के गाउँहरु ‘स्मार्ट’ बन्न सक्दैनन् ?

२०७६ जेष्ठ २३, बिहीबार १२:४५ मा प्रकाशित

घनश्याम अस्तित्व
चुनावहरु आउँछन् । सहरका नामहरु निकै जपिन्छन् । पछिल्लो पटक सम्पन्न प्रतिनिधी, प्रदेस शभा र स्थानीय तहका चुनावहरुमा पनि सहरहरु खुब जपिए । सबै सहरहरुले आफ्नो नाम अगाडी धेरै बिशेषणहरु थप्न पाए । सुन्दरता थप्न प्रयोग गरिने जानेभरका विशेषणहरु बोले नेताहरु । जस्तो कि स्मार्ट, नमूना, हरित, नम्बर वन, बिश्वकै सुन्दर या वा उस्तै यस्तै यस्तै ।
चुनाव खेल हो भने यस्तो खेल हो जहाँ सबै भन्दा बढि फँट्याइ गर्नेको विजय हुन्छ । चुनाव यस्तो पनि हो कि सबै भन्दा धेरै झुट बोल्नेको जित हुन्छ । सबै भन्दा बढि प्रोपागाण्डा जसले रच्न सक्छ उसले जित्छ चुनाव ।यस्तो हो कि होइन फरक कुरा तर नेपाली राजनीतिको अभ्यासले हामीलाई यही पाठ पढाएको छ । यही कुरा सिकाएको छ ।
संबिधान घोषणा पश्चात सम्पन्न नेपालका चुनावहरुमा झुट बोल्न सबै भन्दा बढि प्रयोग गरिएको पदावली ‘स्मार्ट सिटी’हुनुपर्छ । हो पनि ।तर सहरहरुको क्रुर यात्राको शृङ्खला निरन्तर छ । न त देखिन्छ पूर्ण बिराम न त देखिन्छ अल्प बिराम । पहिले हरेक संरचना सिध्याउने पछि निर्माणलाई चुनावको एजेण्डा बनाउने ।यो श्रृङ्खला कहिले सम्म निरन्तर रहिरहला ?
यो देशमा देशलाई गाउँहरुले बोकिरहेका छन् । गाउँहरुको अभावको ऐनामा सहरको सम्पन्नता मुश्कुराउँछ । गाउँहरुले हरियो रङको खेति गरिरहेका छन् र, सहरका आँखाहरु उज्याला देखिन्छन् । अँँध्यारोमा पनि मुश्कुराएको देखिन्छ सहर । गाउँहरुले पसिनाको नदी बगाइदिन्छन् र, सहरहरु चम्किन्छन् । गाउँहरुले चारो जम्मा गरेर सहरहरुमा पठाउँछन् र, सहरहरु बाँचेका छन् ।
गाउँमा दुःख छ, सबैको मनमा यही छ । गाउँमा अभाव छ, सबैले जानेका छन् । जानेका छैनन्, गाउँमा जीवन पनि छ । हरेक झुटहरुको खेती हुने चुनावहरुमा गाउँहरुरले जाबो एउटा झुट पनि सुन्न पाएनन् । कोही नेताहरु बोलनन्, अब यो गाउँलाई ‘स्मार्ट भिलेज’ बनाउनुपर्छ, अब त्यो गाउँलाई ‘स्मार्ट भिलेज’ बनाउनुपर्छ । के गाउँहरु ‘स्मार्ट’ बन्न सक्दैनन् ? यति झुट पनि सुन्न पाएनन् गाउँहरुले । जाबो झुट सुन्न नपाउने गाउँहरुले आफ्नो अनुहार कहिले बदल्न पाउलान् ?
