RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/८/२७ गते
१६२० पटक

सन् २०१२ मा भारतको दिल्लीमा एक जना महिलामाथि भएको सामुहिक बलात्कारको घटनाले संसार भर चर्चा पायो । यो घटनापछि महिला सुरक्षाबारे विश्व सामु नै धेरै प्रश्नहरु उठ्यो । महिला हिसां विरुद्ध विभिन्न अभियान सञ्चालन भए । हिंसा अन्त्यका लागि उत्तिकै मात्रामा छलफल पनि भयो ।

नेपालमा पनि सन् २०१३ मा युवाहरुको सोच बुझ्नका लागि यस विषयमा प्रतियोगिता गरियो । जसबाट प्रविधिको उपयोग गरेर लैङ्गीक हिंसा अन्त्य गर्ने रचनात्मक उपायहरु निस्कीए ।  जो प्रथम भए उनीहरुकै सोच थियो, २४ सै घण्टा सञ्चालनमा रहने एउटा हेल्पलाईन नम्बर । जहाँ हिंसामा परेको बेलामा जो कोहीले फोन गरेर सहयोग र जानकारी माग्न सक्छन् ।

त्यीनै युवाहरुको सोचलाई मुर्त रुप दिन राष्ट्रिय महिला आयोगले सन् २०१७ देखि ११४५ हेल्पलाईन नम्बर सञ्चालनमा ल्यायो । जहाँ नेपाल टेलिकम वा एनसेल सिम प्रयोगकर्ताले निशुल्क रुपमा सूचना लिन वा आफु माथि भएको हिंसाको उजुरी टिपाउन सक्नेछन् । उजुरी र हिंसाको प्रकृति हेरी पिडितलाई तत्कालिन र दिर्घकालिन सहयोगको व्यवस्था पनि गरेको छ ।

महिला माथि हिंसा जुन सुकै समयमा हुन सक्ने आँकलन गर्दै आयोगले यो सेवालाई २४ सै घण्टा सुचारु गरेको छ । जहाँ समस्या सुन्न, आवश्यक सहयोग गर्नका लागि अधिकृतहरु बसेका हुन्छन् । सबै अधिकृत व्यस्त भएको खण्डमा हेल्पलाईनमा एउटा अडियो आउँछ त्यही अडियोको निर्देशन अनुसार आवाज रेर्कड गराउन वा फोन गर्ने अनुमति दिन सकिन्छ । कतिपय अवस्थामा सेवाग्राहीलाई तुरुन्तै सेवा चाहिएको छ तर दुबै टेलिफोन अपरेटर व्यस्त छन् भने एउटा नम्बर थिच्ने बित्तिकै तरुन्त फोन प्रहरीकोमा जान्छ ।

धेरै सेवाग्राहीले सामान्य सोधपुछको लागि पनि हेल्पलाईनको सहायता लिईरहनुभएको छ । सूचना र जानकारीसँगै आफुमाथि भएको व्यवहार हिंसा हो की होईन ? महिलाका अधिकार के के हुन् ? कसरी पाउन सकिन्छ ? महिला आयोगले कस्तो प्रकारले सहयोग गर्छ ? भन्ने खालका जिज्ञासाको परिपूर्ति पनि यही हेल्पलाईनले गर्दै आएको छ ।

यो सेवा विशेष गरी काठमाण्डौं, ललितपुर, भक्तपुर र नुवाकोटको लागि भनेर संचालनमा ल्याएका हौं । तर, अहिले हेल्पलाईनमा सूदुरपूर्व देखि सूदुरपश्चिमसम्मको फोन आउने गर्छ । यो हेल्पलाईन सुरु गरेको १५ दिन नहँुदै हामीलाई एउटा फोन आयो । जसमा पिडितको काकाले गर्नु भएको थियो । उहाँको भतिजीलाई उसको श्रीमानले कुट्दै गरेको रहेछ । हामीले उहाँको ठेगाना सोध्यौं र प्रहरीसंग समन्वय गरेर दोषिलाई पक्राउ गर्यौं । त्यस्तै नेपालगञ्जको एक जना दिदीले रातीको समयमा श्रीमानले पिट्दै गर्दा घरबाट भागेर छिमेकीको घरमा लुकेर बसेकी छु भनेर फोन गर्नुभयो । हामी दूरीका हिसाबले टाढा भए पनि त्यहाँको प्रहरीसंग समन्वय गरेर समस्या समाधान गर्न सफल भयौं ।

बिहान दिउँसो सूचनाका लागि फोन आउँछ भने रातीको समयमा कुटपिट झै झगडा भैरहेको अवस्थाका फोन आउने गर्छ । कतिपय समस्याहरु हामी मेलमिलाप गरेर पनि समाधान गर्छौं । नागरिकता, बिबाह दर्ता र बच्चाको जन्मदर्ताहरु को सवालमा हामीले दुबै पक्षलाई बोलाएर छलफल गरिसके पछि त्यो समस्या समाधान भएको र मासिक खर्च पनि हेरेको कयौं रेकर्ड पनि हामीसँग छन् । मेलमिलापमा होस या कानुनी प्रक्रियामा होस् हामी सकेसम्म जसरी हुन्छ पिडित लाई न्याय दिलाउन लागि पर्ने गछौं ।

देशभरीबाट आएका समस्या केन्द्रमा बसेर हल गर्न सक्दैनौ र समस्यामा परेका महिला दिदीबहिनीहरु यहाँ आउन गाह्रो छ । त्यसैले यो सेवालाई प्रदेश स्तरमा लैजाने तयारीमा हामी छौं । त्यसका लागि हामीले नेपाल बार एशोसियसनसंग सम्झैता गरेका छांै । जिल्लामा जिल्ला बार मार्फत काम गरेका छौं । पिडितलाई न्याय दिलाउन स्थानीय तहसंग पनि हामी समन्व्य गरिरहेका छौं । यसलाई अझै प्रभावकारी बनाएर महिला हिंसा अन्त्यका लागि कटिबद्ध बनाउने हाम्रो योजना छ ।

राष्ट्रिय महिला आयोगकी प्राविधिक सल्लाहकार पलिता थापासँगको कुराकानीमा आधारीत

प्रतिकृया दिनुहोस्