जीतबहादुर शाह
अहिलेसम्मको उमेरको हिसाव गर्दा जीवनको दुईतिहाई उमेर पहाडका बस्ती र पाखापखेरामा बिताएँछु । त्यसैले पनि होला, दुर्गम र विकट भन्ने वित्तिकै पहाडका कुना कन्दरा, बाँदर लड्ने भीरपाखा र टोपी खस्ने उकालो ओरालोको सम्झना निख्खर भएर आउनु मेरो लागि अस्वाभाविक होइन । यत्ति हुँदाहुदै पनि बाँकेको नरैनापुर पुगेपछि भने दुर्गम र विकट सम्बन्धीको मेरो परिभाषा र बुझाइ संशोधन गर्नु पर्ने भएको छ । दुर्गम र विकट भनेको पहाडका कुना–कन्दरा, भीर–पाखा र उकाली–ओरालीमात्र होइन रहेछ । तराइको समथर भूभाग पनि विकट र दुर्गम हुँदो रहेछ । हालसालै नेपाल सरकारले समेत बाँकेको नरैनापुर गाउँपालिकालाई दुर्गम र पिछडिएको हिसावर्ले ख’ बर्गमा राखेको छ । त्यसैले दुर्गम र पिछडिएको हुनुमा भूगोलले भन्दा पनि भावनाले असर पार्ने रहेछ भन्ने कुरालाई नरैनापुरको भूगोलमा पाइला टेकेपछि यकिन गर्न अझ सजिलो भयो । यकिन गर्न सजिलो भए पनि मनमा भने असजिलो र नमीठो महसुस भयो र भइरहेको छ अहिले पनि ।
गाउपालिकाका प्रमुख, शिक्षा हेर्ने प्रमुख लगायत त्यहाँका जन प्रतिनिधि र प्रधानाध्यापकहरुसँग गाउपालिकालाई साक्षर घोषणा गर्नका लागि आवश्यक तयारी गर्ने सम्बन्धमा भलाकुसारी र अन्तरक्रिया गर्ने ध्येयले समय मिलाएर हामी हतारो गर्दै त्यहाँ पुग्यौं प्रदेश सरकारको तर्फबाट । हामी त्यहाँ त पुग्यौं तर त्यहाँका जनप्रतिनिधिहरुलाई हामीसँग भेटेर सामान्य औपचारिकता निर्वाह गर्ने समेत फूर्सद थिएन । कसैलाई खादा ओढ्नेको हतारो थियो भने कसैलाई खादा ओढाउनेको हतारो थियो । गाउ कार्यपालिकाको कार्यालय परिशरमा मानिसहरुको भीडभाड थियो । यस्तो लाग्थ्यो कि विकास द्रूत गतिमा भइरहेको छ र मानिसहरु विकासमा सहभागी भइरहेका छन् । यस्तैमा एउटा गाडी आयो र गाडीबाट कम्बल अर्थात ब्लाङ्केट झार्न थाल्यो । मानिसहरु त्यतै लाइन लागेर ब्लाङ्केटको प्रतीक्षामा उभिए । मलाई महसुस भयो कि हाम्रो नियतिमा कसैले दिने ब्लाङ्केटको प्रतीक्षामा यसरी लाइन लाग्नु पनि विकासमा सहभागी हुनुको परिचायक हो क्या रे ।
हामी अक्षर बाँड्न गएकाहरु कम्वल बाड्न गएकाहरुसँग पराजित भएको महसुस भयो । यस्तो लाग्यो कि हामी त विकास विरोधी रहेछौं त्यसैले पनि हामीलाई साथ दिन कोही चाहदैनन् । आफैले यस्तै यस्तै कुराहरुको विषयमा आफैसँग मन्थन गर्दै हामी त्यहाँ नबसेर फर्किने निधो ग¥यौं । हामीले यो कुरा शिक्षा शाखा प्रमुखसँग भनेपछि उनी अलि आत्तिए झै देखिए । झट्टपट्ट गएर गाउपालिकाका प्रमुखसँग कुरा गरे । गाउपालिकाका प्रमुख पनि हामीलाई खोज्दै आएँ । विहानदेखि राती बारह बजेसम्म ब्यस्तताले गाँजेको कुरा गरे । यस्तैमा गाउपालिकाका प्रमुख, वडाध्यक्षहरु र माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग विस्तारै मेलैसँग कुरा सुरु भयो । शिक्षा र साक्षरताको महत्वको कुरा भयो । उक्त पालिकामा भर्खरै गरेको सर्वेक्षण अनुसार १५ देखि ६० वर्ष उमेरका निरक्षर मानिसहरुको संख्या १० हजार भन्दा बढि भएको बोध भयो । र यो पनि बोध भयो कि बाँकेका निम्ति मात्र होइन कि प्रदेश नं. ५ लाई साक्षर घोषणा गर्ने सवालमा नरैनापुर गाउपालिका एउटा जब्बर कालोपहाड भएर उभिएको स्थिति देखियो ।
