२१ कात्तिक, काठमाडौं । दुई दशकअघि मुलुकमा र कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको जगजगी चलेका बेला कोइराला क्याम्पमै एउटा चर्चित ग्रुप थियो-एकेबीजी । त्यो ‘एकेबीजी ग्रुप’सँग आरएसएस भन्ने अर्को ‘सिनियर टोली’ पनि त्रसित थियो । तर, यी सबैका नेता थिए गिरिजाप्रसाद ।

र, गिरिजाप्रसादका यी फौजहरुबाट गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईमाथि पनि बेला बेलामा आक्रमण हुने गर्दथ्यो ।

एकेजीबी अर्थात- अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र बिजयकुमार गच्छदार । उनीहरुबीच कसले कोइरालाको विश्वास बढी आर्जन गर्ने भन्नेमा मात्र होइन, कसले बढी धन आर्जन गर्ने भन्नेमा पनि तीब्र प्रतिस्पर्धा थियो ।

धन आर्जन गर्नेमा अन्य तीनजनासँग प्रतिस्पर्धामा पछि परे पनि वाकपटुताका कारण अर्जुननरसिंह केसी कोइरालाका प्रवक्ता मानिन्थे ।

कांग्रेसमा उनीहरुभन्दा सिनियर अर्को गुट थियो ‘आरएसएस’ । अर्थात- रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरवहादुर देउवाको टोली ।

गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई गिरिजाप्रसादले लखेट्दा एकेजीबी र आरएसएस दुबै टोलीले साथ दिएका थिए । यद्यपि शेरबहादुर देउवा ०५३ मा प्रधानमन्त्री भएपछि उनी कोइरालाबाट टाढिँदै गए ।

यो दुई दकअघिको प्रसंग किन ताजा गराइएको हो भने मंगलवार कांग्रेस केन्द्रीय कार्य समितिको बैठकबाट रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाहरुको बिरोधका बीच बिजयकुमार गच्छदार उपसभापतिमा मनोनित भएपछि कांग्रेसमा नयाँ समीकरणले आकार लिएको छ । त्योबेलाका एकेजीबी समूहका चारमध्ये एकपात्र गच्छदार एकाएक पुनः कांग्रेसमा बलियो बनाइएका छन् ।

एकेजीबी समूहका प्रभावशाली पात्र खुमवहादुर खड्का अब यो संसारमा छैनन् । गोविन्दराज जोशी कांग्रेस राजनीतिबाट लगभग विस्थापित भइसकेका छन् । अर्जुननरसिंह केसी देउवाको महामन्त्री उठेर हारेपछि अहिले घुमिफिरी रामचन्द्र- सिटौला समूहसँग सहकार्यमा छन् ।

यही मौकामा समीकरणका खेलाडी देउवाले मंगलबार अर्जुननरसिंहको अभाव पूरा गर्दै थप क्षतिपूर्तिसहित गच्छदारलाई विधान विपरीत उपसभापतिमा मनोनित गरेका छन् ।

आरएसएस समूहका तीनजना नमिल्दा गिरिजाप्रसाद कोइरालाले एकाएक सुशील कोइरालालाई अघि बढाएका थिए । देउवाले आफूलाई छाडेर हिँड्नु, रामचन्द्रको आँट नदेखिनु, शैलजामा आदर्श बढी हुनुका कारण गिरिजाले आफ्नो विरासतमा सुशीललाई खडा गरेका थिए । नभन्दै शैलजा डिप्रेसनका कारण अल्पायुमै बितिन् भने शेरवहादुर र रामचन्द्रलाई उछिनेर सुशील कार्यवाहक हुँदै कांग्रेसको निर्वाचित सभापति बने ।

 अहिले पनि आरएसएसमध्ये रामचन्द्र र शेरबहादुरको प्रतिस्पर्धा भइरहेको छ । तर, रामचन्द्रलाई एकपछि अर्को कमजोर बनाउने कडीका रुपमा देउवाले गच्छदारलाई उपसभापति र संसदीय दलको उपनेता बनाएका छन् ।यति गरेपछि महासमिति बैठकबाट आफूले चाहे बमोजिम बिधान परिवर्तन गर्न सकिने आँकलन देउवाको हुनुपर्छ । सत्ताभन्दा बाहिर आफ्नो जीवन नदेख्ने गच्छदारले पनि अरु धेरै नसोची कांग्रेसभित्रको लडाइमा पार्टीको सत्तापक्षलाई साथ दिएका छन् ।

राज्यसत्ता र पार्टीसत्ता गच्छदारको प्राण

बिजय गच्छदार सधैं सत्तापक्ष हुन् । चाहे पार्टीसत्तामा होस्, वा राज्यसत्तामा । उनी सत्ताभन्दा बाहिर बस्न सक्दैनन् । चुनावअघि कांग्रेसमा फर्किएकोमा गच्छदारले यसबीचमा सार्वजनिकरुपमै पश्चाताप गरिसकेका थिए ।

