दाङ,
८-असार /लमही नगरपालिका–३ टिकुलीगढका गोपालप्रसाद नगरकोटीले दुई कोठे घरसहित १६.७८ धुर जग्गा बिक्री गरे । २०७५ कात्तिक १९ गते माधव भुसाललाई जग्गा बिक्री गरेका गोपालले माधवसँग ५ लाख रुपैयाँ ऋण लिएको र सोही ऋण कटाउन जग्गा बिक्री गरेको बताएका छन् ।

किनबेचका क्रममा गरिएको कागजमा भनिएको छ, ‘पाँच लाख रुपैयाँ घरखर्च भनी लिएको ठीक साँचो हो, यो रुपैयाँबापत मैले भोगचलन गर्दै आएको जग्गा तपाईं साहुले भोगलचन गरिखानू ।’

SPONSORED

यही बिक्रेता र खरिदकर्ताबीच भएको यही कागजलाई ‘पुर्जा’ मान्दै गोपालले सो सम्पत्तिमा कुनै हकदाबी नगर्ने प्रतिबद्धतासमेत जनाएका छन् । यो जग्गाको पुर्जा भनेकै यही दुई पक्षबीच गरिएको सहमतिको कागज हो । त्यसबाहेक जग्गा किनबेच भएको आधिकारिकता अरू केही छैन । कारण, सो जग्गा स्वर्गद्वारी आश्रमको गुठी जग्गा हो । ‘कागजमा सहीछाप गरेर बेचिएको यो जग्गा आश्रमको गुठी जमिन हो,’ आश्रम स्रोतले भन्यो ।

SPONSORED

  २०६२ मा सर्वोच्चले आश्रमको जग्गा खण्डीकरण गरी बिक्री गर्न नपाउने फैसला गरिदियो । यो फैसलाले आश्रमको जग्गा बिक्री गर्न दिँदैन । तर जग्गा किनबेच भएको कागज घरमै तयार पारियो । कानुनले बिक्री गर्न बन्देज लगाएको जग्गा यही सामान्य कागजका आधारमा बिक्री भयो । ‘त्यो जग्गा आश्रमको गुठी जग्गा हो, आश्रमको जग्गा किनबेचमा यसरी मनपरी चलेको छ,’ आश्रमका एक सदस्यले भने, ‘गोप्य रूपमा लिखित कागज गरेर जग्गा किनबेच गर्न कति सजिलो भएको छ ।’

SPONSORED

सर्वोच्चको फैसलालाई समेत नटेरेर जग्गा बिक्री हुने गरेको बलियो प्रमाण हो यो । मूलतः गुठीको जमिन लेनदेनसँग जोडेर बिक्री गर्ने गरेको पाइएको हुन्छ । ऋणी र साहुबीचको पुरानो लेनदेन देखाएर सो ऋण पूर्ति गर्न आफूले उपभोग गर्दै आएको जग्गा दिलाउने प्रवृत्ति जिल्लामा निकै छ । लमही–६ मजगाउँका मनोजकुमार चौधरीले पनि गुठीको जग्गा बिक्री गर्न उस्तै बठ्याइँ गरे । उनले पनि ५ लाख रुपैयाँ ऋण लिएको कारण देखाउँदै ऋण पूर्तिका लागि लमही–५ टिकुलीगढकी जयलक्ष्मी नगरकोटीलाई १६.७८ धुर जग्गा बिक्री गरे । ‘ऋणी म मनोजकुमार चौधरीले साहु जयलक्ष्मी नगरकोटीबाटरघर खर्चका लागि ५ लाख रुपैयाँ लिएको साँचो हो,’ मनोजकुमारले सहीछाप गरेको कागजमा उल्लेख छ, ‘यो जग्गामा मेरो कुनै हकदाबी रहनेछैन ।’ कागजमा उल्लेख भएअनुसार मनोजले जयलक्ष्मीलाई २०७३ माघ ९ गते सो जग्गा बिक्री गरेको हो ।

स्वर्गद्वारी आश्रमको दाङमा रहेको १ हजार ५० बिघा गुठी जमिनको आयस्ता आश्रमले २०४८ सालसम्म पाउँदै आयो । किसानहरूले जग्गाको उब्जनी आश्रमलाई बुझाउँदै आएका थिए । तर २०४८ यता गुठी जमिनको आयस्ता आश्रमले पाउन छाडेको छ । यति मात्रै होइन, तत्कालीन माओवादी युद्ध सुरु भएपछि आश्रमको जग्गा किनबेचको मनपरी चल्न थाल्यो । त्यतिबेलादेखि सुरु भएको आश्रमको जग्गा किनबेचको शृंखला अहिलेसम्म चलिरहेकै छ । ‘माओवादी युद्धकालभन्दा अगाडि आश्रमको जग्गाको व्यवस्थापन राम्रो तरिकाले भइरहेको थियो,’ आश्रमका सदस्य ध्रुव श्री भन्छन्, ‘तर द्वन्द्वयता आश्रमको जग्गा गायबै हुन थाल्यो ।’ पछिल्लो समय आश्रमको जग्गा पास गरिदिने भन्ने चुनावी नाराले जग्गा खरिदबिक्रीमा झनै बल पुगेको छ ।

