प्रदेश–५ मा लगानी गर्न चिनियाँ चासो ६ वटा उच्च स्तरीय भेटघाट, २ स्थानीय तहले भगिनी सम्बन्ध कायम गरे

२०७६ भाद्र २०, शुक्रबार १८:०६ मा प्रकाशित

विकाश पराजुली
बुटवल, २० भदौ

प्रदेश–५ मा चीनले लगानीका लागि चासो बढाएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर चिनियाँ टोलीले लगानी प्रति चासो देखाएको हो ।

त्यसका लागि चिनियाँ टोलीले औपचारिक तथा अनौपचारिक भेटघाट तीव्र पारिरहेको छ । लुम्बिनीलाई केन्द्रविन्दु मानेर चीनले सिधा सम्पर्क र लगानीको उचित स्थान ठानेकै कारण प्रदेशमा लगानीका लागि चासो बढाएको हो ।

SPONSORED

चिनियाँ टोलीले यो क्षेत्रलाई भगिनी सम्बन्ध कायम गरेर विभिन्न स्थानीय तहमा उपस्थिति देखाएका छन् । त्यसबाहेक प्रदेश सरकारसँग चिनियाँ टोलीले औपचारिक रुपमा नै ६ वटा उच्चस्तरीय भेटघाट गरिसकेको छ भने प्रदेशस्तरीय रुपमा पनि स्थानीय सरकारसँग भेटघाट एवं विभिन्न सम्झौता एवं अध्ययन भएको छ ।

SPONSORED

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गत असार १६ गतेदेखि २५ गतेसम्म चीनका विभिन्न प्रान्तको भ्रमण गरेका थिए । सोही सिलसिलामा प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको छ ।

SPONSORED

प्रदेश ५ मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार राजदुत, बीआरआई विज्ञ टोली, कान्सु प्रदेशका गर्भनर, मनोरेल अध्ययन टोली, नवलपरासीको स्वाठीमा चिनियाँ लगानीमा बनाउन लागिएको ठूलो औद्योगिक ग्रामको अध्ययन टोली लगायतले मुख्यमन्त्री शंकर पोखरेल तथा प्रदेश ५ सरकारसँग औपचारिक भेटघाट गरेका हुन् ।

प्रान्त स्तरीय रुपमा रुपन्देहीको सैनामैना नगरपालिका, दाङको घोराई उपमहानगरपालिकासँग लगानीका विषयमा सम्झौता गरी भगिनी सम्बन्ध बनाइसकेको छ ।

त्यसैगरी बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, देवदह र लुम्बिनी साँस्कृतिक नगरपालिका लगायतले सम्झौताका लागि तयारी गरिसकेका छन् । यी स्थानीय सरकारसँग समेत चीनका विभिन्न प्रान्तीय सरकारले भगिनी सम्बन्ध कायम गरी आफ्नो सहकार्य बढाउन खोजिरहेका छन् ।

बुद्ध धर्म प्रति चिनियाँको अगाथ आस्था रहकोले बुद्धको प्राचीन सभ्यताका विषय जानकारी हुने चिनियाँहरुको उद्देश्यले भएकाले पनि लुम्बिनीलाई केन्द्रमा राखेर चिनियाँ टोलीले लगानीका लागि चासो देखाएको हुन सक्ने चिनियाँ संस्कृतिको अध्ययान गरेका डाक्टर सागर न्यौपानेले बताए ।

गत भदौ १२ गते मात्र चीनको गान्सु प्रान्त जनसरकारद्धारा आयोजित चौथो सिल्करोड अन्तर्राष्ट्रिय सांस्कृतिक प्रदर्शनी तथा ९ औं दुन्हुवाङ्ग सिल्करोड अन्तर्राष्ट्रिय पर्यटन महोत्सव समापन कार्यक्रममा सहभागी भएर प्रदेश सरकारको तर्फबाट प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीको नेतृत्वमा चार जना प्रदेशसभा सदस्यहरु सहित ९ सदस्यीय टोली त्यहाँ पुगेर फर्केको छ ।

के भन्छन् भगिनी सम्बन्ध कायम गरेका स्थानीय तह ?

प्रदेश ५ का दुई स्थानीय तहले चीनसँग भगिनी सम्बन्ध कायम गरेका छन् । दाङको घोराई उपमहानगरपालिका र रुपन्देहीको सैनामैना नगरपालिकाले भगिनी सम्बन्ध कायम गरेका हुन् ।

भगिनी सम्बन्ध कायमपछि दुवै स्थानीय तहले चीनको लगानी भित्र्याउने योजनामा छन् । घोराई उपमहानगरपालिकाका प्रवक्ता भरत अर्याल भगिनी सम्बन्ध दुवै स्थानीय तहबीच परस्पर हित र सहयोगका लागि गरेको बताए ।

‘हामी चिनियाँ टोलीसँग छलफल गर्दा उहाँहरुले शिक्षा, कृषि र बातावरण क्षेत्रमा चासो देखाउनुभएको छ । उहाँहरुलाई उपयुक्त हुने योजना हामीले दियौ भनेपनि लगानी आउन सक्छ,’ उनले भने ।

उनले घोराई उपमहानगरपालिकाले गरेका राम्रा कार्यहरुलाई चिनियाँ टोलीले अनुसरण गर्ने र त्यहाँ उसले गरेका उत्कृष्ट कार्यलाई आफूहरुले अनुसरण गर्ने माध्यम पनि भगिनी सम्बन्ध रहेको बताए ।

‘हामीले संघीय सरकारसँग कुटनीतिक मर्यादा सम्बन्धि छलफल गरेपनि उहाँहरुलाई यहाँ बोलाउने योजना छ,’ उनले भने, ‘उहाँहरु आएपछि थप लगानीका सम्भावनाका बारेमा कुराकानी हुनेछ ।’

यो उपमहानगरपालिकाले चीनको सिनुवान प्रान्त एन सिटी नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको हो । नगरपालिकाको जनसंख्या १५ लाख ७ हजार २ सय ६४ र क्षेत्रफल १५ हजार २ सय २८ बर्ग कि.मी रहेको छ ।

त्यसैगरी सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले चीन संगको भगिनी सम्झौतापछि नगरपालिकामा लगानी भित्रन सक्ने र उत्कृष्ट कार्यहरुको आदान प्रदान हुने सक्ने बताए ।

उनले भने, ‘चिनियाँ टोलीलाई यदि योजना उपयुक्त लाग्यो भने लगानी गर्न सक्छ, त्यति मात्र हैन अझ सांस्कृतिक र पर्यटकिय क्षेत्रमा अनुदानमा पनि काम गर्न सक्छ ।’

उनले चीनका निजी कम्पनी, सामूहिक र सरकारी कम्पनीहरुले लगानीका लागि ईच्छा देखाएको बताए ।