RaraNews

जागरण मिडिया प्रकाशित : २०८०/३/४ गते
७३१ पटक

पार्वता चौधरी

बागलुङको निसी खोला गाउँपालिका–६ र ७ मा खाम मगरको बसोबास बाक्लो छ । त्यहाँका बासिन्दाले घर–व्यवहारमा मातृभाषा मगर खाम भाषा नै बोल्ने गर्छन् । तर, स्थानीय बालबालिकाले मातृभाषामा शिक्षा लिन पाइरहेका छैनन् । संविधानले मातृभाषामा शिक्षा लिन पाउने मौलिक हकको व्यवस्था गरेसँगै स्थानीय तहले सम्बन्धित पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्ने गृहकार्य त सुरु गरेको छ, तर लिपि बाधक बनिरहेको छ ।

खाम मगरको आफ्नै लिपि नहुँदा देवनागरी लिपिमै मातृभाषाको पाठ्यक्रम तयार पार्नुपरेको मातृभाषा पाठ्यक्रम निर्माण समितिका संयोजक हेमबहादुर बुढामगरको भनाइ छ । कतिपय स्थानीय तहले मातृभाषाको पाठ्यक्रम लागू गरिसकेका छन्, कतिपय चाहिँ त्यसको तयारीमा छन् ।

नेपालमा मातृभाषामा शिक्षा कार्यक्रम २०५५ सालदेखि सुरु भएको हो । लागू भएको झन्डै दुई दशक पुगिसक्दा पनि यसको कार्यान्वयनको पाटो भने चुनौतीपूर्ण बन्दै गएको छ । मातृभाषामा पाठ्यपुस्तक तयार पार्ने भनिए पनि कतिपय भाषाको लिपि छैन । लिपि भएका भाषाका पाठ्यपुस्तक पनि देवनागरी लिपिमै बनाउनुपरेको स्थानीय तहका शिक्षा अधिकृतहरूको भनाइ छ । कतिपय विद्यालयमा फरकफरक भाषा प्रयोग गर्ने विद्यार्थी पढ्ने हुँदा पनि मातृभाषा पाठ्यक्रममा लागू गर्न समस्या देखिएको छ । एउटा मातृभाषाका पाठ्यपुस्तक हुँदा अन्य भाषाभाषीका विद्यार्थीका वैकल्पिक विषयको व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।

पछिल्लो पुस्ताले मातृभाषा खासै प्रयोगमा ल्याएको पाइँदैन । पढाइको सिलसिलामा थातथलो छोडेर बाहिर बसेका एवं रोजगारीका लागि घर छोड्ने बाध्यता भएकाहरूले मातृभाषाको प्रयोग घटाउँदै लगेका हुन्छन् । अंग्रेजी र अन्य भाषाप्रतिको आकर्षणका कारण विद्यार्थीहरूले नै मातृभाषा शिक्षामा रुचि नदिने समस्या पनि छ । प्रविधिको प्रयोग र बसाइँसराइका कारण मातृभाषाको प्रयोगमा कमी हुँदै गएको छ ।

हाल नेपालमा बोलिने १२४ भाषामध्ये २९ वटामा मातृभाषाको शिक्षा दिइन्छ । यद्यपि पाठ्यपुस्तक नहुनु, सम्बन्धित शिक्षकको व्यवस्था नहुनु, मातृभाषा पढाउन झन्झटिलो हुनु लगायतका कारण यो चुनौतीपूर्ण बन्दै गएको छ । मातृभाषाको शिक्षा भनिए पनि देवनागरी लिपिमै पाठ्यपुस्तक तयार पार्नुपर्दा यसको औचित्य पूरा हुन नसकेको विज्ञहरूको भनाइ छ ।

भाषाविज्ञहरू मातृभाषामा पाठ्यपुस्तक लागू गर्नुलाई भाषा संरक्षणका रूपमा पनि लिने गर्छन् । उनीहरू लोपोन्मुख हुन लागेको भाषालाई विद्यालयस्तरमा मातृभाषाका पाठ्यपुस्तकले जगेर्ना गर्ने बताउँछन् । भाषा आयोगले समेत मातृभाषा शिक्षा प्रवर्द्धन कार्यक्रममा जोड दिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले हाल २९ मातृभाषामा पाठ्यक्रम तयार पारेको छ । प्रयोगमा रहेका कतिपय मातृभाषामा पाठ्यक्रम लागू गर्न सहज भएको छ भने कतिपयको लिपि नहुँदा अन्योल बढेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल संविधानमा व्यवस्था भए अनुरूप विभिन्न स्थानीय तहले मातृभाषामा पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्ने तयारी गरे पनि लिपि बाधक बनेको बताउँछन् । ‘सबै मातृभाषाको लिपि नहुँदा चाहिने पाठ्यक्रम लागू गर्ने तयारी गरे पनि देवनागरी लिपिमै प्रकाशन गर्नुपरेको छ,’ उनी भन्छन् । केन्द्रले बोलीचालीको भाषाको देवनागरी लिपिमै विभिन्न भाषाका पाठयपुस्तकसमेत तयार पारेको छ । कुनै पनि विद्यालयमा एउटै मात्र भाषाको बाहुल्य भएको विद्यार्थी नभएकाले मातृभाषामा पाठ्यपुस्तक वितरण प्रभावकारी हुन सकेको छैन ।

नेपालमा धेरै भाषा भए पनि तिनको यथोचित संरक्षण हुन सकेको छैन । धेरै भाषा क्रमशः लोप हुँदै गएकाले संरक्षणका लागि विद्यालयदेखि नै मातृभाषामा शिक्षा दिनुपर्छ । लोपोन्मुख अवस्थामा पुगेका भाषाहरूलाई जोगाउनका लागि विद्यालयदेखि नै मातृभाषा शिक्षा दिनु जरुरी छ । मातृभाषाको जगेर्नाका लागि सरोकारवाला संघसंस्थाले कार्यक्रमहरूको गति बढाउनु पनि अपरिहार्य छ । भाषालाई मर्नबाट बचाउन भाषाप्रयोगको क्षेत्र बढाउनु राम्रो उपाय हुने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अर्यालको भनाइ छ ।यो लेख कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्