शरद अधिकारी
गएको माघको २४ गतेका दिन साँझ पर्दा नपर्दै एउटा खवर फैलियो लमहीबाट घोराही आउँदै गर्दा उत्तरकुमार वली चढेको जिप र घोराहीबाट पूर्व तर्फ जाँदै गरेको बस आपसमा जुधे । बस र जीप जुध्दा बसमा सवार एकजनाको घटनास्थलमै मृत्यु भयो । जीप चलाइरहेका वली गम्भिर घाइते भएको खवर सुनिरहदा म जिल्ला प्रशासन कार्यालय दाङमा आयोजित एउटा छलफलमा थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुले आन्दोलन गरिरहेको सन्दर्भमा त्यसका बारेमा बुझ्न राज्यमन्त्री सुरेन्द्र यादव आउनुभएको थियो । तर प्रदेश सांसद उत्तरकुमार वली घाइते भएको कुरा सुनेपछि अरु कुराले छुन सक्ने कुरा भएन । उत्तरकुमार वली दाङको राजनीतिमा आउने कुरा सुनेदेखि नै वली मेरो चासोको पात्र बन्नुभएको थियो । उत्तरकुमार वली २०६६ पछि निर्वाचित भएको जिल्ला कमिटीमा मनोनित पात्रका रुपमा आउनुभएको थियो । लमहीमा भएको अधिवेशनबाट म पनि जिल्ला कमिटीको सदस्यका रुपमा आएकाले वलीको जिल्ला कमिटीमा आगमनका बारेमा भएका बहस र छलफलमा म संलग्न रहेको थिए । व्यक्तिगत रुपमा तीन कार्यकाल संगै बस्दा यो या त्यो कुरा गरिएन । व्यक्तिगत रुपमा कृयाकलापका बारेमा चर्चा गरियो होला । जिल्ला कमिटीमा उत्तरकुमार वलीको आगमन जसरी भयो त्यसको पक्ष वा विपक्षमा जाने काम गरिएन तर हरेक कुरा विधान विपरित हुनुहुँदैन भन्ने कुरामा म लगायत केही सहमत थियौं । वलीको निधन भएको सन्दर्भमा व्यक्तिगत आचरणका बारेमा समिक्षा गर्न खोजिएको होइन । उत्तर वली दाङको राजनीतिमा जसरी आए र अस्ताय यो कुराका बारेमा भने समिक्षा गर्न खोजिएको अवश्यै हो ।
२०७० सालको निर्वाचनको समयमा दाङ जिल्लाको क्षेत्र नंं ५ मा कसलाई उमेदरवार बनाउने भन्ने बारेमा अन्यौल थियो । २०६४ सालमा भएको निर्वाचनमा पाँचवटै निर्वाचन क्षेत्रमा माओवादीले जितेका कारण र दाङ जिल्ला काँग्रेसको गढका रुपमा पहिल्यै देखि रहेका कारणले एमालेबाट निर्वाचनमा उमेदवार हुनेहरुका लागि उत्साहित हुने अवस्था थिएन । २०७० सालको निर्वाचनमा कसलाई उमेदवार बनाउने भन्ने बारेमा चर्चा हुँदै गर्दा दाङको क्षेत्र नं. ५ मात्रै होइन कि सवै क्षेत्रमा कसलाई उमेदवार बनाउने भन्ने बारेमा भएको छलफलमा सहभागि हुँदा वली ढुक्कका साथमा प्रस्तुत भएको हिंजै जस्तो लाग्छ । त्यतिवेला क्षेत्र न.ं १ बाट रेवतिरमण शर्मा दोस्रो पटक उमेदवार बन्नुभएको थियो । क्षेत्र नं. २ मा शान्ता चौधरी उमेदवार बन्नुभएको थियो । यस्तै क्षेत्र नं. ३ बाट लक्ष्मण आचार्य उमेदवार बन्नुभयो । क्षेत्र नंं ४ बाट अहिलेका मुख्यमन्त्री शंकर पोखरेल उमेदवार बन्नुभएको थियो । क्षेत्र नंं ५ बाट युवा उमेदवारका रुपमा उत्तरकुमार वली  हुनुहुन्थ्यो । उत्तरकुमार वली निर्वाचनमा होमिएको समयमा पटक पटक कुराकानी हुन्थ्यो । निर्वाचनको परिणामलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने बारेमा वली धेरै चिन्तित हुनुुहुन्थ्यो  । २०४८ सालमा भएको निर्वाचनमा पश्चिम