घोराही । पूर्वमन्त्री तथा सांसद् रेखा शर्माले राप्ती गाउँपालिका स्थित भृकुटी महिला बचत तथा ऋण सहकारी संस्थालाई कम्प्यूटर प्रदान गरेकी छन् ।

निर्वाचनको समयमा उनले सहकारीमा लागेका महिलाहरुलाई प्रोत्साहन गर्न कम्प्यूटर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । सो सहकारी २०५५ सालमा स्थापना भएको हो । २५ रुपैयाँ बचतबाट शुरु भएको सहकारीको अहिले कुल पूँजी करिव ६ करोड रुपैयाँ पुगेको छ ।

कम्प्पुटर हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले समृद्ध मुलुक निर्माणका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताईन् । नेपालले तीन खम्वे अर्थतन्त्र अवलम्वन गरेको उल्लेख गर्दै शर्माले सहकारीको माध्यमबाट महिलाहरुको जीवनस्तरमा सुधार ल्याउनुपर्ने धारणा व्यक्त गरिन् ।

‘मुलुकको विकासका लागि महिलाहरुको पनि अर्थतन्त्रमा पँहुच हुनुपर्छ,’ उनले भनिन्, ‘समाजवादी अर्थतन्त्र स्थापनका लागी सहकारीहरुको भूमिका महवत्वपूर्ण हुन्छ ।’

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ ले मुलुकको समृद्धिका लागि सहकारीको विकास गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

संस्थाकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष नुमानन्द सुवेदी, वडा नं २ का अध्यक्ष जगत थापा, वडा नं ३ का अध्यक्ष चन्दु चौधरी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।