस्थाहरुको भूमिका विषयक भर्चुअल कार्यक्रममा वोल्दै अधिकारकर्मीहरुले निषेधाज्ञा लम्विदै जाँदा ज्याला मजदुरी गर्ने गरिव तथा दलितहरुलाई वढी असर परेकोले राहात वितरण गरिनुपर्ने वताएका हुन् ।

कोभिड महामारीको दोस्रो लहर र निषेधाज्ञाका कारण महिला, दलित तथा गरिबको दैनिक जीवनमा आउने समस्याहरु जस्तै खाना, आवास, स्वास्थ्य, शिक्षा, रोजगारी तथा दैनिक पेशा ब्यवसाय र मनोसामाजिक अवस्था, उनीहरु माथि हुने गरेका हिंसा र विभेदको अवस्था, न्यायिक प्रक्रियाको अवस्था र महामारीले सिर्जना गरेका समस्या सामाधानका लागि सरकारी तर्फबाट अवलम्बन गर्नुपर्ने नीति योजनाका वारेमा छलफल गरी सरोकारवालाहरुको ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा दलित अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले आआफ्नो क्षेत्रको अवस्था सहित भनाइहरु राखेका थिए ।

प्रदेश १ को इटहरीबाट वोल्दै अधिकारकर्मी अमर वराइलीले यस प्रदेशमा कोरोना वढ्दो क्रममा रहेको र दलितहरु वढी प्रभावित भएको वताउनुभयो । निषेधाज्ञाले दलितहरु पेशाबाट विमुख भएको तथा वेरोजगारी वढेका कारण उनीहरु मारमा परेको जानकारी दिदै वराइली संक्रमित भएका दलितहरु अझ वढी समस्यमा रहेकोले उनीहरुलाई पौष्टिक आहार सहित राहत प्याकेज उपलव्ध गराउनुपर्ने वताउनुभयो ।

यसै गरी सुदुरपश्चिम प्रदेशबाट अधिकारकर्मी विनोद नेपालीले कोरोना प्रकोपमा सिंगो प्रदेश परेको वताउँदै दलित समुदायलाई खोपमा पहुँच पुर्याउनुपर्ने वताउनुभयो ।
डोटीका अधिकारकर्मी कृष्ण विश्वकर्माले राहत वितरण नहुँदा दलित समुदायको अवस्था दयनीय रहेको वताउँदै नीतिगत विभेदका कारण दलित समुदायको पहुँच नभएको जानकारी दिनुभयो ।

कैलालीबाट अधिकारकर्मी सावित्रा घिमिरेले महामारीले दलित महिला अझ वढी प्रभावित भएको जानकारी दिनुभयो । चेताना कमजोर भएको र सूचनामा पहुँच पनि नभएको हुँदा दलित समुदायको स्वस्थ्य सेवामा पहुँच नभएको जनाउँदै घिमिरेले दलित तथा महिलाका सवालहरुलाई गम्भीरता पूर्वक लिनुपर्ने वताउनुभयो ।
प्रदेश २ का अधिकारकर्मी सिजेन्द्र सदाले डोम, मुसहर जस्ता मधेशी दलित कोरोनाबाट वढी प्रभावित भएको वताउनुभयो । औषधी उपचारमा दलितहरुको पहँुच नभएको वताउँदै सदाले तुरुन्त राहत वितरण नगरेमा भोकमरी समस्या आउने जानकारी दिनुभयो ।

अर्का अधिकारकर्मी सन्जय महराले गतवर्षको लकडाउन यता मधेशमा दलितहरुको श्रंखलावद्द हत्या भएको र न्याय पाउन नसकेको वताउनुभयो । औषधी उपचार नपाएर मर्नेहरुको संख्या वढेको जानकारी दिंदै महराले काम गरेको ज्यालामाग्दा ठेकेदारको पिटाइबाट एक जना दलित मारिएको समेत जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको जाजरकोटबाट अधिकारकर्मी शान्ता विकेले चेतना नहुँदा दलित वस्तीमा कोरोना फैलिएका वताउनुभयो । साथै उहाँले दलितहरुको अस्पताल, स्वस्थ्य सेवामा पहुँच नभएको वताउँदै दलितहरु माथि विभेद भइनै रहेको जानकारी दिनुभयो । अस्पतालमा भर्ना भएका विरामी मध्ये पनि सम्पन्न विरामीलाई दिने सेवा र दलित तथा विपन्नलाई दिने सेवा फरक भएको आफ्नै आँखाले देखेको जानकारी दिंदै विकेले अस्पतालको वेडमा मर्ने वेलामा पनि संघर्ष गर्नुपर्ने पीडामा दलित समुदाय भएको वताउनुभयो ।

सुर्खेतका अधिकारकर्मी सन्जुसिंह सुनारले संक्रमित भएका दलितलाई पोषण सहितको राहत दिन र वजेटमा कोरोनाबाट प्रभावित दलित तथा गरिवलाई केन्द्रीत गर्न माग गर्नुभयो ।

यसैगरी सुर्खेतकै अर्का अधिकारकर्मी नारायण विकेले दलितमैत्री वजेट ल्याउनुपर्ने वताउनुभयो ।
लुम्विनी प्रदेशको वाँकेका अधिकारकर्मी दिलवहादुर परियारले परम्परागत पेशाबाट विभुख भएका र ज्याला मजदुरी गर्ने दलितहरु भोकमारीमा पर्ने अवस्था आएको जानकारी दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि रवीलाल नेपालीले महामारी प्रभावित दलित वस्तीमा वढी परिक्षण गरिनुपर्ने, सूचनामा पहुँच पुर्याउनुपर्ने र खोपमा दलितको पहुँच पुर्याउन आवश्यक भएको वताउनुभयो ।

बाग्मती प्रदेशका सदस्य मैना अच्छामिले दलित सवालहरु सरकारले वजेटबाट पनि सम्वोधन गर्नुपर्ने वताउँदै सरकारलाई सुझाव दिनुपर्ने वताउँनुभयो ।
कार्यक्रमका निष्कर्ष प्रस्तुत गर्दै अधिकारकर्मी हीरा विश्वकर्माले दलित समुदायको वढी जनसंख्या भएको प्रदेश दुईका दलित समुदाय कोभिडबाट वढी प्रभावित भएको जानकारी दिदै राहत वितरणमा प्राथामिता दिनुपर्ने वनाउनुभयो ।

कार्यक्रममा अधिकारकर्मी गजाधर सुनार, डिवि शाहशंकर, नन्द विश्वकर्मा, गोपाल विश्वकर्मा आदिले सुझावहरु राख्नुभएको थियो । डिएनएफका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक इमान सुनारले छलफलका विषय प्रस्तुत गर्नुभएको थियो भने महासचिव जेवी विश्वकर्माले सञ्चालन गर्नुभएको थियो

प्रतिकृया दिनुहोस्