राजनीतिक दाउपेचको चेपुवामा सरकारी प्रतिष्ठान,स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा सत्तारुढ दल नेकपाका नेताहरु नै कार्यक्रममा गएन्

२०७६ आश्विन १३, सोमबार ०८:४८ मा प्रकाशित

थुप्रै आलोचना अनि थरिथरि विवादका बीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वार्षिकोत्सव मनाएको छ। प्रतिष्ठानका उपकूलपति संगीता भण्डारीले प्रतिष्ठान परिसरभित्र कर्मचारीहरुसँग वार्षिकोत्सवको तयारी गरिरहेकी थिइन्।

२०७४ साल असोज २९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनका लागि संसदले ऐन पास गरेको थियो।

तर, सरकारले त्यसको एक वर्षपछि २०७५ साल असोज १२ गते मात्रै राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गर्‍यो। सोही दिनलाई प्रतिष्ठानले वार्षिकोत्सवका रुपमा मनाउन थालेको हो।

SPONSORED

उपकुलपति नियुक्तिसँगै भण्डारीको विरोध सुरु भएको थियो। नेपाली कांग्रेस नेतृत्वको सरकार रहेका बेला उनी नियुक्त भएकी थिइन्। छोटो समयमै नयाँ सरकार गठन भएपछि नेकपा निकटहरुले उनको विरोध गर्न थाले।

SPONSORED

SPONSORED

विशेषज्ञ डाक्टरहरुको सुविधासहित चिकित्साशास्त्रको पढाई गर्नका लागि प्रतिष्ठान गठन भएको हो। तर, सुरुवातदेखि नै विभिन्न विरोधहरु खेपिरहेकी भण्डारीले अझै एक वर्षपछि मात्रै पढाई सुरु गर्नेगरी तयारी भएको बताएकी छिन्।

प्रतिष्ठानको प्रथम वार्षिक उत्सवमा सत्तापक्ष नेकपासँगै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुखलगायतका कार्यालयका प्रमुखहरु उपस्थित भएनन्।

कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी हुने भनेर सबैलाई आमन्त्रण गरिए पनि नगर प्रमुख चौधरी प्रथम वार्षिकोत्सव समारोहमा आएनन्।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’ विरोध जुलुसलाई  नेकपाले  समर्थन गर्दै आएको छ। त्यसैले पनि मेयर चौधरी समारोहमा गएनन्।

नगर प्रमुख चौधरी नगएपछि कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य अनिता देवकोटालाई बनाइएको थियो। प्रथम वार्षिकोत्सवमा कांग्रेसका सांसद तथा नेताहरु देखिएका थिए।

प्रतिष्ठानको प्रथम वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले प्रतिष्ठानले एक वर्षको अवधिमा धेरै महत्त्वपूर्ण काम दाबी गरिन्।

श्रोत र साधनको अभावका बीच पनि जनताको स्वास्थ्यका लागि सेवालाई प्रभावकारी बनाउनदेखि प्रतिष्ठानलाई अघि बढाउन पहल गरेको बताएकी थिइन्। उनले प्रतिष्ठानको विकासका लागि सबैको सहयोग लिएर अगाडि बढ्ने समेत बताएकी थिइन्।

प्रतिष्ठानले बिएस्सी नर्सिङ शैक्षिक कार्यक्रम सञ्चालकका लागि पूर्वाधार निर्माण गर्न आवश्यक जग्गा प्राप्तिको काम करिव–करिव सकिएको उल्लेख गर्दै उनले विस्तृत अध्ययन प्रतिवेदन आएपछि कामको थालनी हुने कार्यक्रममा जानकारी गराइन्।

‘प्रतिष्ठानले बिएसी नर्सिङ शैक्षिक कार्यक्रम सञ्चालनकालागि आवश्यक पक्रिया अघि बढाएका छौँ,’ उपकुलपति भण्डारीले भनिन्, ‘त्यसकालागि विश्वविद्यालयका विज्ञहरुलाई बोलाएर छलफल गरेका छौँ।’

उनले प्रतिष्ठानमा उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग गर्दै सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन ध्यान दिएको समेत बताएकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य अनिता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैको साझा सम्पत्ति भएकाले पक्षविपक्षमा कोही जान नहुने बताइन्। प्रतिष्ठानको विकास गर्दै जनतालाई जिल्लामै स्तरीय सेवा दिन सबैले साझा धारणा बनाएर अघि बढ्नु पर्ने बताइन्।

‘प्रतिष्ठान सवैको साझा सम्पति हो, सम्पतिको संरक्षण र विकासका लागि साझा धारणा आवश्यक छ,’ सांसद देवकोटाले भनिन्, ‘त्यसका लागि दलहरुले बेलैमा सोच्न आवश्यक छ।’ उनले प्रतिष्ठानको विकासका लागि बजेट बढाउन सरकारलाई आग्रह गरेकी छिन्।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद राजु खनालले प्रतिष्ठानलाई नीति, नियम र निर्देशिकाको पालना गरेर प्रतिष्ठानलाई गतिशील बनाउन आग्रह गरे।