छोटो समयको भलाकुसारीमा पनि गाउपालिकाका अध्यक्ष लगायत उपस्थित सवैलाई गम्भीर बनायो यो विश्लेषणले । यो विश्लेषणबाट गम्भीर हुदै गाउपालिकाका अध्यक्ष इस्तीयाद अहमद साहले शिक्षाका निम्ति जे गर्नु परेपनि मबाट कुनै कञ्जुस्याइ हुने छैन भन्ने कुरा उल्लेख गरे । विद्यालयका प्रधानाध्यापकहरुले आफू र आफ्ना विद्यार्थीहरु परिचालन गरेर भए पनि नरैनापुरलाई साक्षर घोषणा गर्नमा सघाउने कुरा गरे । बडाध्यक्ष र अन्य जनप्रतिनिधिहरुले निरक्षर ब्यक्ति भएको परिवारका निम्ति कुनै पनि सिफारिस र सामाजिक सेवा सुविधा उपलब्ध गराउदा साक्षर भएर नआउदा सम्म रोक्का गर्ने प्रतिबद्धता सवैका सामु अभिब्यक्त गरे । त्यहाँ उपस्थित साक्षर नागरिकहरुले यदि आफ्नो गाउपालिका साक्षर हुन्छ भने आफूसँग भएका अक्षरहरु निरक्षरहरुलाई बाँड्ने सवालमा स्वयमसेवी सेवा प्रदान गर्ने कुरा समेत सवैका सामू खुलेर गरे । जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र स्वयमसेवी शिक्षित नागरिकहरुले नरैनापुरलाई साँच्चीकै साक्षर बनाउने कुरा गरेका हुन् वा हसिमजाक गरेका हुन त्यो भने हेर्न बाँकी नै छ ।
हाम्रो मुलुकमा विकासको मोडालिटी मानिसहरुलाई वर्षौंसम्म मगन्ते र गरीव अवस्थामै रहने गरी अघि बढेछ । त्यो कुराको भेउ कम्वल बाडिरहेको दृश्य देखिरहँदा बोध भयो । कुनै बेला तत्कालीन कर्णाली अञ्चलका जिल्लाहरुमा चामल बाँडिरहेको दृश्य देख्दा पनि बोध भएको थियो । यसले मानिसहरुमा शिक्षा र चेतना दिन सकेन । उनीहरुलाई सशक्तिकरण पनि गर्न सकेन । बरु परनिर्भर र अल्छी बनायो । उर्वर खेत र बारीहरु बाझा बनायो । त्यो भन्दा पनि डरलाग्दो कुरा हामीहरुलाई मागिखाने बनायो र अरुहरुको आशामा बाँच्ने बनायो । अर्थात अर्को शब्दमा भन्ने हो भने हामीलाई दास बनायो र अरुहरु कसैलाई मालिक । त्यसैले त सडक छेउमा हात थापेर सहयोगका लागि अनुनय विनय गर्नेदेखि मन्त्रीसम्म हामी सवै माग्नेकै बर्गमा परेका छौं । माग्न सफल भयौं भने गर्व गर्छौं । विमानस्थलमा ओर्लिने वित्तिकै पत्रकार सम्मेलन गर्छौंं । यस्तो लाग्छ कि यो देश नै मगन्ते हो जो सडकमा उभिन पनि नसकी थला परेर भीख मागिरहेको छ र कसैले दुई रुपैयाँ दियो भने खुशीले महोत्सव मनाइरहेको छ ।
यो पङ्तिकारले धेरै पहिलेदेखि अवगत गरेको एउटा सत्य के हो भने मानिसलाई माछा किनेर दियो भने माछा पाउने मानिसले एकाध छाक माछा खान पाउछ तर उसलाई माछा पाल्ने वा समात्ने प्रविधि दियो भने उसले जीवनभर माछा खान पाउछ । हामीले अपनाएको विकासको तरिका र मोडालिटी भनेको माछा दिने रहेछ न कि माछा पाल्न र समात्न सिकाउने । हामीले पछ्याएको उपाय भनेको कम्बल बाँड्ने रहेछ न कि कम्बल बनाउन सिक्ने । हामीले अनुसरण गरेको विधि भनेको चामल बाड्ने रहेछ न कि चामलका लागि धान उत्पादन गर्ने । बर्षौदेखि हामी त्यसैमा अभ्यस्त भएछौं र कसैले हामीलाई त्यसैमा अभ्यस्त बनाएछ । किनकि हामीलाई जसले यो मोडालिटीमा अभ्यस्त बनायो उसलाई यसैबाट लाभ हुँदोरहेछ । उसैको चामल बिक्दोरहेछ । उसैको कम्बल विक्दोरहेछ । कसैले हाम्रो भन्दा उसैको हितको निम्ति अघि बढाएको विकासको यो मोडललाई अस्वीकार गर्न सकेनछौं हामीले । भित्र विष भए पनि बाहिर गुलियो दलेकोले होला मुख्य मिठ्याएर खाइरहेका छौं वर्षौंदेखि ।