दाङबाट खुमबहादुर खड्का निर्वाचित हुनुभएको थियो । त्यसपछिको निर्वाचनमा पनि खुमबहादुर खड्का निर्वाचित हुनुभयो । त्यसपछिको निर्वाचनमा अर्थात २०५६ सालमा भएको निर्वाचनमा गेहेन्द्र गिरि निर्वाचित हुनुभयो । त्यसपछिको निर्वाचन भनेको २०६४ सालमा भएको थियो । स्थानीय निर्वाचन २०४९ सालमा हुँदा पनि काँग्रेसका अध्यक्षहरु धेरै निर्वाचित भएका थिए । यस्तैगरी २०५४ सालमा पनि काँग्रेस कमजोर थिएन । २०६४ सालको निर्वाचनमा माओवादी पहिलो भयो भने काँग्रेस दोस्रो भयो । २०७० सालमा भएको निर्वाचनमा काँग्रेसले जित्यो तर वलीको उमेदवारीले काँग्रेसका उमेदवार दिपक गिरीलाई हायल कायल बनाएको थियो । इतिहाको मूल्याङ्कन गर्ने बेलामा यस्ता कुराको अवश्यै मूल्याङ्कन हुनेछ ।
म २०७० सालको निर्वाचनलाई सँझन्छु । निर्वाचनको दिन अनुगमनका लागि पश्चिम दाङमा पुगेको थिए । त्यतिवेला भ्युडहरको बुथमा पुगेको थिए । त्यतिवेला केही युवाहरु म भएको स्थानमा आए र उनीहरुले मलाई मलाई दिपक गिरीका मान्छेहरुले अनियमितता गरिरहेको कुरा गरिरहेका थिए । गिरी पक्षधरले गरेको अनियमिततालाई रोक्नका लागि के गर्ने भन्ने बारेमा उत्तर वलीसंग कुरा गर्न आग्रह गरे । अनियमितता जसरी भएपनि रोक्नुपर्छ । हामीले के गर्न सक्छौं हामीले गर्दछौं भनेर हिडियो । त्यतिवेला युवाहरु उत्साहित देखिएका थिए । दाई हामीलाई भन्नुहोस हामी जे पनि गर्न सक्छौं भन्ने भाव उनिहरुको थियो । त्यतिवेला मैले यो गर वा त्यो गर भन्ने अवस्थामा थिएन । निर्वाचनको समग्र अवस्थाको अनुगमन गर्नका लागि हिडिरहेको व्यक्तिले कुनै निर्देशन दिने कुरा थिएन । मात्रै कुरा के थियो भने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुुपर्छ । निर्वाचनमा अनियमितता हुनुहुँदैन भन्ने थियो । निर्वाचनमा उत्तर वलीको पक्षमा खटिरहेका युवाहरुको उत्साह हेर्दा व्यक्तिगत रुपमा के लाग्यो भने उत्तर साच्चिकै निर्वाचनलाई आफ्नो पक्षमा पार्न सक्ने उमेदवार हुन । उमेरका हिसावले उत्तर म भन्दा केही कान्छा भएपनि निर्वाचनका लागि उहाँले देखाएको जस्तो साहस सायद म देखाउन सक्दीनथे । यो प्रसङ्ग यहाँनेर किन उठाउन खोजिएको हो भने युवाहरुलाई उत्साहित गरेर नेतृत् वगर्ने सवालमा उत्तर वलीसंग क्षमता थियो भन्ने स्पष्ट हुन्छ ।
उत्तरकुमार वली घाइते भएर १६ दिनसम्म मृत्यु शैयामा छटपटाइरहदा सामाजिक सञ्जालहरुमा शिघ्र स्वास्थ्य लाभका लागि कामना गरिएका धेरै पोष्टहरु आएका थिए । कुनै व्यक्ति दुःखमा परेको बेलामा सहानुभूति व्यक्त गर्ने नेपाली चरित्र हो भन्दा पनि हुन्छ । उत्तर वली मृत्यु सैयामा छटपटाइरहदा उत्तर वलीले पश्चिम दाङका लागि गरेको योगदानको बारेमा चर्चा भइरहेको थियो । उत्तर वलीले गरेको योगदानको विकल्प होला त ? भन्ने धेरैको मनमा लागिरहेको थियो । वली दाङको राजनीतिमा एक्कासी आउनुभयो । अनि एक्कासी हराउनुभयो भन्ने पनि कतिपयलाई लाग्दो हो । वलीको आगमन र जनताको पक्षमा काम गर्ने जुन हुटहुटी थियो