असार १५ः अभावमा किसान

२०७६ असार १५, आईतवार ११:५४ मा प्रकाशित

          सपना बोहरा

epradeshtoday

घोराही । असार १५ सरदर यो मितिसम्म किसानहरुमा खेतीपातीको चटारो बढी हुनुपर्ने हो । त्यसमा पनि आजको धान दिवस किसानको तयारी पनि त्यस्तै हुनुपर्ने । तर दाङका किसानहरु अभावै–अभावमा रहेका छन् ।

SPONSORED

पर्याप्त रुपमा मल, सिंचाई र बीउ उपलब्ध नहुँदा किसानहरु अभावको अवस्थामा छन् । सरकारका हरेक नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिन्छ ।

SPONSORED

कृषकलाई अनुदान, सर्वसुलभ मल तथा बीउबिजन लगायतका कार्यक्रमहरु परेकै हुन्छन् तर ती व्यवहारमा देखिएका छैनन् । त्यसको प्रत्यक्ष असर किसानले भोग्दै आएका छन् ।

SPONSORED

कृषकहरुको समस्या भने जस्ताको तस्तै छ । दाङमा ३० प्रतिशत खेतीयोग्य जमिनमात्रै सिंचाई हुने गर्छ । बाँकी अन्य खेती योग्य जमिनमा आकासे पानीमा निर्भर छ ।

स्थानीय सरकारले गाउँ–सहर जोड्ने सडक सञ्जालहरुलाई प्राथमिकतामा राख्ने गरेको छ । त्यति नै कृषिलाई पनि प्राथमिकतामा राख्नुपर्ने हो तर त्यसो भएको छैन् । किसानहरुको लागि विभिन्न शीर्षकमा अनुदान दिईन्छ ।

तर किसानहरुको लागि अति आवश्यक पर्ने मल, उन्नत जातका बीउबिजन, सिंचाईको बारेमा प्रभावकारी योजना बनाउन सकिरहेको छैन् । आधुनिक पद्धतिबाट कृषिको विकास गर्ने धेरै नै योजनाहरु सार्वजनिक कार्यक्रममा सुनाईन्छ । तर त्यो लागू भएको छैन् । वर्षेनी किसानहरुले मल नपाएर सास्ती भोग्दै आएका छन् ।

यो वर्ष पनि किसानहरुले मल पाएका छैनन् । असारे विकास र खेतीपाती एकैपटक शुरु हुने भएकाले पनि स्थानीय सरकारलाई कृषकहरुलाई मल पु¥याउने भन्दा पनि विकास बजेट खर्च गर्न भ्याई नभ्याई छ ।

तर किसानहरुलाई असारे विकासभन्दा असारे खेतीपातीले चिन्तित बनाएको छ । मुख्य बाली धान खेतीको लागि उपयुक्त सिजन हो । तर त्यसकोे लागि आवश्यक पर्ने महत्वपूर्ण मल नै पाएका छैनन् ।

जसको कारण किसानहरुले धान खेतीको लागि व्याड राख्न पाएका छैनन् । सरकारले किसानहरुको लागि समयमै मल पु¥याउन सकेको छ न त सिंचाई नै ।

सरकारले करोडौको बजेट छुट्याएर भौतिक निर्माण, सडकमा लगानी गर्न सक्छ तर मुख्यदाता किसानहरुले लागि एउटा राम्रो सिचाईको व्यवस्था गर्न सकिरहेको छैन र त्यो योजनामा पनि पर्न सकेको छैन् ।

सरकारले चाहेमा खेतीयोग्य जमिनमा सिंचाईको लागि लिफ्टिङ, पानी बोरिङको व्यवस्था गर्नुपर्ने भएपनि त्यसतर्फ ध्यान नगएको किसानको आरोप छ ।

‘धानको बीउ राख्नको लागि तयारी अवस्थामा छ’ किसान धनबहादुर थारुले भने ‘मल नै छैन् ।’ उनलाई युरिया र डिएपी गरेर १५ बोरा मल आवश्यक पर्छ । तर उनले हालसम्म एक बोरा पनि मल पाएका छैनन् ।

कृषकलाई अनुदान, सर्वसुलभ मल तथा बीउबिजनलगायतका कार्यक्रमहरु परेकै हुन्छन् तर ती व्यवहारमा देखिएका छैनन् ।

‘आकासे पानीको भरमा धान खेती गर्ने हो’ उनले भने ‘त्यही मौकामा धानको बीउ रोप्ने हो, तर मल नै छैन् ।’ ‘बाह्रैमास पानी भए त ढिलो चाँडो मल आए पनि केही हुने थिएन्’ उनले निरास हुँदै भने ‘सरकारले गाउँमा करोडौका फनपार्क बन्छन् तर एउटा ठूलो सिंचाई आयोजना बनाउन सक्दैन् ।’

जुन सरकार आए पनि किसानहरुलाई मल पु¥याउन सकिरहेको छैन, सरकारको पोलिसी त्यस्तै होकी ? किसानहरु उस्तै भयौ केही बुझ्न सकिरहेको छैन्’ घोराही उपमहानगरपालिका–४ गोग्लीका खुशल घिमिरेले आक्रोसित हुँदै भने

सरकारले किसानहरुलाई अनुदानको मल उपलब्ध गराउन नसक्दा गैर अनुदानको मल किन्न बाध्य भएको समेत बताए । ‘किसानहरुको लागि मल छैन, उन्नत जातको बीउबिजन उपलब्ध छैन, न त मल नै पु¥याउन सकेको छ’ उनले भने ‘जुन सरकार आएपनि किसानहरुको लागि समय मै मल पु¥याउन सकिरहेको छैन् ।’

समय मै पानी नपरेर धेरैले धुले बीउ राखेको हुँदा आकासे भरको पानीमा धानको बीउ रोप्ने तयारी गरिरहेको हुँदा समय मल नपाएमा उत्पादन घट्ने चिन्तामा रहेको उनले बताए । उनलाई डिएपी र युरिया गरेर २० बोरा बल आवश्यक पर्छ ।

त्यस्तै मसिनाका महेश चौधरी अनुदान मल आउँछ भने पर्खेर बसे । केही मात्रामा मल आएपनि उनले पाएनन् । अन्तमा उनले महंगो पैसा तिरेर गैर अनुदान मल किनेर धानको बीउ रोप्ने तयारीमा छन् । ‘यतिका दिनसम्म सरकारले मल ल्याउँछ कि भनेर आश गरियो’ उनले निरास हँुदै भने ‘खेतीपाती शुरु हुने समयमा पनि मल नआएपछि गैर अनुदानको मल किनेर लग्न बाध्य भइयो ।’

यतिबेला किसान र सरकारलाई असार लागेको छ । दुबै चिन्तित, व्यस्त अनि भ्याई नभ्याई छन् । सरकारलाई असारे विकासको चटारो छ भने किसानलाई असारे खेतीको चटारो परेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले जिल्लामा पचास प्रतिशतले धानको ब्याड राखेको बताउँछन् । बाह्रमास पानी पर्ने ठाउँमा धानको बीउ रोप्ने तयारी गरिरहेको उनले बताए ।

प्रदेश टुडेवाट ।