RaraNews

- शोभा परियार प्रकाशित : २०७९/३/१३ गते
८८३ पटक

काठमाडौं । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९।८० को बजेट सार्वजनिक गरेका छन् । लैंगिक सशक्तिकरण र समानता, समावेशिता र सामाजिक न्याय स्थापना गर्ने प्रदेश सरकारको बजेटका प्राथमिकता रहेका छन् । बजेटका प्राथमिकतालाई पुरा गर्न गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट ल्याएको हो । वि.स.२०७९ असार १ गते सार्वजनिक गरिएको बजेट वक्तव्यमा २०४ बुदाँ छन् । जस मध्ये महिला सवालको सम्वोधन हुने गरी ९ बुदाँमा कार्यक्रम समावेश छ । २४ लाख ०३ हजार १६ जना कुल जनसख्या रहेको गण्डकी प्रदेशमा ११ लाख ४४ हजार १ सय २४ महिलाको जनसख्या रहेको छ । यस बजेटले सम्रग गण्डकी प्रदेशका महिलाको सवालको मुक्ति सम्भव छ त ?

सरकारको बजेटमा यी छन् महिला शसक्तिकरणका बुदाँ

बुदाँ नम्वर ८४ मा महिला तथा बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक कार्यक्रमहरु दिएको छ । महिलालाई सामाजिक एवम् आर्थिक रुपमा सबल बनाउन पिडित महिलालाई क्षेत्रमा पहुँच र सशक्तिकरण बनाउन सिपमुलक र स्वरोजगारमूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिने भएको छ । महिलाको उत्थानका लागि विशेष कार्यक्रम नहुँदा महिला उपलब्धि हासिलमा समस्या देखिएको हो ।

बुँदा नम्बर ८५ मा स्थानीय तह र गैरसरकारी संघ संस्थासँगको समन्वय सहकार्यमा हिंसा पीडित महिला, एकल महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक, सीमान्तकृत तथा लोपोन्मुख जातिको अधिकार संरक्षणका लागि विशेष कार्यक्रम सहित त्यस्ता व्यक्तिहरुको आर्थिक तथा सामाजिक अवस्थाको सुदृढिकरणका लागि सिपमुलक तथा व्यावसायिक तालिम प्रदान गर्न रु. १० करोड विनियोजन गरेको छ ।
बुँदा नम्बर ९० मा दुर्गम क्षेत्रमा जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्दार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउन एयर लिफ्टिङ्ग कार्यक्रमका लागि रु.४५ लाख विनियोजन गरेको छ ।

बुँदा नम्बर ९३ मा शिशु, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण सुधार कार्यक्रमलाई निरन्तरता दिँदै रु.१३ करोड विनियोजन गरेको छ ।

बुँदा नम्बर ९६ मा स्वास्थ्य स्वयंसेविकालाई प्रदेश मातहतका जिल्ला स्वास्थ्य कार्यालय मार्फत वार्षिक रु.६ हजार प्रोत्साहन भत्ता दिने व्यवस्थालाई निरन्तरता दिएको छ । यसका लागि रु. ३ करोड ६० लाख विनियोजन गरेको छ ।

बुँदा नम्बर १०० मा स्तन क्यान्सर, पाठेघर क्यान्सर लगायत महिलाको प्रजनन अंगको क्यान्सरको उपाचारमा प्रदेश सरकारबाट आर्थिक सहायता प्रदान गर्ने व्यवस्था मिलाएको छ । साथै जिल्ला अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको नि ः शुल्क जाँच गर्ने व्यवस्था मिलाएको छ । महिला तथा १६ वर्ष उमेरका बालबालिकाको क्यान्सरको उपचारमा सहयोग उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिन रु.२ करोड विनियोजन गरेको छ ।

बुदाँ नम्बर १०१ मा बालबालिका र मातृ स्वास्थ्य सेवा सहज र प्रभावकारी रुपबाट उपलब्ध गराउन प्रदेशस्तरमा रहेको मातृशिशु मितेरी अस्पताललाई एकीकृत मातृ तथा बाल अस्पतालको रुपमा स्तरोन्नति गर्ने व्यवस्था मिलाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० बेडको मुटु रोग अस्पतालको सम्भाव्यता अध्ययन र मृगौलाको ट्रान्स प्लान्टका लागि उपकरण खरिद गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।

बुदाँ नम्बर १०४ मा गर्भवति अवस्थामा नियमित स्वास्थ्य जाँचलाई सहज बनाउन र सुरक्षित तवरबाट सुत्केरी गराउने व्यवस्थाका लागि जनसंख्या र आवश्यताका आधारमा प्रदेश भित्रका स्थानीय तहका स्वास्थ्य संस्थालाई प्रसुती केन्द्रको रुपमा विकास गर्न रु. २ करोड विनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस्