अन्तराष्ट्रिय विमानस्थलको बिरोध नगर्नुस्, ऐलानी जग्गाले पनि मुआब्जा दिन्छौ–सभामुख महरा

२०७५ मंसिर २०, बिहीबार १५:२५ मा प्रकाशित

घोराही। संघीय संसद्का सभामुख कृष्णबहादुर महराले नारायणपुरवासीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बिरोध नगर्न अपिल गर्नुभएको छ । बुधबार दिउँसो दाङ आएलगत्तै नारायणपुर वडा कार्यालय पुगेर महराले त्यहाँ सहभागी स्थानीयहरुलाई विमानस्थलले समग्र दाङको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

‘हामी कहिले पनि विकास बिरोधी हुनुहुँदैन, स्थानीयका समस्या समाधान गरेर विमानस्थल निर्माण गर्नुपर्छ’, महराले भन्नुभयो, ‘विमानस्थल बनाउँदा स्थानीयहरुका ऐलानी जग्गाको पनि मुआब्जाको व्यवस्था गरिन्छ ।’ विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता नियुक्त भइसकेको जानकारी दिँदै उहाँले तत्काल प्रकृयागत काम सुरु हुने जानकारी दिनुभयो ।

नेपाल सरकारको बजेटले मात्र विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुन नसक्ने उल्लेख गर्दै उहाँले त्यसका लागि निजी क्षेत्रको लगानी खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘निजी क्षेत्रको लगानी भिœयाएर लिजमा सञ्चालन गर्न दिने गरी निर्माण गर्नुपर्छ’, महराले भन्नुभयो, ‘विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न मैले अन्तर्राष्ट्रिय दातृनिकायहरुसँग पनि पहल गर्छु ।’

दाङको विकासका लागि सबै जनप्रतिनिधिहरु एक भएर अघि बढ्नुपर्ने उहाँले आवश्यकता औंल्याउनुभयो ।