आभास बुढाथोकि

क्रिकेट करियर नछाडेको भए, आज आफूलाई राम्रै खेलाडीका रुपमा स्थापित गरिसकेका हुने थिए प्रदीप मज्गैया । हुन पनि उनीसँगै क्रिकेट खेल्न शुरु गरेका साथीहरु अहिले आफ्नो बेग्लै पहिचान मात्रै बनाएका छैनन् अन्तर्राष्ट्रिय मैदानहरुमा समेत आफ्नो छाप छाडिसकेका छन् । तर उनका लागि भने क्रिकेट एउटा मैदान खेल्ने खेल मात्रै थिएन, जीवनकै एउटा अभिन्न अंग जस्तै थियो । त्यसैले उनले खेलमैदान त छाडे तर क्रिकेट छाडेनन ।

किन छाडे मैदान ?

कम बोल्ने र केही बदल्न पर्छ भन्ने स्वभावका हुन् उनी । त्यो समय थियो, जब जिल्लाको क्रिकेट खेल धेरै पछाडि थियो । ‘क्रिकेटको कस्तो खेल हो भन्ने न धेरैलाई जानकार थियो, न चासो’ । उनले भने–‘खेल्नलाई खेलमैदान थिएन । भएका खेलाडीहरु समेत छरिएका थिए ।’

शुरुमा त उनलाई खेलाडीहरु संगठित र क्रिकेट संघ बलियो हुनु नहुनमा त्यति चासो थिएन, मात्र सोच्थे– ‘कसरी आफ्नो जिल्ला र क्षेत्रलाई चिनाउने हो ?’ तर जब उनी जिल्लालाई प्रतिनिधित्व गर्दै ठूलास्तरका प्रतियोगिताहरुमा सहभागी हुँदै गए अनि देखे–कसरी क्षमताका भन्दा पनि संगठन र ठाउँ हेरेर खेलाडीहरुलाई छनोट गरिदोरहेछ । ‘ठाउँ हेरेर खेलाडीहरुलाई छनोट गरिन्थ्यो’– उनले सुनाए– ‘जिल्लामा हामी थुप्रै राम्रा खेलाडीहरु थियौं । तर माथिल्लोस्तरका खेलहरुको अवसरहरुमा जहिल्यै पछाडि पारिन्थ्यौं ।’

त्यति मात्रै हैन । खेलाडीहरु संगठित नहुनु र क्रिकेट संघ बलियो नभएकै कारण क्रिकेट खेलले न विकासको गति लिन सकेको थियो, न खेलाडीहरुले नै राम्रो अवसर पाउन सकिरहेका थिए । त्यसपछि उनलाई लाग्यो– ‘अब मैदानमा खेल्नु भन्दा पनि क्रिकटेको विकासका लागि लाग्नुपर्छ । र, भोलि आउने खेलाडीहरुलाई अवसरको एउटा बाटो बनाइनुपर्छ ।’

दाङको त्रिकेटलाई माथि उठाउनुपर्छ भनेर नै उनी २०६३ सालमा दाङ क्रिकेट संघमा सचिव भए । ‘पहिलो काम छरिएका खेलाडीहरुलाई संगठित गर्नु थियो’– उनले भने–‘त्यसैको स्वरुप पहिलो प्राथमिकता खेलाडीहरुलाई संगठित गर्नमै लाग्यौं ।’ त्यसरी छरिएर रहेका खेलाडीहरु खोज्न उनी क्लब र टोल टोलमा पुग्थे । कहिले क्रिकेट खेलका बारेमा जानकारी र प्रशिक्षणहरु दिँदै हिँड्थे । ‘फाट्टफुट्ट क्रिकेट खेले पनि धेरैलाई कसरी खेल्नुपर्छ भन्ने नियमहरुका बारेमा समेत जानकार हुँदैनथ्यो’– उनले भने– ‘त्यसैले संगठित र प्रशिक्षणलाई सँगैसँगै अगाडि लग्यौं ।’

त्यसपछि २०७२ सालमा संघको अध्यक्षमा निर्वाचित भए र अझै सक्रिय भएर क्रिकेटको विकासका लागि खटिए उनी । गाउँ–गाउँ, विद्यालय र स्कूलमा पुगेर प्रतिभाहरुको खोजी र उनीहरुलाई फ्रि क्याम्पहरुजस्ता प्रशिक्षणलाई जोड दिएर अगाडि बढे । ‘हाम्रो उद्देश्य राम्रा प्रतिभाहरुलाई उजागर गर्दै उनीहरुलाई बाहिर ल्याउनु थियो’– उनले भने–‘त्यससँगै भएका खेलाडीहरुलाई राम्रो प्रशिक्षण तथा अवसरहरु दिनु पनि थियो ।’ त्यसैको प्रतिफलस्वरुप विद्यालयहरुमा त्रिकेटको क्रेज राम्रै बढ्न थाल्यो । ‘२०७३ सालमा बुम रेमिट विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना ग¥यौं’– उनले भने–‘लगत्तै महिला खेलाडीहरुको लागि पनि क्रिकेट प्रतियोगिता आयोजना ग¥यौं ।’

क्रिकेटमा पुरुषको मात्रै नभएर महिला क्रिकेटहरुको समेत उनले राम्रो सम्भावना देखे । ‘त्यसैले पुरुषसँगै महिलाहलाई पनि अगाडि ल्याउन लागिप¥यौ’– उनले भने–‘त्यसपछि उनीहरुका लागि खेल सामग्री समेत वितरण र महिला प्रतियोगिताहरु ग¥यौं ।’

