तुलसीपुर ७ कार्तीक
प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले गलत काम गर्ने युवाका लागि नेपाल कयम्युनष्टि पार्टी (नेकपा) भित्र ठाउँ नभएको बताउनुभएको छ । युवा संघ नेपाल क्षेत्र नं ३ ले तुलसीपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ध्वंसात्मक गतिविधी गर्ने भन्दा पनि देश निर्माण गर्ने युवाको खाँचो रहेको बताउनुभयो । युवा, समाज रुपान्तरणको संभाहक भएको भन्दै उहाँले नेपाल कम्युनिष्ट पार्टीमा गोल बद्ध भएका युवाहरु अनुशाशित र मर्यादित हुनु पर्नेमा जोड दिनुभयो ।
‘पार्टीमा ल्याउनु छ भन्दैमा कुलतमा लागेका र समाजमा उछृङखल काम गर्ने युवा हामीलाई चाहिदैन,’ सदस्य केसीले भन्नुभयो, ‘हामीलाई पार्टी र देश निर्माणमा जुट्ने युवाको आवश्यक छ ।’ युवाकै कारण देशमा ठूलो परिवर्तन आएको भन्दै उहाँले अब समृद्ध नेपाल निर्माणका लागि अघि बढ्ने बेला भएको बताउनुभयो । कार्यक्रममा युवा संघ नेपालका प्रदेश प्रमुख मनोहर बुढाथोकीले अन्याय र अत्याचारका विरुद्ध लाग्ने युवाहरु सधै समाजको डर नभई भर बन्नु पर्ने बताउनुभयो ।

सो अवसरमा आदित्य नेपाली (एनएक्स) को नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ६६ जना युवा नेकपा प्रवेश गरेका थिए । युवा संघ नेपाल क्षेत्र नं ३ का अध्यक्ष टोपबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनष्टि पार्टी नेकपाका नेताहरु विनोद शर्मा, शेवकराम भण्डारी, सुरेश आचार्य, मिनराज वली, वाइसिएलका पूर्व केन्द्रिय सदस्य अम्मर नेपाली (माईकल) तुलसीपुर उपमहागनरपालिका १८ नम्बर वडा अध्यक्ष माधव वली, तुलसीपुर चेम्बर अफ कमर्सका सल्लाहाकार कृति भण्डारी, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मीनराज भण्डारी, खिमप्रसाद कडेल लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन युवा संघ दाङका सदस्य सन्तोष वलीले गर्नुभएको थियो ।