केशरमान बुढाथोकी

दाङ, २६ असोज । दाङको बंगलाचुली गाँउपालिका अन्तर्गत कमिरेचौरमा १५ शैयाको अस्पताल बन्ने भएको छ ।

नयाँ संविधान लागू भइ देश नयाँ संरचनामा गए संगै प्रत्येक स्थानीय तहमा एउटा १५ शैयाको सुबिधा सम्पन्न अस्पताल बनाउने सरकारी योजना अनुसार दाङको कमिरेचौरमा पहिलो अस्पताल बन्ने भएको हो ।

कमिरेचौरमा आज शुक्रवार एक कार्यक्रमको आयोजना गरि दाङ क्षेत्र नं २ का जनप्रतिनिधि तथा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले उक्त लोकप्रिय कार्यको घोषणा गरेका हुन ।

जनताको स्वास्थ्य संग प्रत्यक्ष सम्बन्ध राख्ने उक्त जनप्रिय कार्यको घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका सभामुख महराले अब तत्काल अस्पतालको आफ्नै सुबिधासम्पन्न भवन निर्माण गर्ने कार्य युद्धस्तरमा अगाडी बढ्ने बताए ।

तत्कालका लागि संसद बिकास कोसको रकम प्रयोग गरेर भएपनी अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउने र आवश्यकता अनुसार नेपाल सरकारबाट बजेटको ब्यबस्था गरेर अस्पताल निर्माण कार्य सम्पन्न गर्ने महराको भनाइ थियो ।

प्राय जसो प्रती महिना आफ्ना मतदातालाई भेट्न मतदाताको घरदैलोमा पुग्ने सभामुख महराले अस्पताल निर्माण भए संगै अस्पतालका लागि आवश्यक पर्ने सम्पुर्ण सामाग्रीको ब्यबस्था गरेर गाउँमै उच्च स्तरको स्वास्थ्य सेवा दिने बताए ।

अस्पताल निर्माण घोषणा कार्यक्रममा नेकपा संसदीय दलकी सचेतक तथा प्रतिनिधि सभा सदस्य शान्ता चौधरी , नेकपाकी केन्द्रीय सदस्य तथा पुर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधि सभा सदस्य रेखा शर्मा , नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य बिमल , बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओली , नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र ओली लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।