आजका दुई कार्यभार

२०७५ मंसिर १२, बुधबार १९:२४ मा प्रकाशित

जगप्रसाद शर्मा ‘अपार’
यतिबेला परिस्थितिले कोल्टे फेरेको छ । ठूलो त्याग, तपस्या र बलिदानपछि वर्तमान परिस्थितिमा बदलाव आएको हो । यसरी अग्रगामी परिस्थिति सिर्जना हुनु प्रायः सबैका निम्ति सुखद पक्ष नै हो ।

राज्यको पुनर्संरचना, नयाँ संविधान निर्माण एवम् कार्यान्वयन, अस्थिरताको अन्त्य र विशाल एवम् शक्तिशाली कम्युनिस्ट पार्टीको निर्माण आदिले नयाँ परिस्थितिको अभिव्यक्ति दिन्छ । ‘समृद्ध राष्ट्र र खुशी जनता’ सबै नेपालीको अभियान तथा मूलमन्त्र बन्न पुगेको छ । परिस्थितिमा आएको परिवर्तनसँगै जनताका अपेक्षा र चाहनाहरू असीमित रूपमा बढ्नु स्वाभाविक हो । किनकि आजको राजनीतिक परिवर्तनका मुख्य आधार जनता नै हुन् ।

अपेक्षा र चाहनासँगै सुझाव, आलोचना र खबरदारीको पनि उत्तिकै आवश्यकता पर्छ । यो वर्ग विभाजित समाजमा असहयोग, अवरोध, विरोध र आन्दोलन हुनु सामान्य कुरा हो । विपरीतहरूको द्वन्द्व र सङ्घर्षले गति जन्माउँछ, जुन गति र परिवर्तन सार्वभौम हुन्छ । परिस्थिति सर्वाधिक गतिशील हुन्छ । वर्तमान परिस्थितिले क्रान्तिकारीहरूलाई मूलभूत रूपमा दुई कार्यभार सुम्पिएको छ ।
एउटा नयाँ ढङ्गको कम्युनिस्ट पार्टीको निर्माणको कार्यभार र अर्को जनताको जनवाद निर्माण एवम् प्राप्तीको कार्यभार ।

नयाँ ढङ्गको कम्युनिस्ट पार्टीको निर्माणको कार्यभार  
नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी, सर्वहारा, मजदुर र किसान वर्गको पार्टी हो । कम्युनिस्ट पार्टीले वर्गसङ्घर्षको नेतृत्व गर्छ र वर्गको अन्त्य गरेर वर्गविहीन सुन्दर समाज निर्माण गर्छ । त्यसैले कम्युनिस्ट पार्टीलाई क्रान्तिको साधन पनि भनिन्छ । यसमा अब्बल दर्जाका नेता, कार्यकर्ता हुन्छन् त्यसैले यसलाई अगुवा दस्ता पनि भनिन्छ । कम्युनिस्ट पार्टी शिक्षित मात्र हैन, सचेत र विद्वान मात्र हैन, वैज्ञानिक सोच भएका नेताहरूको केन्द्रीकरण हो । त्यसैले यसलाई नेताहरूको सङ्गठन भनिन्छ । नयाँ ढङ्गको कम्युनिस्ट पार्टी त्यस्तो साधन हो, जसले वैज्ञानिक समाजवाद  एवम् साम्यवाद जस्तो सुन्दर साध्य प्राप्त गर्छ ।

कम्युनिस्ट पार्टी विचार र राजनीतिका आधारमा चल्छ । यो समुन्नत र उत्कृष्ट चेतनाले लैस हुन्छ । क्रान्तिकारी चरित्र र जनचरित्र यसको आत्मा हो । कम्युनिस्ट पार्टी सर्वाधिक बढी परिवर्तनशील र गतिशील हुन्छ । कम्युनिस्ट पार्टीलाई बेलाबेला गठन र पुनर्गठन एवम् निर्माण र पुनर्निर्माण गरिरहनु पर्छ । आलोचना र आत्मालोचना कम्युनिस्ट पार्टीलाई सफा गरिरहने विधि र प्रकृया हो । कम्युनिस्ट पार्टी सबैभन्दा बढ्ता गठन र पुनर्गठनको प्रकृयाद्वारा गुज्रिन्छ ।

