पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष केवि मसाल भन्छन्–एउटै व्यक्ति एकै पटक पत्रकार र प्रेस सल्लाहकार हुनु हुँदैन, किन ?

२०७६ असार २३, सोमबार १७:२७ मा प्रकाशित

कुनै पत्रकार वा सञ्चारकर्मी आफ्नो दक्षता र क्षमताले गर्न सकिने कुनै पनि पेसा रोज्न वा त्यसमा संलग्न हुन स्वतन्त्र छ । यो उसको संवैधानिक अधिकार हो । तर, त्यस्तो पेसा रोज्दा पत्रकारितामा पनि संलग्न भइरहन खोजियो भने पत्रकारिताका पेसागत मूल्यमान्यताहरुमा आघात पुग्छ । उदाहरणका लागि कुनै व्यावसायिक पत्रकार ठूलो व्यापारिक प्रतिष्ठान वा राजनीतिक संस्थामा प्रेस सल्लाहकार हुँदा दुवैतर्फ स्वार्थ बाझिन्छ । व्यापारिक प्रतिष्ठानमा सल्लाहकार रहेको व्यक्तिले त्यस व्यापारिक संस्थाको हितलाई प्रवद्र्धन गर्ने दायित्व लिएको हुन्छ । उसको काम त्यहाँका कमजोरीहरुलाई सार्वजनिक हुनबाट रोक्नु र सकारात्मक पक्षलाई जोड दिएर प्रचारबाजी गर्नु हो । तर पत्रकारको रुपमा उसको दायित्व भनेको कमजोरीहरुको पर्दाफास गर्नु र उक्त संस्थालाई कानुनी दायरामा ल्याउनु र राज्यप्रति उत्तरदायी बनाउनु हो । व्यापारिक प्रतिष्ठानबाट प्राप्त हुने नियमित तलब र सेवा सुविधाका कारणले प्रेस सल्लाहकार रहेको व्यक्ति पत्रकारका रुपमा निरीह भइसक्छ । ऊ व्यापारिक प्रतिष्ठानको हिस्सेदार भइसकेको हुन्छ । उसले सञ्चारमाध्यममा प्रकाशन हुन लागेका आलोचनात्मक समाचारहरुलाई रोक्न प्रत्यक्ष वा परोक्ष रुपमा लबी गर्नथाल्छ । अर्थात् ऊ एउटा स्वतन्त्र पत्रकारले गर्नुपर्ने दायित्वको ठीक विपरित कोणबाट प्रस्तुत हुन्छ ।
विभिन्न संस्थाले राम्रा पत्रकारलाई अदृश्य प्रेस सल्लाहकार बनाएर आफ्ना अजेन्डाहरुतर्फ नेपाली प्रेसलाई प्रयोग गर्ने गरेको कुरा धेरैलाई अवगत भएकै विषय हो । उनीहरु आफ्नो व्यक्तिगत वा संस्थागत कमजोरीहरु लुकाउन र आलोचनात्मक चेत र क्षमता भएका राम्रा पत्रकारहरुलाई प्रेस सल्लाहकारको अदृश्य भूमिका दिएर निस्तेज राख्न चाहन्छन् । कुनै संस्थामा प्रवक्ता, सञ्चार सल्लाहकार, प्रेस संयोजक जस्ता (तलब र अन्य सेवासुविधासहित) पदमा नियुक्त भएको अवस्थामा के पत्रकारले पेसागत भूमिका निरपेक्ष रुपमा निर्वाह गर्न सक्छ ? अवश्य सक्दैन किनभने उसको प्राथमिक दायित्व आफू आबद्ध संस्थाको हितलाई प्राथमिकतामा राख्नु हो । राजनीतिक वा व्यापारिक उद्देश्य भएका खास संस्थाहरुसँग पत्रकारको संलग्नताले प्रेस स्वतन्त्रता वा सम्पादकीय स्वतन्त्रताको दायरालाई संकूचित पारिदिन्छ । यदि कुनै पत्रकार पेसागत मूल्यमान्यताप्रति सम्झौता नगर्ने, पत्रकारिताप्रति प्रतिबद्ध र आफूसंलग्न संस्थाका कमिकमजोरीलाई समेत पर्दाफास गर्ने स्वभावको रहेछ र उ कुनै संस्थाको प्रेस सल्लाहकार समेत रहेछ भने प्रेस सल्लाहकार राख्ने व्यक्ति वा संस्थालाई समेत बेफाइदा हुन्छ ।
पदीय हैसियत सल्लाहकारको भए पनि धेरैजसोले व्यक्तिगत वा संस्थागत स्वार्थ विपरितका सूचनाहरुको नियन्त्रणका लागि पत्रकारलाई प्रयोग गर्दछन् । अर्थात् सञ्चारमाध्यममा आउनसक्ने आलोचनाहरुलाई रोक्ने नियतले प्रेस सल्लाहकार पदहरु सिर्जना हुँदै गएका छन् । यसले प्रेस अर्थात् चौथो अंगको आलोचनात्मक क्षमतालाई निस्तेज पार्दै लगेको छ ।

SPONSORED