हामीसँगै समुन्नतिको यात्रा आरम्भ गरेका मुलुकहरु समुन्नतिको शिखरमा पुग्न थाल्दा पनि लाग्छ हामी अझै बेस क्याम्पतिरै हस्याङफस्याङ गरिरहेका छौं । यसको एउटै कारण हामीले नागरिक शसक्तिकरणको सवाललाई अहम महत्वको विषय बनाउन सकेका छैनौं । शसक्तिकरणको माध्यम भनेको शिक्षा हो । शिक्षाको मुल गेट भनेको साक्षरता हो । जहाँका मानिसहरुसँग शिक्षाको मुल गेटभित्र प्रवेश गर्नका लागि अक्षरहरु छैनन उनीहरुले शिक्षाको मुलगेट भित्र प्रवेश गरेर शिक्षित, समुन्नत र फराकिलो संसार चियाउन अनि उक्त संसारमा सहभागी हुन सक्दैनन्् । उनीहरु साक्षर र शिक्षित नभएको कारण शसक्तिकरणको हिसावले पनि कमजोर हुन्छन् । उनीहरु नागरिक भएर पनि अनागरिक जस्ता हुन्छन् । उनीहरुको नसानसामा रातो र तातो रगत बगिरहेको भए पनि रक्तअल्पताको समस्या भएका विरामी जस्ता देखिन्छन् । यथार्थमा आकाशका उड्न सक्ने आफ्नो क्षमताको बोध नभएका रामायणका हनुमान जस्तै देखिन्छन् । नाभी भित्र सुगन्धित बिना बोकेर पनि बिनाको निम्ति भौतारिरहने मृग जस्तै देखिन्छन् ।

बुटवलमा भर्खरै सम्पन्न राष्ट्रिय परिचय पत्रको जानकारी सम्बन्धी गोष्ठीमा गोष्ठीका प्रमुख अतिथि आन्तरिक मामला तथा कानून मन्त्रीको भनाइ रहेको थियो – चुनावको समयमा टोलभरिका मानिसहरुको मतदाता परिचय पत्र एउटा ब्यक्तिले बोकेर उसकै इशारामा मानिसहरु भोट खसाल्न आउने गर्दछन् । कतै राष्ट्रिय परिचय पत्रको पनि त्यसरी नै दुरुपयोग हुने त होइन ?’ यो पङिेतकार त त्यो राष्ट्रिय परिचय पत्रको दुरुपयोग हुने कुरामा पनि ढुक्क छ । किन कि उक्त परिचय पत्रको महत्व, उपादेयता र प्रयोगको बारेमा सम्बन्धित मानिस जानकार भएन भने त्यसको बारेमा जो जानकार हुन्छ त्यसैले प्रयोग गर्दछ । जसले त्यो परिचय पत्रको प्रयोग गर्दछ परिचय पत्रको मालिकको नागरिक अधिकार पनि उसैले हडप्छ । मतदाता परिचय पत्रको दुरुपयोग हुनुमा जे कारण रहेको छ भोली राष्ट्रिय परिचय पत्रको दुरुपयोग हुने कारण पनि त्यही हुनेछ । त्यो कारण भनेको चेतनाको अभाव हो, शक्तिकरणको अभाव हो, शिक्षाको अभाव हो र साक्षरताको अभाव हो । बन्दूक हातमा भएर पनि चलाउन जानेन भने त्यो बन्दूक चलाउन जान्नेले उसको हातबाट खोसेर उसकै विरुद्धमा पड्काउनु भनेको के अस्वाभाविक भयो र ?
निष्कर्षमा भन्नु पर्दा जुन मुलुकहरुले समुन्नतिको स्वाद चाखिरहेका छन् तिनीहरुले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर मानिसभित्र रहेको सीप, क्षमता र उर्जालाई अधिकतम सदुपयोग गर्न सफल भए । तिनै सक्षम मानिसहरुका कारणले मुलुकहरु समुन्नत भए । हामीकहाँ त्यो बुद्धि कसैमा पनि पलाउन सकेन । यौटा पालिकामा आर्थिक हिसावले सक्रिय जीवन बाँचिरहेका सत्तरी असी प्रतिसत मानिसहरु निरक्षर हुँदा पनि त्यो विषय कसैको प्राथमिकतामा पर्न सकेन । त्यसैले पनि तराइका समथर र उर्वर भूमिहरु विकट र दुर्गममा दरिन बाध्य भए । त्यहाँका मानिसहरु पिछडिएकोमा बर्गिकृत हुन बाध्य भए । त्यस्ता क्षेत्रहरुमा कम्बल बाड्नेहरु सम्मानित भइरहेका छन् भने अक्षर बाड्ने अभियन्ताहरु बेखवर बनिरहेका छन् । यो स्थितिको अन्त भएर शिक्षालाई प्राथमिकता दिने युगको सुरुवात नभए सम्म जुन ब्यक्ति र ब्यवस्था आए पनि हुने वाला केही देखिदैन, सवैलाई चेतना भया ।

SPONSORED