ठीक यतिबेला नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्र विघटन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएको छ । यो ऐतिहासिक र दुरगामी परिघटना हो । यो परिघटनाले कम्युनिस्टहरूको मूल प्रवृत्ति फुट हैन एकता र एकीकरण हो भनेर जवाफ दिएको छ । दुई पार्टीको एकता पुरानो पार्टी भत्काएर र विघटन गरेर मात्र सम्भव भएको हो । नेकपाको अबको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । क्रान्तिको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद हो । न्यूनतम लक्ष्य जनताको जनवाद हो । समाजवादी क्रान्तिको आधार तयार पार्ने पार्टीको कार्यदिशा हो । ‘समृद्ध नेपाल खुशी जनता’ पार्टीको नारा हो । जनवादी केन्द्रीयता पार्टीको सङ्गठनात्मक सिद्धान्त हो । नेपाली समाज अब अर्धसामन्ती र अर्ध औपनिवेशिक अवस्थामा होइन, राजतन्त्रको अन्त्यसँगै पुँजीवादी युगमा प्रवेश गरेको छ । पुँजीको विकास गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्नलायकको कम्युनिस्ट पार्टी निर्माण आजको कार्यभार हो ।

दुई पार्टी एकताबारे निश्चय पनि केही गम्भीर प्रश्न र जिज्ञासा उठेका छन् । यो खुला समाजमा थुप्रै जिज्ञासा र प्रश्नहरू उठ्नु एकातिर स्वाभाविकै मान्नुपर्छ भने अर्कोतिर नियोजित र प्रायोजित हल्ला पनि भइरहेका हुन्छन् । के यो पार्टी एकता टिक्ला ? यो पार्टी एकता हो या एउटा अर्कोमा विलय ? यी दुई पार्टी एकतापछि बनेको पार्टी के कम्युनिस्ट पार्टी नै हो ? के यो पार्टीको सरकारले राष्ट्र र जनताका अपेक्षा पूरा गर्न सक्ला ? यी तमाम प्रश्नहरूको जवाफ शब्दद्वारा हैन कर्मद्वारा नै दिनुपर्ने भएको छ ।

कम्युनिस्ट आन्दोलनको इतिहासको प्रवृत्ति कि त बुर्जुवाकरण कि त विर्सजन हुने गरेको तीतो सत्य हाम्रासामु छ । सीमित र एकाध देशहरूबाहेक प्रायः देशका कम्युनिस्ट आन्दोलनको विरासतका कारण पनि माथिका प्रश्नहरू उठ्नु स्वाभाविक हो ।

परिस्थितिको विकाससँगै वर्गसङ्घर्षको स्वरूप र चरित्रमा पनि विकास हुन्छ । त्यसको नेतृत्व गर्ने पार्टीको स्वरूप संरचना र चरित्रमा पनि फेरबदल हुँदै जान्छ ।

पहिलो कुरा, कम्युनिस्ट पार्टी वर्गप्रति समर्पित हुन्छ तर आजको परिवेशमा आफूलाई प्रतिस्पर्धाद्वारा पनि श्रेष्ठ सावित गर्नुपर्छ । पक्षधरता र प्रतिस्प्रधा एकअर्काको बाधक हैन पुरक बनाउनुपर्छ । यो पार्टी जनआधारित कार्यकर्ता पार्टी भएकाले क्रान्तिकारी चरित्र र जनचरित्र यसको विशेषता हुन्छ । पक्षधरता लिँदा प्रतिस्प्रधाद्वारा डराउने र प्रतिस्पर्धा गर्दा पक्षधरता विर्सने समस्या देखा पर्न सक्छ । पक्षधरता र प्रतिस्पर्धाको पुरक अभ्यासले नै आजको आवश्यकता पूरा गर्न सकिने पार्टी निर्माण गर्न सकिन्छ ।

दोस्रो कुरा, कम्युनिस्ट पार्टी गतिवान हुन्छ । ऊ परिवर्तनको बाहक हुनुका साथै क्रान्तिको नेतृत्व गर्छ र यो सबैभन्दा सुव्यवस्थित पनि हुन्छ । पार्टी, विधि, पद्धति र प्रणालीमा चल्छ । विधि र पद्धति यसको प्राण हो । तसर्थ गति र पद्धतिलाई पूरक अभ्यास गराएर मात्र हामीले पार्टी बनाउन सक्छौं । पार्टीलाई गतिशील बनाउँदा पद्धति भत्कने र पद्धति (व्यवस्था) बसाल्दा गति रोकिने समस्याबाट पार्टीलाई मुक्त गर्नुपर्छ । मुख्य कुरा आवश्यकता हो । गति र पद्धतिले आवश्यकता पूरा गर्नुपर्छ ।