यदि तत्कालीन बाम गठबन्धनसँग मिलेको भए कम्तिमा एक थान उपप्रधानमन्त्रीसहित मालदार मन्त्रालय सुरक्षित हुने थियो भन्ने उनको मनमा परेकै हो । त्यसैले राज्यसत्ताबाट पहिलोपटक बिमुख भएका गच्छदारले पार्टी सत्तामा देउवालाई साथ दिने ठाउँमा आइपुगेका छन् ।

उनले यसबीचमा पटक पटक पार्टीमा फर्किएका बेला गरिएको सम्झौता लागू नभएको भनेर बार्गेनिङ गरिरहेका थिए । तत्कालीन फोरम लोकतान्त्रिकको कार्यालयका फर्निचरदेखि सबै चल-अचल सम्पत्ति आफ्नो घरमा लगेर थन्क्याएका गच्छदारले सबैभन्दा पहिले आफ्नो व्यवस्थापन गर्न देउवालाई दबाव दिएकै हुन् ।

गच्छदारको व्यवस्थापनपछि अब उनले कम्तिमा पनि योगेन्द्र चौधरी, रामजनम चौधरी, गोपाल दहित, गुण्डानाइके भनिएका गणेश लामा लगायतको व्यवस्थापनका लागि देउवालाई दबाव दिइरहेका छन् ।

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्य समितिमा थप मनोनयन गर्ने अवस्था छैन । स्वयं गच्छदारको मनोनयन विधानविपरीत भनिएका बेला गच्छदारका मान्छेको व्यवस्थापन उनले कसरी गर्छन् ?

यद्यपि महासमितिबाट बिधान संशोधन गर्ने गरी मिलाउने आश्वासन देउवाले दिएको कार्यकर्ताहरुको भनाइ छ । महासमितिको संख्या आफू अनुकुल नहुन्जेल पटक-पटक देउवाले बैठक सार्छन् भन्ने आरोप लागेकै हो । पौडेल र सिटौला पक्षले चौधौं महाधिवेशनपछि दुई सभापति राख्ने भए पनि राखौंला विधान विपरित नगरौं भन्दा देउवाले नमानेको आरोप छ ।

कांग्रेसमा गच्छदारको गच्छे

मधेस आन्दोलनमा मान्छे मरिरहेका बेला गच्छदार सत्ताका लागि सम्झौता गरेर केपी ओलीको उपप्रधानमन्त्री बन्ने नेता हुन् । ०६३ को मधेस आन्दोलनपछि तराई-मधेसमा कांग्रेस कमजोर हुने देखेरै उनी सत्ताकै लागि रातारात मधेसवादी बनेर कांग्रेस छाड्दै उपेन्द्र यादवको नेतृत्वमा फोरममा पुगेका थिए । तर, चुनाव लगत्तै उनले सत्ताका लागि फोरम फुटाए ।गच्छदारले राज्यसत्ताबाट कम्तिमा चार वर्षका लागि हात धुनु परे पनि पार्टी सत्तामा भने दोस्रो बरियता पाएका छन् । गच्छदारका लागि सत्ता प्राण हो ।

त्यसो त कांग्रेसको राजनीतिमा पनि गच्छदार सधैं सत्तामा रहे । ०४८ सालको संसदीय निर्वाचनमा सुनसरीबाट जितेपछि उनी सधैं सत्तामा रहे । पार्टीभित्र पनि उनी गिरिजाप्रसाद कोइरालाका लागि ज्यान दिन पछि पर्दिन भन्थे । २०५९ सालमा जब गिरिजाले शेरवहादुर देउवालाई निश्कासन गरेर कांग्रेस फुट्यो त्यसपछि उनी देउवालाई भन्दा पनि सत्तालाई साथ दिन गिरिजाबाट अलग भएर देउवाको पार्टीमा महामन्त्री बने ।

०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले देउवा सरकार अपदस्थ गरेपछि गच्छदार मन्त्री पदबाट स्वतः बर्खास्त भए । देउवासहित अन्य मन्त्रीहरुले राजाको कदम प्रतिगामी भनेर बिरोध गरे । तर, गच्छदारले राजाको बिरोध गरेनन् । भनिन्छ, भ्रष्टाचारको मुद्दाबाट जोगिन उनले तत्कालीन अवस्थामा राजाको कदमको समर्थन गरेका थिए । नभन्दै भ्रष्टाचारमा गन्हाएका कांगेसका धेरै नेता अख्तियारबाट कारवाहीमा पर्दा गच्छदार जोगिए ।