गाउँहरुले यस्तो झुट सुन्न नपाउनु पछाडिको रहस्य अर्कै छ । आफैमा सुन्दर तर सुन्दरता गुमाउने जोखिममा रहेका गाउँहरु पहिले मरुभूमी हुन जरुरी देख्छन् उनीहरु । सुन्दरता बचाउने या बढाउने कोही कसैको चाँसोको विषय रहेन । गाउँहरुबाट हरियो सिध्याउनमा तल्लिन छन् उनीहरु ।
गाउँमा आजकाल सबै भन्दा बढी सडकहरु दौडिरहेछन् । सबै भन्दा बढी केही उड्छ त त्यो हुन्छ धुलो । सबै भन्दा बढी केही हिँड्छन् त ती कि ढुंगाहरु हुन्छन् कि इट्टाहरु । सबै भन्दाबढी केही खेल्छन् त यहाँ जुवा र तासहरु खेल्छन् । सबै भन्दा बढि गरिवी खाएको छ त मदिराले खाएको छ । सबै भन्दा बढि कोही रोएका छन् त रोएका छन् बुढा बाआमाका आँखाहरुले ।सबै भन्दा बढि केही सुनेका छन् त कानहरुले आश्वासन सुनेका छन् । अहो ! कोही कसैको ओंठ मुश्कुराउछ त कि त्यो नेताको हुन्छ, कि ठेकदारको हुन्छ गाउँमा ।
गाउँ दुःखी हुनुमा दोस आफ्नै छ । नेता उही एउटा र ठेकदार उही छ । कर्मचारी उही छ र भ्रष्टचारी उही छ । बोक्सी उही छ र धामी उही छ । यहाँ हरेक चलाख मान्छे दुइटा भूमिका बाँच्छ । दुईटा दिमाग बाँच्छ । दुईटा सोंच बाच्छ । दुईटा जीवन बाँच्छ । रातमा उसको जीवन फरक हुन्छ, दिनमा उसको जीवन फरक हुन्छ । मुख एउटा बाँच्छ, मन अर्को बाँच्छ । बोल्ने गर्दैन, गर्ने बोल्दैन ।
गाउँमा बिद्धानहरु नभएका होइनन् । बिद्धानहरु आधा सहरको छन् र आधा गाउँको छन् । गाउँमा शिक्षकहरु नभएका होइनन् । आधा स्कूलको र आधा भट्टिको छन् । गाउँमा स्कूलहरु नभएका होइनन् । स्कूलहरु आधा मसानघाट लाग्छन् र आधा मात्रै स्कूल लाग्छन् । गाउँमा नेताहरु नभएका होइनन् । आधा मात्रै नेता छन् र आधा सर्प जस्ता छन् । गाउँमा स्वास्थ्य चौकीहरु नभएका होइनन् । धेरै झर्को, रिस बाँड्छन् थोरै औषधी । गाउँमा कार्यालयहरु नभएका होइनन्, धेरै भट्टि र थोरै सेवाथलो बनेका छन् । गाउँमा कर्मचारीहरु नभएका होइनन् । कर्मचारीहरु धेरै दामसंग र थोरै कामसंग खेल्छन् ।
गाउँमा छैन त के पो छैन र ! यहाँ सडकहरु बनिरहेका छन् । विकास भन्नु सडक विस्तार नै हो भन्ने बुझिएको छ । गाउँका पहाडहरु हेर्नुस्, कोपरिएका छन्, चिथोरिएका छन् । हरियो हुनुपर्ने पहाडबाट हरियो सकियो भने रहने केही रहन्न । सडकहरु मान्छेको विपत्ति, व्यस्तता र आँशु लुट्न थापिएका पसलहरु जस्ता बनेका छन् । पसल थाप्ने गाडी मालिकहरु यहीँयतै रोडको संगतबाट करोडको संगत गर्न थाल्छन् । गाउँ त यस्तैमा सकिएको छ । विद्यालयको फि, स्वास्थ्यचौकीको औषधी, यातायातको लुट, कार्यालयको खर्च, भट्टिको मदिरा, चौतारीको तास यस्तैयस्तैमा ।