तेस्रो कुरा, क्रान्ति र समृद्धिः 
कम्युनिस्ट पार्टीले क्रान्ति गर्छ । क्रान्ति भनेको केवल ध्वंश मात्र होइन, निर्माण पनि हो । क्रान्तिमा परिवर्तन मात्र हुँदैन, समृद्धि पनि हुन्छ । ‘सिद्धान्तको रङ खैरो र जीवनको रङ हरियो’ भन्नुको मर्म पनि यसैभित्र लुकेको छ । क्रान्तिको एउटा चरण राजनीतिक अधिकार प्राप्त गर्ने र अर्को चरण आर्थिक समृद्धि ल्याउने हुन्छ । तसर्थ क्रान्ति र समृद्धि एकअर्काका वाधक होइनन्, पूरक हुन् । क्रान्तिले समृद्धि ल्याउँछ, समृद्धिले क्रान्तिको विकास गर्छ ।

चौथो कुरा, जनवाद र केन्द्रीयताः
जनवाद स्वतन्त्रता हो, केन्द्रीयता अनुशासन तर जनवाद र केन्द्रीयताबीच नङ र मासुको सम्बन्ध रहेको हुन्छ । जनवादविनाको केन्द्रीयता नोकरशाही हुन्छ भने केन्द्रीयताविनाको जनवाद स्वच्छन्द र अराजक हुन्छ । यी एकअर्काका बाधक हैनन्, पुरकका रूपमा रहन्छन् । यसको सही र नयाँ अभ्यासले मात्र पार्टी र आन्दोलनलाई नयाँ ठाउँमा पुर्याउन सकिन्छ । जनवादी केन्द्रीयताको सिद्धान्तको सही अभ्यासले मात्र कम्युनिस्ट पार्टी अब्बल दर्जाको पार्टी बन्छ ।

समग्रमा आजको अभिभारा पूरा गर्न नयाँ ढङ्गको कम्युनिस्ट पार्टी अपरिहार्य छ । नयाँ विचार, राजनीति र सोच चिन्तन एवम् कार्यशैलीले नै नयाँ ढङ्गको पार्टी निर्माण सम्भव छ । क्रान्तिकारी चरित्र र जनचरित्रले ओतप्रोत भएको जनआधारित कार्यकर्ता पार्टी नै आजको सच्चा कम्युनिस्ट पार्टी हो ।

जनताको जनवाद निर्माण र प्राप्तीको कार्यभार 
जनताको जनवाद हाम्रो क्रान्तिको न्यूनतम लक्ष्य हो भने वैज्ञानिक समाजवाद रणनीतिक लक्ष्य । जनताको जनवाद २१औं शताब्दीको जनवाद हैन न त बहुदलीय जनवाद नै हो । जनताको जनवाद सङ्घीय लोकतान्त्रिक गणतन्त्रवाट वैज्ञानिक समाजवादमा पुग्ने पुल हो । यसले सामन्तवाद र राजतन्त्रका अवशेष खत्तम गर्छ । राष्ट्रको समृद्धि  र जनताको खुशीलाई सार्थक बनाउँछ । यसले अर्धऔपनिवेशको अन्त्य गरेर स्वाधीन र समृद्ध राष्ट्रको निर्माण गर्छ । समग्रमा वैज्ञानिक समाजवादको यात्रालाई सुनिश्चित र प्रत्याभूत गर्छ । जनताको जनवाद निर्माण र प्राप्ती आजका क्रान्तिकारीहरूका अहं र केन्द्रीय कार्यभार हुन पुगेका छन् ।

आजभन्दा ७८ वर्ष पहिले अर्थात सन् १९४० मा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङले नयाँ जनवादको अवधारणा अगाडि सार्नुभएको हो । उहाँले अर्धसामन्ती र अर्धऔपनिवेशिक चीनमा नयाँ जनवादी क्रान्ति हुँदै समाजवादी क्रान्तिमा जाने अवधारणा अगाडि ल्याउनुभयो । नयाँ जनवादी क्रान्ति एक प्रकारको पुँजीवादी क्रान्ति नै थियो तर नेतृत्व कम्युनिस्ट पार्टीको थियो । जसलाई माओ स्वयम्ले समाजवादमा जाने पुलको संज्ञा दिनुभएको थियो ।

