खानेपानी मन्त्रालयको खर्च कटौतीका लागि संशोधन प्रस्ताव पेश

२०७६ असार १६, सोमबार ११:४६ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतीका लागि संशोधन प्रस्ताव पेश गरेकी छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौती गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गरेकी हुन्।

SPONSORED

सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको बजेटमा पदाधिकारीलाई इन्धनका लागि बजेट विनियोजन गरेको थियो। जुन बजेट फजुल खर्च भएकाले त्यसलाई कटौती गरेर एक रुपैयाँ कामय गर्न कांग्रेस सांसद देवकोटाको सरकारसँग माग छ।

SPONSORED

उनले चालू खर्चबाट सो बजेट कटौती गरेर जनताको शुद्ध खानेपानी खान पाउने व्यवस्थाका लागि खर्च गर्न पनि सरकारलाई सचेत गराइन्।

SPONSORED

सांसद देवकोटाले गरिव तथा भूकम्प पीडित जनतालाई उचित खानेपानीको व्यवस्था हुने गरी ठोस योजना ल्याउन पनि सरकारसँग माग गरिन्। उनले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकावासीले कहिले उपयोग गर्न पाउने हो? भनि सरकारलाई प्रश्न पनि गरिन्।