बोल्नेहरु त बोलिदिन्छन्,गाउँमा सिंहदरबारहरु आइपुगेका छन् । दरबारहरु कता छुटे थाहा छैन । छुट्नुले राम्रै भयो । तर सिंहहरु भने आइपुगेका छन् । म लेख्दिन सक्थे, ‘जनप्रतिनिधी’ । यो शब्दको गरिमा घटाउन मन लागेन । राजनीतिको अर्को नाम समाजसेवा । यी सबै परिभाषा लेखिएका हाम्रा मगजका किताबहरुमा धमिरा लागेकाछन् । गाउँमा टाठाबाठा मान्छेहरु छन् । उनीहरु आफ्नो भूमिका बुझ्दछन्, टाठोबाठो हुनुको अर्थ सोंझासिधा मान्छेहरुमाथि शोंषण गर्नु हो, लुट्नु हो । पहिलो पटक हाँसेर हुन्छ, दोस्रो पटक लुकेर हुन्छ । टाठाबाठा भनिनेहरु नै हुन्, गाउँका सिंहहरु । जो गाउँकालागि सबै भन्दा खतरा बनेका छन् । यी सहरहरुका लागि सबै भन्दा खतरा बनेका छन् ।
को छैन यहाँ आफ्नो गाउँ उज्यालो देख्न चाहने ?हामी हाम्रो भबिष्य आफ्नै पैतालाले कुल्चेर हिड्नु परेता पनि को छैनौ हामी हाम्रा सन्तानहरुको भबिष्य उज्यालो होस् भन्ने ? यो दुःख, यो बेपर्वाह, यो लुट, यो झुट देखिरहेका हामीहरु सधै अघिल्लो पुस्तालाई गाली गर्छौ । तर हामी यो भन्न तयार छैनौ कि यो देश, गाउँ बन्नमा मेरो पनि भूमिका हुनुपर्छ । अर्को पुस्ताको सुन्दर भविष्य हाम्रो हातमा छ भन्नेमा हामी विश्वस्त छैनौ । हरेक निर्णायक घडिमा हामी एक गिलास र दुई चौटा मासुमा बिकिदिन्छौ । कि बिकिसकेपछि हामी हाम्रो नै रहँदैनौ त हामीलाई किनेको मान्छे हाम्रो कसरी रहन्छ ?
गाउँमा पार्क बनाउन बीस बर्ष लाग्दैन । रुखहरु छन्, फूलहरु आफै फुलेका छन् । यसो दुईचार कुर्सी र बेन्चहरु राख्दिए पुग्छ । गाउँमा माछा पाल्न पोखरी खन्नै पर्दैन । नदीहरु छन् । नदीहरुलाई लुटबाट बचाएर व्यवस्थित व्यवसाय बनाउन जरुरी छ ।माछादेखि ढुंगा र बालुवा पनि बिक्छन् । गाउँमा फलफुलहरु आफै फुल्छन्, फल्छन् । बस्, ढुंगा हिर्काउने र डोंजर चलाउनेहरुको आँखाहरु छलाउन सके पुग्छ । गाउँ आफैमा हरियो छ । कसैले केही नथपे पनि प्रकृति बाँच्छ । प्रकृतिको हरियो अस्तित्व बाँच्छ । बस्, हरेक बहानामा रुखका घाँटीहरु नचुँडालिदिए पुग्छ । डाँडाडाँडामा रहेका दुईचार घरहरु सबैलाई बत्ति, शिक्षा, बाटो, पुराउनु भन्दा ती दुईचार घरहरुलाई बत्ति, बाटो, शिक्षा भएका ठाउँहरुमा पुराउन जाति हुन्छ ।
गाउँमा होटलहरुको नाममा अग्ला बिल्डिङहरु थप्नु भन्दा होमस्टेइ सञ्चालन गर्दा गाउँको अस्तित्वमा दाग लाग्दैन । स्वास्थ्यचौकीमा ओषधी भन्दा मानवता, स्कूलहरुमा सफल बन्न भन्दा असल बन्नुको प्रेरणा, र हरेक कार्यालयहरुमा दाम भन्दा काममा महत्व दिए सबै थोक बदलिन्छ ।
के गाउँहरु ‘स्मार्ट’ बन्न यत्ति काफि छैन र ?
गाउँहरुलाई सहर बनाउनु ‘स्मार्ट’ बनाउनु होइन । गाउँहरुलाई ‘गाउँ’ रहिरहँन दिनु नै स्मार्ट बनाउनु हो । बस्, हामीले त सुनमा सुगन्ध मात्रै छर्नु छ ।

SPONSORED