जिल्लामा क्रिकेटका गतिविधिहरु बढ्न थालेपछि विस्तारै भए पनि खेलप्रति चासो र मोह बढ्दै थियो । खेलाडीहरु मात्रै नभएर, क्रिकेटप्रेमी र दर्शकहरुको पनि विस्तारै आकर्षण बढिरहेकै थियो । तर त्यति मात्रै क्रिकेटलाई माथि उठाउन पर्याप्त थिएन । ‘हाम्रासामु अझै ठूला चुनौतीहरु थिए’– उनले सुनाए– ‘पहिलो कुरा हामीसँग खेल्नलाई मैदान नै थिएन । त्यस्तै प्रशिक्षकहरु थिएनन् ।’ त्यससँगै अर्काे मुख्य समस्या आर्थिक समस्या थियो । क्रिकेटको विकास र खेलाडीहरुको क्षमता विकासका लागि सम्बन्धित निकायहरुलाई समेत पहल गर्दा पनि बजेट छुट्याइएन । ‘व्यक्तिगत र व्यवसायीहरुबाट संकलित सहयोग रकमबाटै क्रिकेट प्रतियोगिता र प्रशिक्षण जस्ता गतिविधिहरु गरिरह्यौं’– उनले भने ।

एक समय थियो, जब उनको नेतृत्वमा खेलाडीहरु खेलमैदानको माग गर्दै सडकदेखि सम्बन्धित निकायसम्म पुग्थे । ज्ञापनपत्र बोकेर कहिले साविक नगरपालिकादेखि साविक जिल्ला विकास समितिसम्म सबै ठाउँ धाउँथे । तर भनेजस्तो कतैबाट न सहयोग पाए न माग नै पूरा भए । तर पनि उनी पछाडि हटेनन् । सरोकारवाला निकायबाट सहयोग नपाए पनि उनी कहिले आफै प्रशिक्षकका रुपमा त कहिले क्रिकेट प्रतियोगिता आयोजना गर्दै आयोजकका रुपमा खटिए ।

उनको नेतृत्वमा संघले गरेको मेहेनतको प्रतिफल विस्तारै आउन थाल्यो । जिल्लामा पनि थुप्रै राम्रा प्रतिभाहरु बाहिर आए । पुरुष खेलाडीहरु मात्रै नभएर राम्रा प्रतिभा भएका महिला खेलाडीहरु समेत निस्किए । त्यसैकारण अहिले दाङबाट लक्ष्मी चौधरीलगायत अन्य महिला क्रिकेटहरु राष्ट्रियस्तरका ठूला खेलहरुदेखि अन्तर्राष्ट्रिय मैदानसम्म आफ्नो खेल प्रदशन गरिसकेका छन् । ‘जिल्लामा महिला क्रिकेटरको राम्रो सम्भावना छ’– उनले भने– ‘मात्रै उनीहरुलाई उचित प्रशिक्षण र अवसरहरु दिइनुपर्छ ।’

२०७४ सालमा उनी पुनः संघको अध्यक्षमा निर्वाचित भए । त्यहाँसम्म आइसक्दा जिल्लाले क्रिकेटमा ठूलो उपलब्धि पाइसकेको थियो । केही भए पनि खेल मैदानहरु निमार्णक्रममै थिए भने बेलाबखत प्रतियोगिताहरु पनि भइराखेका थिए । त्यत्रि मात्रै होइन जिल्लाबाट खेलेका खेलाडीहरुले पनि ठूला खेलहरुमा राम्रो प्रर्दशन गर्दै उत्कृष्ट समेत भइसकेका थिए । हाल जिल्लामा नौजना खेलाडी छन् जो अन्तर्राष्ट्रियस्तरका खेलहरुमा जिल्लालाई मात्रै नभएर देशको नै प्रतिनिधित्व गरिसकेका छन् ।

जब सपना पूरा भयो

त्रिकेटलाई उठाउन भन्दै दिनरात लगेका प्रदीपले एउटा सपना देखेका थिए– ‘जिल्लामा राष्ट्रियस्तरको खेल आयोजना गर्ने ।’ त्यो सपना पूरा हुन समय लागेन । ‘हाम्रो महेनेत र सबैको साथ सहयोगले नै वर्षमै दुईवटा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता आयोजना गर्न सफल भयौं’– उनले भने– ‘यद्यपि चुनौती र समस्या त थुप्रै थिए । तर त्यो स्तरको खेलले जिल्लाको क्रिकेटको सम्भावनाहरुको ढोकासमेत खोलिदियो ।’

त्यससँगै पछिल्लो समय क्रिकेटप्रतिको ह्वातै बढेको क्रेज र मोहका कारण नै दुई राष्ट्रियस्तरका खेलहरु सम्पन्न हुन सकेको उनी मान्छन् । ‘ती खेल जिल्लाका लागि एउटा ऐतिहासिक नै बन्न पुगे’– उनले भने– ‘यसअघि यस्ता ठूला प्रतियोगिताहरु भएका थिएनन् ।’ त्यो भन्दा अझ ठूलो उपलब्धि अब हुन गइरहेको आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको महिला क्रिकेट दाङमा हुनु भएको उनी ठान्छन् । ‘यो नै जिल्लाको क्रिकेटकै अहिलेसम्मको ठूलो उपलब्धि हुनेछ’– उनले भने– ‘भोलिका दिन क्रिकेटका थुप्रै सम्भावना देखेका छौं । ती सम्भावनालाई वास्तविकतामा बदल्न फेरि पनि खटिनु  पर्नेछ ।’