तुलसीपुर,
१७-कात्तिक /  नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य घनश्याम भुसालले सहिदहरुको बलिदानीलाई खेर जान दिन नहुँने बताएका छन । दाङको बिजौरी गोलीकाण्डको २४ स्मृति दिवसमा आज दाङमा आयोजित ‘नेपालको राजनैतिक परिबर्तनमा शहिदहरुको योग्दान र भावी दिशा’ बिषयक बिचार बमर्स कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले सहिदहरुको त्याग,रगत र बलिदानीले नै मुलुकले संबिधानसभाबाट संबिधान प्राप्त गरि समृद्धिको मार्गमा अघि बढेको उनको तर्क थियो ।

अबको कार्यदिशा सहिदहरुले नेपालको समृद्धिका लागि गरेको बलिदानीलाई आत्मसात् गर्दै समृद्ध मुलुक निर्माण गर्नुपर्ने कर्तब्य रहेको समेत उनको भनाई थियो । ‘नेपाललाई यो मार्गसम्म ल्याउन सहिदहरुको भूमिका एकदमै महत्वपूर्ण छ’ उनले भने‘ समृद्ध मुलुक बनाउने उहाँहरुको चाहानलाई आत्मसात् गर्नुपर्छ, शहिदरको रगत खेर जान दिनुहुँदैन् ।’

अर्को फरक प्रसंगमा नेता भुसालले मुलुकलाई समृद्ध बनाउन सबैभन्दा पहिले ब्यापार घाटालाई पूर्ति गर्नुपर्ने उनको भनाई छ ।‘अहिले हामीले एक रुपैयाँमा सामान बिक्री गरेर १५ रुपैयाँको सामान किन्ने अबस्थामा छौं ’ उनले भने ‘यसले हामी १५ गुणा ब्यापार घाटामा छौं, यसलाई पूर्तिगर्नुपर्ने हाम्रो पहिलो कार्यभार हो ।’ अर्थतन्त्रको विकास हुन सकेन्, भने मुलुकलाई समृद्ध बनाउने सपना अधुरै रहने उनको भनाई थियो ।

साथै उनले पार्टीको एकता प्रक्रियालाई समयमै टुंग्याउनु पर्ने भएपनि बिभिन्न कारणले समस्या देखिएको भन्दै यसलाई हल गरेर लैजाने समेत बताए । अहिले पार्टीमा बिकृति फैलिएको भन्दै तल्ला कमिटी देखि मथिल्ला कमिटीमा पार्टीलाई सुधार गरेर लैजानुपर्ने भएकाले पनि ढिला भएको उहाँको भनाई थियो । त्यस अवसरमा प्रतिनिधिसभा सदस्य मेटमनी चौधरीले पार्टीमा बिधि र बिधान विपरित जिम्मेवार दिने काम भएको बताए । पार्टीको एकताको क्रममा नातावाद र कृपावाद भएको उनको आरोप छ ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) दाङ र पूर्ब युवा विद्यार्थी समाज दाङको अयोजनामा कार्यक्रम भएको हो । टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुरामनी बेलबासेले गरेका थिए ।