त्यो अरुका लागि पनि सिक्नुपर्ने विषय हो । वलीले छोटो समयमा जनताबाट पाएको मायाको हिसाव आगामी दिनमा अरुले पनि निकाल्न सक्नेछैनन् । वलीले गरेका कामका बारेमा धेरैले धेरै कुरा गर्न सक्लान । तर वलीबाट सिक्नुपर्ने केही कुरा छन् जसलाई यहाँ संक्षिप्त रुपमा राख्ने प्रयास गरिएको हो । उत्तरकुमार वली हाम्रो बीचमा हुनुहुुन्न । उहाँको लोकपृयता उहाँको अन्तिम संस्कारमा उर्लिएको जनसागरले नै पुष्टि गरेको छ । उत्तर वली युवाको मनमा बस्नुभएको थियो । उत्तर वली अग्रजको आशा बन्नुभएको थियो । सहकर्मीका लागि एउटा भरोसा गर्न लाएक बन्नुभएको थियो । धेरैले धेरै हिसावले उत्तर वलीको अनुपश्थितिको महशुस गर्नेछन् । उत्तरकुमार वलीले देखेको सपना पुरा नहुने हो कि भन्ने चिन्ता यतिवेला पश्चिम दाङले मात्रै गरिरहेको छैन । उत्तर वलीलाई नजिकबाट जान्नेहरुले भन्नेछन् ।
उत्तर वलीलाई भगवान बनाउनका लागि यि शव्दहरु राखिरहेको छैन । उत्तर वलीका कमजोरी नै थिएनन् भन्ने मेरो आसय होइन । मात्रै कुरा के भने यो कमजोरीको चर्चा गर्ने समय होइन । कमजोरी थिए भन्ने कसैलाई लाग्छ भने त्यो कमजोरीलाई आफूले अवलम्वन नगर्दा हुन्छ । कुरा सकारात्मक कुरा के थिए भन्ने हो । उत्तर वलीमा रहेको नेतृत्वको दक्षता अरुले पनि राखुन । जनताको बीचमा कसरी बस्नुपर्छ भन्ने जानुन । नेतृत्वले के गर्नुपर्छ । कसरी स्थापित हुनुुपर्छ भन्ने थाहा पाउन । अग्रजको सम्मान गर्ने उत्तरको बानी अरुले सिक्नुपर्ने बानी हो । बोल्दा गाली गलौज नगर्ने, आलोचना गर्दा स्वस्थ रुपमा गर्ने वलीको बानी थियो । वलीका बारेमा संझनाका अन्य प्रशंगहरु आगामी दिनमा उल्लेख गर्नेछु । उहाँको निधन भएको केही दिन मात्रै भएको छ । जीवनको दुई दशक पनि नविताएर कसैको जीवन जानु भनेको राम्रो कुरा होइन । वलीले सानै उमेरमा नेतृत्वको क्षमता विकास गर्नुभयो । प्रदेशको सांसद बन्नुभयो । जनताको बीचमा विकासको केही आश्वासन दिनुभयो ।
नेतृत्वको विश्वास जित्न सक्नुभयो । आज उहाँको अभाव खड्किएको छ । आजको भन्दा भोलिको दिनमा अभाव झनै खड्किने छ । उत्तरकुमार वलीको निधन भएको थाहा पाएपछि सामाजिक सञ्जालमा केही लेख्नै सकिन । मलाई उत्तर वली बाँचेर आउनुपर्छ । फेरि हामीसंग रमाउनुपर्छ भन्ने लागेको थियो । मलाई विश्वासै लागिरहेको थिएन । क्षमता भएकाहरुको सम्मान गर्नुपर्छ भन्ने मेरो मान्यताले यहि भनिरहेको थियो । मैले लेखेको थिए । राजनीतिक जीवनमा विमती भयो होला । तर त्यो जीवन्त हुँदाको कुरा थियो । मृत्यु सवैको अनिवार्य छ तर यति छिट्टै मृत्यु आयो कि विश्वासै लागिरहेको छैन । हामीकहाँ सडकका कारणले अनेकन सम्भावनाहरु समाप्त भएका छन् । प्रतिभाहरु निमोठिएका छन् । प्रतिभाहरुलाई नास गर्ने ज्यानमारा सडकहरुको बारेमा बोल्नुपर्ने बेला आइसकेको छ । जतिवेला हामीलाई समस्या पर्दछ त्यतिवेला तात्तिने अनि आत्तिने । समय गए पछि वास्ता नगर्ने चलन छ । उत्तरकुमार वलीको निधनले पक्कै केही पाठ हामीलाई सिकाओस ।