कालीकोट । ‘मजदुरी गरेर दिनहुँ ४ सय रुपैयाँ कमाउँथें तर अढाई सय त रक्सीमै सकिन्थ्यो । घर आउँदा श्रीमतीले अरू पैसा खोइ भन्दा झगडा पथ्र्यो । म नसामा हुन्थें,’ रास्कोटका ददी सार्कीले अनुभव सुनाउँदै भने, ‘दुई महिनादेखि रक्सी खान छाडेको छु । गोजीमा मात्रै होइन श्रीमान् श्रीमतीबीच प्रेम पनि गाढा ।’
जिल्ला सदरमुकाम मान्मबाट झन्डै ९ कोसको दुरीमा रहेको रास्कोट नगरपालिकाको दलित बस्तीमा दमाई, सार्की र लुवार समुदायका ४३ घरधुरी छन् । प्रायः घरमा घरेलु रक्सी उत्पादन हुन्थ्यो ।
मदिरा बिक्री वितरणमा प्रतिबन्ध गर्ने नगरपालिकाको निर्यणअनुसार, त्यो गाउँमा अहिले मधिरा भेटिनै छाडेको छ । आमा समूह गठन गरी उनीहरूले रक्सी भट्टी, भाँडाकुडाका साथै पसलमा राखिएका रक्सी नष्ट गरेपछि गाउँमा मदिरा पाइनै छाडेको हो ।
अहिले पनि प्रत्येक साँझ हरेक घरमा पसेर आमा समूहका सदस्यले अनुगमन गर्छन् । कसैले रक्सी पिएको भेटिए नियन्त्रणमा लिई प्रहरी चौकीमा बुझाइदिने गरेको समूह अध्यक्ष असकला सार्की बताउँछिन् । ‘अहिले पनि हामी घर–घरमा पसेर रक्सी छ कि छैन भनेर अनुगमन गर्छौं,’ उनी भन्छिन्, ‘तर, कुनै पनि घरमा रक्सी बनाएको फेला परेको छैनौं ।’ नगरपालिकाले मदिरा किनबेच मुक्त गरेपछि सिपखानाका सबै बस्ती रक्सीमुक्त भएका छन् । रक्सीमुक्त भएपछि सबैभन्दा बढी खुसी गृहिणी महिला छन् । ‘सबैभन्दा बढी खुसी यहाँका महिला भएका छन्,’ उनले भनिन् ।
मदिरा बेचबिखनपछि बाल विवाहसमेत रोकिएको अस्कला बताउँछिन् । ‘रक्सी खान भट्टी र होटलमा गएका बेला लोग्नेहरूले १०–१२ वर्ष उमेरकै छोराछोरीको विवाह छिनेर आइदिन्थे,’ उनी भन्छिन्, ‘छोरी हुर्की भने पोइला जान्छे, इज्जत जान्छ ।’
विश्वनाथ सिम्खडाले लेख्नु भएको यो समाचार हामीले राजधानी दैनिकबाट साभार गरेका हौं ।