भालुवाङमा बृहत्त पत्रकार भेटघाट कार्यक्रम सम्पन्न
सन्तोषकुमार गुप्ता, भालुवाङ
१६ कार्तिक/ दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय सांसदमा प्रतिनिधित्व गरेका प्रतिनिधि सभाका माननीय सांसद मेटमणि चौधरीले सञ्चारजगतलाई आँच पुग्ने म बाट कुनैपनि काम हुने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । देउखुरी टुडे राष्ट्रिय साप्ताहिक भालुवाङले बिहिबार देउखुरीको भालुवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद चौधरीले यस्तोे प्रतिबद्धता व्यक्त गरेका हुन् ।

साप्ताहिकका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ताको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद चौधरीले समाचार संकलन तथा सम्प्रेषण गर्न सहज र सरल होस् भन्ने उदेश्यले आफ्नो निर्वाचन क्षेत्रमा कृयाशिल पत्रकारहरुलाई सांसद विकास कोषको रकमबाट मंसिरको दोस्रो हप्ता सम्म एक:एक थान ल्यापटप प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । विभिन्न संचारमाध्यमहरुमा कार्यरत पत्रकारहरु संग राप्ती उद्योग बाणिज्य संघ भालुवाङको बैठककक्षमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले राखेको विभिन्न प्रश्नहरुको जवाफ दिनेक्रममा सांसद चौधरीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै सांसद चौधरीले धानखोला देखि लमहीसम्म जीर्ण भएको पूर्व—पश्चिम राजमार्गको पुर्ननिर्माण र बिस्तारको काम अब छिट्टै शुरु हुने बताए । उनले आफ्नो पहलमा दाङ जिल्लाको भारतीय नाका संग जोडिएको लमही—कोइलाबास सडक खण्ड निर्माणका लागि आफूले जोडद्धार पहल गरेको र सोही बमोजिम अहिले तीब्र रुपमा काम अघि बढेको जानकारी दिए ।

उक्त सडक खण्डलाई कालोपत्रे गरी सञ्चालनमा ल्याउनका लागि आठ सय करोड रकम समेत बिनियोजन गरिएको जानकारी दिए । साथै सांसद चौधरीले कालाकाटे—गढवा, बेला, राजपुर हुँदै दाङ र बाँकेको सिमाना जोड्ने हातबाज खोखरी मार्ग अबको केही बर्षमा मुख्य हाईवे राजमार्ग बन्ने र अहिलेको पूर्व—पश्चिम राजमार्ग साना गाडीमोटर चल्नका लागि प्रयोग हुने गरी सरकारले काम अघि बढाएको र केही महिनामा काम शुरु हुने बताए ।

पत्रकार भेटघाट कार्यक्रममा सांसद चौधरीले देउखुरीको भालुवाङ पुल्चोक बजारलाई मात्र नभई देशभरिका एक लाख ९२ हजार हेक्टर क्षेत्रफलमा बसोबास गर्दै आईरहेका जनताहरुलाई स्थायी रुपमा बसोबासको ब्यबस्थापन मिलाउन अब आउने संघीय संसदको हिउँदे अधिवेशनमा अलगै कानुन बनाएर लालपुर्जा बितरण गर्ने तयारीमा समेत आफू लागेको खुलासा गरे । त्यस्तै उनले निर्वाचनको बेलामा सबै भन्दा बढी र सबै ठाउँमा म बोल्दै आएको खरको छाना हटाई टिनको छानो लगाउने कार्यक्रम अब राष्ट्रिय कार्यक्रम बन्न सफल भएको जानकारी दिए ।

साथै यो राष्ट्रिय कार्यक्रमले अब मेरो निर्वाचन क्षेत्रमा मात्र नभई देशभरि नै खरको छानो हटाई टिनको छानो लगाउने कार्य यही मंसिर देखि शुरु गर्ने गरी बजेट बिनियोजन लगायतका सम्पूर्ण कार्य पुरा भएको छ सांसद चौधरीले भने । सांसद चौधरीले म सानै देखि अभाव, दुखकष्ट भोगेको मान्छे हो । मैले जीवनमा ठुलो दुखकष्ट र अभाबहरु भेगेको छु भन्दै कार्यक्रममा अनुभव सुनाउँदै सांसद चौधरीले भने—गाउँमा हामी जमिनदारका रुपमा गनिथ्यौं । हाम्रो १४ बिघा खेत थियो ।

हाम्रो बुवा कम्युनिष्ट पञ्च अवथा जमिनदार भएकै कारणले होला अढिया गर्नेहरुले पनि त्यत्रो खेतबाट जम्मा तीन÷चार छिटुवा धान दिन्थे । त्यही रिसमा बुवाले सबै जग्गा पनि बेचिदिनु भयो । बुवा पार्टीको ठुलै नेता भएपनि घरको व्यवस्थापनमा खासै ध्यान नदिएकै कारण बर्षेनी बर्षायाम हाम्रो घरको खरको छानाबाट पानी चुहिरहन्थ्यो र बुवाआमा बीच ठुलो झग्डा पनि हुन्थ्यो । त्यति बेला म कक्षा २ मा पढ्थे । अनि त्यति बेला नै मैले सोचेको थिए । जब म ठुलो भएर यो देशको सांसद वा मन्त्री बन्छु अनि मेरो घर र गाउँभरिको खरको छाना हटाउनेछु । मैले २९ बर्ष पहिले सोचेको योजना आज राष्ट्रिय कार्यक्रम बन्न सफल भएको छ, यो मेरो मात्र नभई सिंगो नेपाली जनताको ठुलो सफता हो, उनले भने ।

