तुलसीपुर, कार्तिक ८ । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले भ्रष्टाचारी र कमिशनखोरलाई देख्न पनि नसक्ने बताउनुभएको छ । साना किसान कृषि सहकारी संस्था शान्तिनगर ७ खैरेनीले स्थापना गरेको दुग्ध चिस्यान केन्द्रकोे अनुगमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय विकासका नाममा आएको बजेटलाई बाँडीचुडी खाने गरेको जनगुनासो आफू कहाँ आउने गरेको बताउनुभयो ।

‘२५ लाख बजेट आउँछ । १५ लाखमा काम सकिन्छ’, सदस्य केसीले भन्नुभयो, ‘कमजोर संरचना निर्माण गरेर अरु बाँडेर खाने गरिन्छ ।’ भ्रष्टाचार र कमिशनले मुलुक समृद्धिको यात्रामा अघि नबढ्ने भन्दै उहाँले आफनो ठाउँमा निर्माण भइरहेका भौतिक पूर्वाधारको अनुगमण गरी गलत कार्यका विरुद्ध खबरदारी गर्न जनतालाई आग्रह गर्नुभयो ।

सहकारीका अध्यक्ष टेकबहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गिरिराज बस्नेत, नेकपाका नेता टीकाराम रिजाल, सुरेश आचार्य, माध्यमिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक गोविन्द घर्ती, युवा संघ क्षेत्र नं ३ का अध्यक्ष टोपबहादुर बुढाथोकी, युवा संघ जिल्ला सदस्य सन्तोष वली, सहकारीका सदस्य डिल्ली पाण्डेलगाएतले विकासको दृष्टिकोणलेपछि परेको पश्चिम दाङको विकासका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

गत भदौमा १९ लाख ७१ हजारमा निर्माण गरिएको चिस्यान केन्द्रमा हाल एक सय लिटर दूध संकलन भइरहेको सहकारीका प्रवन्धक लालबहादुर शाहीले जानकारी दिनुभयो । त्यहाँ अहिले दूध, दही, पनिर, आइसक्रिम, घिउ उत्पादन र बिक्रि बितरण हुँदै आइरहेको छ ।