३० को दशकमा विद्यार्थी आन्दोलन चर्किरहेका बेला महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको नेतृत्व गर्दै चर्चामा थिए गच्छदार । त्यसो त तत्कालीन नेकपा माले निकट अनेरास्ववियुका नेता फणिन्द्र तिम्सिनाको हत्यामा गच्छदारको नाम मुछियो भने गोली काण्डमा उनको एउटा आँखा फुट्यो । पछिसम्म पनि अखिलका नेताहरुले भाषण गर्दा गच्छदारलाई फणिन्द्रको हत्यारा भनेर आरोपित गर्थे । यद्यपि त्यसको स्वतन्त्र पुष्टि भएन ।

 थारु समुदायबाट राजनीतिमा आएका गच्छदार कांग्रेसमा ०४८ पछि गिरिजाप्रसादको आडभरोसामा अगाडि आएका हुन् । ०५४ सालतिर कांग्रेसको दशौं महाधिवेशन भयो । त्यसअघि कांग्रेसमा सभापति बाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्य मनोनित हुन्थे । पहिलो पटक तत्कालीन ५ विकास क्षेत्रबाट ५ जना सदस्य निर्वाचित हुने बिधान कांग्रेसमा बन्यो ।सो महाधिवेशनमा पूर्वाञ्चलबाट गिरिजाका भतिजा प्रकाश कोइराला र अर्का नेता मणि लामालाई हराउँदै गच्छदार केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनी कांग्रेसमा निकै प्रभावशाली नेता बनेर उदाए । पहिलोपटक कांग्रेसमा ५ विकास क्षेत्रका कमाण्डर चयन हुँदा पूर्वान्चलबाट गच्छदार आए । मध्यमाञ्चलबाट भीमबहादुर तामाङ,पश्चिमाञ्चलबाट रामचन्द्र पौडेल, मध्यपश्चिमबाट सुशील कोइराला र सुदूरपश्चिमबाट शेरबहादुर देउवा निर्वाचित भएका थिए ।

त्यसपछि कांग्रेसमा गच्छदारको प्रभाव अझ् बढ्दै गयो उनी सदावहार मन्त्री त छँदै थिए, पार्टी केन्द्रीय समितिमा पनि प्रभावशाली नेता बन्दै गए । कांग्रेस फुटेपछि प्रजातान्त्रिक कांग्रेसको महामन्त्री भएका गच्छदार करीव एक दशक कांग्रेस बाहिर मधेसवादी राजनीतिमा लागे । मधेसवाद त उनको सत्तायात्राको नयाँ भर्‍याङमात्र थियो, त्यसैले उनी अलग पार्टी चलाएर बसे ।

एक दशकपछि कांग्रेसमा फकिर्ंदा उनले कांग्रेस यो हालतमा पुगेर पराजित होला र आफू सत्ता बाहिर पुग्नुपर्ला भन्ने सायदै सोचेका थिए । तर, कांग्रेस पार्टी सत्तामा गच्छदार पुनःस्थापित हुँदा आफूभन्दा धेरै जुनियर बिमलेन्द्र निधीको समकक्षमा बस्नुपरेको छ ।

कांग्रेसमा बिजय गच्छदारको यो घटुवा हो कि बढुवा ? प्रश्नको उत्तर प्रष्ट छैन । तर, एउटा के चाहिँ सत्य हो भने उनी कांग्रेसमा फेरि एकपटक प्रभावशाली बनेका छन् ।

  गच्छदारको पुनरागमनले कांग्रेसमा फेरि उनका समकक्षी र उनीभन्दा पछिका तर नेतृत्वका दाबेदार कतिपय नेताहरुलाई झस्काएको छ । तत्कालका लागि देउवालाई भने महासमिति बैठकमा आफ्नो हात बलियो बनाउन गच्छदारको साथ मिलेको छ ।अर्को सम्भावना चाहिँ के हो भने पछिल्लो समय सुजातादेखि शेखरसम्मलाई सताएका गच्छदारको उपसभापतिमा मनोनयन र देउवाको अतिरिक्त आशक्तिले कोइराला परिवारलाई चिढ्याएकै हुनुपर्छ । बिमलेन्द्र निधीको शीरमा पनि देउवाले तरवार झुण्ड्याएको टिप्पणी भइसकेको छ । गच्छदारलाई दलको उपनेता र पार्टीको उपसभापति बनाइँदा देउवाका निकटस्थहरु पनि सशंकित बनेका छन् ।

यसको नाफा-घाटाको हिसाब-किताब त महासमिति बैठक वा महाधिवेशनमै देखिएला, तर तत्कालका लागि भने गच्छदारको गच्छे बलियो भएको छ ।

अहिलेसम्मको पार्टीभित्रको बरियता हेर्दा शेरबहादुर देउवापछि रामचन्द्र पौडेल र त्यसपछि विमलेन्द्र निधी छन् । विमलेन्द्रपछिको बरियतामा डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सीतादेवी यादव र प्रकाशशरण महत छन् ।