माओले नयाँ जनवादको अवधारणा अगाडि सारेको झण्डै आठ, नौ वर्षपछि नेपालमा पुष्पलाल श्रेष्ठले नयाँ जनवादी क्रान्तिको अवधारणा र उद्देश्यसहित नेकपाको स्थापना गर्नुभयो । आज झण्डै ७० वर्षको इतिहासमा नयाँ जनवादको अगाडि या पछाडि कुनै न कुनै विशेषण झुण्ड्याएर नेपालमा बहस भैरह्यो । नयाँ जनवाद, नौलो जनवाद, जनगणतन्त्र, परिमार्जित नौलो जनवाद, जनताको बहुदलीय जनवाद, २१औं शताब्दीको जनवाद हुँदै अहिले हामी ‘जनताको जनवाद’मा आइपुगेका छौं । आखिरमा सार कुरा नयाँ जनवाद एक सङ्क्रमणकालीन व्यवस्था हो । जनताको जनवाद नेपाली भूमिमा विशिष्ट र मौलिक ढङ्गले नयाँ मोडेलको वैज्ञानिक समाजवाद प्राप्त गर्ने सङ्क्रमणकालीन व्यवस्था हो ।

विश्वको इतिहासमा समाजवाद सरल र शान्तिपूर्ण ढङ्गले आएको उदाहरण कम छ । देश, काल र परिस्थितिअनुसार विभिन्न मुलुकमा बल प्रयोगद्वारा मात्र समाजवाद प्राप्त भएका उदाहरण छन् । रुसमा बल प्रयोग गरेर नै जार शाही फालियो । बल प्रयोगबाट नै दलाल पुँजीवाद फालियो र समाजवाद प्राप्त भयो । चीनमा बलप्रयोग गरेर नै चियाङकाइसेक फालियो र नयाँ जनवाद प्राप्त गरियो । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीन नयाँ जनवादवाट शान्तिपूर्ण ढङ्गले समाजवादमा प्रवेश गर्यो । यसैगरी अन्य कतिपय देशहरूमा रुस, चीनको प्रभावले पनि काम गरेको छ । भियतनामी क्रान्तिको बेग्लै इतिहास रहेको छ । क्युवा, कोरिया र कतिपय दक्षिण अमेरिकी मुलुकहरूको बारेमा भने नयाँ शिराबाट अध्ययन र अनुसन्धानको विषय बाँकी नै रहेका छन् ।

नेपालमा सामन्तवादको नाइके निरङ्कुश राजतन्त्र जनयुद्ध र जनआन्दोलनकै बलमा फ्याँकिएको हो । समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान र झण्डै दुई तिहाईको कम्युनिस्ट सरकार हुनु नयाँ र सुखद मात्र होइन, जनताको विजयकै एक दूरगामी परिघटना हो । यतिबेला सामन्तवाद र राजतन्त्रका पुराना अवशेष र जनताको जनवाद एवम् समाजवादका नयाँ भ्रुण बीचमा चर्को सङ्घर्ष भइरहेको छ, यसो हुनु स्वाभाविकै हो । समाजवादका भ्रुणहरूको रक्षा र विकास गर्नु भनेको जनताको जनवाद स्थापना गरेर नै हो । दलाल नोकरशाही पुँजीवाद नै नेपाली क्रान्तिको मुख्य दुस्मन हो । यसैलाई परास्त गरेर नै राष्ट्र स्वाधीन र समृद्ध हुन्छ । जनताको जीवनस्तरमा बदलाव आउँछ र जनतामा खुशी छाउँछ ।

नेपाल र नेपालीहरूका लागि मात्र हैन, सम्पूर्ण कम्युनिस्टहरूका लागि नेपालमा बिरलाकोटीको सम्भावना देखा परेको छ । सयौं वर्ष पछिपरेको नेपाल र ५०औं वर्ष पछाडि धकेलिएको कम्युनिस्ट आन्दोलनलाई एकै पटक गुणात्मक ढङ्गले अगाडि बढाउने एक उत्कृष्ट अवसर प्राप्त भएको छ । सम्भावनालाई वास्तविकतामा बदल्न, वस्तुगत अवस्थाअनुसार आत्मगत अवस्थाको विकास गर्न २१औं शताब्दीको उत्कृष्ट चेतनाको विकास गरौं । हिजोको ज्ञान, चेतना र अनुभवले मात्र पुग्दैन । आजको ज्ञान, चेतना र अनुभव हासिल गर्न नयाँ सङ्कल्प गरौं । आजको उत्कृष्ट ज्ञान चेतना  अनुभव नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माण र जनताको जनवाद निर्माण एवम् प्राप्तिमा अभिव्यक्त हुनेछ ।