त्यस्तै सांसद चौधरीले अबको पाँच बर्ष भित्र राप्ती गाउँपालिकामा देउखुरीकै एक मात्र सुविधा सम्पन्न एयरपार्ट बनाएर छोड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । जसका लागि यस ठाउँमा दुई पटक सर्वे समेत गरिएको र अब चल्ने संघीय संसदको हिउँदे अधिवेशनबाट आवश्यक बजेट विनियोजन गरेर काम शुरु गर्ने जानकारी दिए । उनले बगार बाबा धार्मिक पर्यटन क्षेत्र, देबीकोट भद्राक्ष प्राचिन मन्दिरको विकास, बागनाथ बाबा जंगलकुट्टी गोबरडिहा खौरहा बाबा मन्दिर सिसहनियाँ लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा जोड दिनेगरी गुरुयोजना बनाउन लागेको जानकारी दिंदै सांसद चौधरीले स्वर्गद्धारी तपोभूमिलाई सहज रुपमा दर्शन गर्न आउने तिर्थालुहरुका लागि पनि दाङ, होलेरी, मुकुर्टी, प्यूठान सडकहरुलाई व्यबस्थीत गर्ने जानकारी दिए ।

साथै सांसद चौधरीले पूर्वमा बर्राबास—लाहापे जोड्न राप्ती नदीमा पक्की पुल निर्माणका लागि केन्द्रमा पहल गर्ने, पश्चिममा हातबास—अमेलिया जोड्ने देउखुरीकै सबैभन्दा छोटो दुरी ओगटेको राप्ती नदीमा पक्की पुल निर्माणमा जोड दिने, देउखुरीको राजपुर महटेनियाँ खोला, राप्ती गाउँपालिकाको पहाडी भाग देबीकोट, करङ्गकोट, चित्रीकोट, थकरीकोट लगायतका बस्तीहरुमा बिद्युत बिस्तार गरेर अगामी बर्ष देखि पूर्ण रुपमा अन्ध्यारो मुक्त बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै सांसद चौधरीले आफ्ना निर्वाचन क्षेत्रभित्रका शिक्षा, स्वास्थ्य, खानेपानी लगायत तालतलैयाहरुको संरक्षण र विकासमा सक्रिय रुपले लाग्ने बताए । उनले आफ्ना ठाउँमा भएका सबै समस्याहरु जनकारी गराउन अनुरोध गर्दै सबै समस्याको हल आफूले गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पत्रकारहरुले भालुवाङ क्षेत्रमा पछिल्लो समयमा भएका हत्या वा आत्माहत्याका घटना तीब्र रुपमा बढेकोले आम नागरिकमा भएको त्रास पैदा भएकोप्रति सुरक्षा स्थति के छ ? भन्ने जिज्ञासामा सांसद चौधरीले नागरिकको सुरक्षाका लागि राज्यका सबै सुरक्षा निकाय संग समन्वय गरी शान्ति, सुरक्षा र आम नागरिकका लागि भयमुक्त बाताबरण कायम गर्न पहल गर्ने बताए । यता एक आर्को प्रशङ्गमा सांसद चौधरीले प्रदेश नम्बर ५ को स्थायी राजधानी भालुवाङको आसपासमा बनाउने अन्तिम तयारी भईरहेको बताए ।

स्थायी राजधानी दाङ वा बुटवल बनाउने बिषयमा प्रदेश संसदमा दुई तिहाई बहुमत कतै पनि नपुग्ने अवस्था भएकोले सबै जिल्लाको केन्द्रबिन्दु मानेर भालुवाङकै आसपासमै हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रमका सभाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्षद महेशचन्द्र रिजाल, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेल, भालुवाङ होटेल व्यवसाय संघका अध्यक्ष महेश बेल्बासे, ऐरावती आर्दश बहुमुखी क्याम्पसका प्रशासन प्रमुख सन्तोषकुमार योगी, राप्ती कला केन्द्रका उपाध्यक्ष बिक्रम पाण्डे, ग्लोबल युथ क्लबका सचिव सुमन ज्ञवाली, कोषाध्यक्ष बिशाल ज्ञवाली र आशाका किरणहरुका अध्यक्ष सुर्यकिरण केसीले आ—आफ्नो जिज्ञासा सहितको धारणा व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा पहेलो पेज डटकमका सम्पादक भानु जिएम, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, पत्रकारहरु कमल गिरी, जमिर शाह, असोक बेल्बासे र रितु राना लगायतले आ—आफ्नो प्रश्न राखेका थिए । कार्यक्रमको सञ्चालन देउखुरी टुडे राष्ट्रिय साप्ताहिकका सह—सम्पादक बिदुर एमसीले गरेका थिए ।