किनबेच भएको जग्गाको यकिन परिमाण भने कहींकतै छैन । किसान र खरिदकर्ताले आपसि सहमतिको कागज गराएर जमिन बिक्री गर्ने गरेकाले यो गोप्य हुने गर्छ । सोही गोप्य सहमतिका आधारमा खरिद हुने जमिनमा अहिले ठूल्ठूला भवन ठडिएका छन् । ‘सबैभन्दा बढी देउखुरीको अर्नहवामा आश्रमको जमिन किनबेच भएको छ,’ आश्रमका धु्रव श्री भन्छन्, ‘किसानबाट आपसी सहमतिमा खरिद गरिएको जमिनमा ठूल्ठूला घर ठडिएका छन् ।’ अर्नहवामा आश्रमको कुल जमिन ४८ बिघा हो । सोमध्ये आठ बिघा जमिनमा पूर्व–पश्चिम राजमार्ग बनेको छ भने बाँकी ४० बिघा जमिनमध्ये अधिकांश जमिन बिक्री भइसकेको आश्रमका ध्रुव श्री बताउँछन् ।

आपसी सहमतीमा जग्गा किनबेच भइरहेको थाहा पाउँदा समेत आश्रम भने निरीह बन्नुपरेको छ । किनबेच रोक्न आश्रमले जति नै पहल गरे पनि सम्भवै हुन्न । यहाँसम्म कि आश्रमले आफूले उपभोग गर्न खोजेको जग्गासमेत बिक्री भइसकेको हुन्छ । आश्रमले अर्नहवा गाउँमा आफ्नो जमिनमा आश्रमको सामाजिक भवन निर्माण गर्ने योजना बनायो । भवन निर्माणका लागि आश्रमका प्रतिनिधिहरू गाउँमा पुगे । तर सो जग्गा बिक्री भइसकेको रहेछ । स्थानीय एक महिलाले सो जमिन बिक्री गरेको भन्दै आश्रमका ध्रुव श्रीले सो जमिन छाड्न खरिदकर्तालाई भने । तर बिक्री गर्ने र खरिद गर्ने दुवैले अडान छाडेनन् । अन्ततः आश्रमको केही जोर चलेन । अन्ततः जमिन खरिदकर्ताले भवन ठड्याइछोडे । आश्रमका ध्रुव श्री भन्छन्, ‘आश्रमको जग्गामा भवन ठड्याउन थालिएका ठाउँमा गएर रोक्न खोज्दा स्थानीयहरू हामीमाथि खनिन्छन्, हामीले मात्रै चाहेर जग्गा किनबेच रोक्न सक्ने अवस्थै रहेन ।’ आश्रमले अर्नहवामा आश्रमको जग्गा खरिद गरेर भवन निर्माण गर्न थालेका पाँचजनाविरुद्ध अदालतमा मुद्दा हालेको छ । दुईजनाविरुद्ध चार वर्ष अगाडि र तीनजनाविरुद्ध गत माघमा मुद्दा हालेको आश्रमले जनाएको छ । तथापि उक्त जमिनमा भवनहरू भने बनिसकेका छन् । ‘आश्रमको जमिनमा भवन नबनाउनुस् भनेर भन्दा मानेनन् अनि अदालतमा मुद्दा हाल्यौं,’ आश्रमका सदस्य ध्रुव श्री भन्छन्, ‘मुद्दा चलिरहेको छ तर घर पनि ढलान भइसके ।’

घोराही–२ रामपुरका मोही किसान जयन्द्रप्रसाद चौधरीले गुठी जग्गा बिक्री वितरण भइरहेको आफ्नै गाउँमा देखेका छन् । तर यसलाई उनले गलत मान्छन् । ‘कानुनअनुसार आफ्नो नाममा पास भएपछि जग्गा बिक्री गरे पनि जे गरे पनि भयो,’ उनले भने, ‘हाम्रो गाउँमा पनि आपसी कागजमा सही छाप गरेर जग्गा किनबेच भएको छ, यो गलत हो ।’ सुरुमा किसानहरूले बिक्री गरेको आश्रमको जग्गा अहिले महँगो घडेरीका रूपमा बिक्री भइरहेका छन् । जग्गा कारोबारीहरूले विभिन्न स्थानको जमिन किसानहरूसँग खरिद गरेको र पछि त्यसलाई खण्डीकरण गरेर घडेरीका रूपमा महँगोमा बिक्री गर्ने गरेको आश्रम बताउँछ ।

सुरुमा गुठी किसानहरूले बिक्री गरेको र त्यो जमिन १० पटकसम्म बिक्री भइसकेको देउखुरीका थारू नेता योगेन्द्र चौधरीले बताए । देउखुरीको अर्नहवामा किनबेच भएको जमिनबारे कांग्रेस नेता तथा पूर्वसांसद चौधरीले भने, ‘सुरुमा किसानले बिक्री गरे, त्यो जमिन क्रमशः बिक्री हुँदै १० जना सम्म पुगेको छ ।’ उनले जग्गामा देखिएको यो बिक्री शृंखलाले मोही जग्गाको उपभोगकर्ताका रूपमा किसान नभई हुनेखाने वर्गका छन् । ‘यस्तो अवस्थामा सरकारले ल्याउन खोजेको विधेयकको फाईदा किसानलाई हुने कि हुनेखाने वर्ग वा भूमाफियााई ?’ उनले भने, ‘सबैभन्दा पहिला गुठी जमिनमा मोही किसान मात्रै छन् भन्ने भ्रम तोड्नुपर्छ ।’ गुठीको जमिन बिक्री गरिएको सहमतिको कागज । तथा देउखुरीस्थित आश्रमको जग्गा खरिद गरेर बन्दै गरेको एक घर ।
स्रोत : देबेन्द्र बस्नेत / नागरिक दैनिक