सरकारी खाका अनुसार दाङ राजधानीका लागि प्रस्ताव

२०७४ पुष १८, मंगलवार १६:३० मा प्रकाशित

घोराही, १८ पुस ।
सरकारले प्रदेश राजधानीका लागि अस्थायी मुकाम तोक्नका लागि खाका तयार पारेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्री परिषद् कार्यालयका प्रबक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा अस्थायी मुकामको खाका तयार पारेको जानकारी दिनुभएको छ ।
खाका अनुसार प्रदेश नम्बर ५ को अस्थायी मुकाम दाङ राख्ने प्रस्ताव गरिएको छ । त्यसैगरी प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ३ को भक्तपुरको ठिमी, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को धनगढी अस्थायी मुकाम तोक्ने गरी खाका तयार पारिएको जनाइएको छ । शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि सात प्रदेशका लागि सात स्थानलाई तोक्ने तयारी गरेको जनाएको छ । मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकामको प्रस्ताव गरेको हो । स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुन्छ भनेर पठाएपछि हामीले खाका तयार पारेका हौ मन्त्री परिषद् कार्यालयका प्रवक्ता पन्थीले भन्नुभयो, ‘अब आवश्यक अध्ययनपछि मन्त्री परिषद्को बैठकले प्रस्ताविक मुकामलाई तोक्ने छ । भौतिक पूर्बाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले ती अस्थायी सरकारमुकाम प्रस्ताव गरिएको जनाइएको छ ।

SPONSORED