‘प्रेस स्वतन्त्रता विरोधि हर्कत सरकारवाट भए महासंघको पद छोडेर आन्दोलन छेड्छौ’–महासंघ अध्यक्ष गोविन्द आचार्य

२०७६ श्रावण २५, शनिबार २०:५६ मा प्रकाशित

महासङ्घको प्रदेशस्तरीय घोषणापत्र पारित

घोराही, २५ साउन । नेपाल पत्रकार महासङ्घको आज यहाँ सम्पन्न दुई दिने प्रदेशस्तरीय कार्याशाला गोष्ठीले ११ बुँदे घोषणापत्र जारी गरेको छ । महासङ्घका प्रदेश नं ५ का १२ जिल्लाका अध्यक्ष र केन्द्रीय पदाधिकारी सहभागी उक्त कार्यक्रममा पत्रकार र पत्रकारितासँग जोडिएको ११ बुँदे घोषणापत्र सर्वसम्मतले पारित गरेको हो ।

महासङ्घले दिएको जानकारीअनुसार घोषणापत्रमा पत्रकार आचारसंहिताप्रति प्रतिबद्ध रहन सबै पत्रकारलाई आग्रह गर्दै स्वनियममा रहन र पत्रकारितालाई मर्या्दित र व्यावसायिक बनाउन सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरिएको छ । पत्रकारिता नगरेकाहरुले स्वघोषणा गरी महासङ्घको सदस्यता त्यागी शुद्धीकरण अभियानमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।

SPONSORED

प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र सूचनाको हक लागू गर्ने सवालमा सबै पक्ष प्रतिबद्ध हुन, सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयकका कतिपय बुँदामा महासङ्घसँग भएको सहमतिअनुसार परिमार्जन गर्न सरकारसँग भेलाले आग्रह गरेको छ ।
स्थानीय र साना लगानीका सञ्चारमाध्यमलाई संरक्षण र संवद्र्धनका लागि भेलाले समानुपातिक विज्ञापन नीति लागू गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

SPONSORED

यस्तै रेडियो नेपालले दाङबाट प्रदेशस्तरीय प्रसारण र नेपाल टेलिभिजनले बाँकेबाट प्रदेशस्तरीय प्रसारण शुरु गरेकामा प्रशंसा गर्दै गोरखापत्र, सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) तथा अन्य सञ्चारमाध्यमलाई पनि प्रादेशिक सेवा शुरु गर्न भेलाले आग्रह गरेको छ ।

SPONSORED

पत्रपत्रिका वर्गीकरण, पत्रकार परिचयपत्र वितरण, पत्रकारहरुको क्षमता वृद्धिका लागि प्रादेशिकस्तरमा आमसञ्चार प्रतिष्ठान अविलम्ब गठन गर्न पनि आग्रह गरेको छ ।

लोकतन्त्रबिना प्रेस स्वतन्त्र हुन सक्दैन ः अध्यक्ष आचार्य

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्रबिना प्रेस स्वतन्त्रता नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घले दाङको घोराहीमा आयोजना गरेको ‘पत्रकार महासङ्घको वर्तमान भूमिका र अबको कार्य्दिशा’ विषयक प्रदेश नं ५ स्तरीय कार्यक्रममा उहाँले नेपालको इतिहासमा लोकतन्त्रको लागि आवाज उठाउने सबैभन्दा पुरानो संस्था नेपाल पत्रकार महासङ्घ भएको हुँदा आफूहरु अझै पनि लोकतन्त्रका लागि लडिरहने बताउनुभयो । उहाँले पत्रकारहरुको संस्थाले नेपालको लोकतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको पनि जिकिर गर्नुभयो ।

अध्यक्ष आचार्यले नेपालमा जुनसुकै पार्टीको सरकार आए पनि पहिलो निसाना पत्रकार पर्ने गरेको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय हितविपरीत, राष्ट्रियताविरुद्ध, सार्वभौमसत्ताविरुद्ध, पत्रकार आचारसंहिता उल्लङ्घन गरेर लेख्नेलाई अब जिल्लाले नै कारवाही गर्ने व्यवस्था गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । यस्तै महिला, वृद्धवृद्धा, बालबालिकाको संवेदनशीलताविरुद्ध लेख्नेलाई पनि कारवाही गरिने उहाँको भनाइ छ ।

कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले अब हरेक मिडियाले आचारसंहिता बनाउनुपर्ने र मिडियाको आचारसंहिता हेर्नका लागि बाहिरको मान्छेलाई राख्नुपर्ने अवस्था आएको सुनाउनुभयो ।

यस्तै कार्याशाला गोष्ठीमा सहभागी प्रदेश नं ५ का १२ जिल्लाबाट सहभागी पत्रकार नेताहरुले अब जिल्लामा पत्रकार महासङ्घको सदस्यता वितरणमा कठोर नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँहरुले पत्रकारलाई निरन्तर क्षमता विकास, विषयगत तालीम, महिला पत्रकारको क्षमता विकासमा पनि केन्द्रले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । पत्रकार महासघका अध्यक्ष आचार्यले भन्नुभयो–जुन सुकै दलको सरकार भएपनि प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छौ, भोलिका दिनमा राजनितिक आस्थाकै आधारमा अप्ठ्यारो पर्ने स्थिती आए प्रेस स्वतन्त्रता पक्षमा लड्दै पत्रकार महासघको पद छोड्न तयार छौ, अहिले आन्दोलन स्थगित भएको हो, माग पुरा नभए आन्दोलन गर्छौ ।