RaraNews

जागरण मिडिया प्रकाशित : २०७५/३/२६ गते
१८२६ पटक

पर्वत । जातिय रुपमा गाली गलौच र हातपात गर्ने पर्बतकी एक महिला प्रहरी खोरमा पुग्नु भएको छ । आफ्नो सामान छोएको भन्दै तथानाम जातिय गाली गलौच गर्ने पर्वतको फलेवास नगरपालिका–८ ठानामौलाकी मिना कुवँर प्रहरी खोरमा पुग्नु भएको हो ।

आफ्नो परिवारलाई कमी, तल्लो जात भनेर गाली र हातपात गरेको भन्दै बागलुङ नगरपालीका वडा.१२ अमलाचौरकी मनिसा रसाईली बिकले प्रहरीमा उजुरी दिएपछि कुवँरलाई पक्राउ गरिएको हो । घटना असार २० गते बिहान भएको भएपनि प्रहरीले उजुरी आधारमा कुवँरलाई असार २४ गते पक्राउ गरेको थियो ।

आरोपित कुवँर उपर प्रहरीले जातिय भेदभाव तथा छुवाछूत कसूर सजाय ऐन अन्र्तगत जिल्ला अदालत पर्वतमा मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय पर्वतको मुद्धा फाँटका सई यम बहादुर नेपालीले जागरण मिडिया सेन्टरलाई फोनमार्फत जानकारी दिनुभयो ।

उहाँका अनुसार अदालतबाट पहिलो पटक चार दिनका लागि म्याद थप दिइए अनुसार असार २७ गते पुनः कुवँरलाई अदालत पेश गरिने छ । आरोपित कुवँरले आफु आवेगमा आएर मनिसालाई कामनी भन्दै जातिय गाली गलौच गर हात हालाहाल भएको प्रहरी बयानमा बताईसकेको समेत सई नेपालीले बताउनुभयो । आरोपीत कुवँरले जातिय रुपमा गाली बेइजती र हातपात गरेको प्रत्यक्षदर्शीहरुले समेत साँछीका रुपमा बयानमा बताएका कारण कानून अनुसार दोसीलाई कारवाही हुने प्रहरीको भनाई छ ।

घटना के थियो ?
मनिसा बिक र मिना कुवँर एकै घरमा ओल्लोपल्लो कोठामा डेरा बस्छन । डेरामा बसेर मिनाले कस्मेटिक पसल संचालन गरेको छ । मनिसा रसाईली बिकको उजुरी अनुसार मिना कुवँरले लामो समय देखि पटक पटक जातिय रुपमा अपमान गर्ने, गाली गलौच गर्ने, होच्याउने गर्दै आउनु भएको थियो ।

‘ बिहान आफू बारीमा काम गरिरहेको बेला बच्चाले समान छोएको भन्दै हामीलाई कामी, तल्लो जात भनेर उहाँले गाली गर्न थाल्नु भयो, मिनाले भन्नुभयोे, ” उहाँले हामीलाई पहिला देखि नै घरबाट निकाल्ने, घरबेटीलाई तल्लो जातका लागि किन घरमा राखेको भन्दै हटाउन आग्रह गर्नु हुन्थ्यो तर, हामी एकै घरमा बसेकाले किन विबाद झै – झगडा गर्ने भनेर चुप लागेका थियौं । तर, अब त अति नै गर्न थालेपछि बाध्य भएर उजरी दिएका हौं ।”

घटनामा अधिकारकर्मीको सहयोग र कानूनी सजाय :


पर्वतको यस घटनाबारे जिल्लास्थित विभिन्न दलित संघसस्था र अधिकारकर्मीले बिरोध गर्दै न्यायका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन । घटनाबारे थाहा पाइसकेपछि आफुहरु घटनास्थल पुगेर पीडितलाई न्याय र पिडकलाई सजाय दिलाउन प्रहरीमा उजुरी दर्ता गर्न लगाएको महिला अधिकारकर्मी तथा संचारकर्मी सरु सुनारले बताउनुभयो ।

यसरि जातिय रुपमा विभेद गर्नेलाई कानूनी रुपमा दण्ड सजायको ब्यवस्था छ ।
पीडक कुवँरले कसूर गरेको ठहरिएमा उहाँलाई जातीय भेदभाव तथा छुवाछूत कुसुर र सजाय ऐन २०६८ को आधारमा एक वर्षदेखि ३ वर्षसम्म जेल सजाय र एक हजारदेखि २५ हजार जरिवाना हुन सक्छ ।

प्रतिकृया दिनुहोस्