सधैं बन्दुकको डर

२०७५ मंसिर १, शनिबार १७:१८ मा प्रकाशित

 

सधैं बन्दुकको डर

– नरेश फुयाँल

तत्कालीन जहानियाँ राणा शासनले घुँडा टेकेपछि वि.सं. २००७ सालमा प्रजातन्त्रको उदय भयो । दलहरू स्वतन्त्र भए । राजनीति गर्न सहज वातावरण तयार भयो । शासनसत्ता र राजनीतिप्रति चासो राख्नेहरू राजनीति गर्न थाले । नारायणप्रसाद शर्मा पनि त्यसैमध्येका एक थिए । कम्युनिस्ट विचारधाराप्रति झुकाव थियो । कम्युनिस्टलाई समर्थन गरे । राजनीति शुरु गरे ।

 राजनीति गर्नेलाई घटनाक्रमप्रति चासो हुन्थ्यो । स्वाभाविक पनि थियो । त्यसलाई जनतासम्म पुर्‍याउन पाए हुन्थ्यो भन्ने चाहना हुन्थ्यो । त्यसका लागि पत्रकारिता गर्नुपथ्र्यो । पत्रिका काठमाडौंमा थिए । नारायण दाङमा । दाङबाट काठमाडौंभन्दा लखनउ नजिक थियो । नारायण समाचार लखनउ पठाउँथे । नेपालीमा पठाएको समाचार हिन्दीमा छापिएर आउँथ्यो । यो २०१० सालतिरको कुरा हो, त्यही वर्षबाट उनको पत्रकारिता शुरु भएको थियो । त्यो पत्रिका थियो, ‘जनयुग’ । आफूले लेखेको कुरा पत्रिकामा समाचार बनेर आउँदा पत्रिकामा आकर्षण हुँदो रहेछ, नारायणलाई पनि त्यसले तान्यो ।

२० को दशकको शुरुदेखि नारायणको सम्पर्क काठमाडौंसँग बढ्दै गयो । गोविन्द वियोगीको ‘मातृभूमि’, मदनमणि दीक्षितको ‘समीक्षा’, मणिराज उपाध्यायको ‘समाज’ दैनिकमा उनले समाचार पठाउन थाले ।

२०१७ सालमा राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्त गरेर पञ्चायत लागू गरे । पञ्चायतले पत्रकारिताको घाँटी अँठ्याएको थियो । दरबार र पञ्चायतबाट बचेर पत्रकारिता गर्नुपथ्र्यो । अञ्चलाधीशलाई रिझाए पत्रकारिता गर्न सहज थियो, अन्यथा जोखिम मोलेर शब्द–शब्द लेख्नुपथ्र्यो । प्रशासनसँग पौँठेजोरी खेले पत्रिकाको दर्ता खारेज हुन्थ्यो । पञ्चायतविरोधी गतिविधि गरेको भन्दै उनले साढे तीन वर्ष जेल सजाय भोगेका थिए ।

“शुरुमा पञ्चायतविरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेलसहित जेल हालेको मलाई पछि विद्यार्थी आन्दोलनमा लागेको आरोप लगाएर थुनियो । हुन त म विद्यार्थी आन्दोलनमा लागेको थिइनँ, रचनात्मक सहयोगमात्रै थियो,” नारायण सम्झन्छन्, “दुई पटक गरेर मलाई ३ वर्ष ७ महिना थुनामा राखियो ।”

पञ्चायतसँगको लुकामारी

पञ्चायती व्यवस्थाको आलोचना गर्न सहज थिएन । जनताका समाचार आफ्नै भूमिबाट आऊन् भन्ने नारायणको चाहना थियो । त्यसैले ०३३ मा उनले दाङमा ‘युगबोध’ पाक्षिक निकाल्न कम्मर कसे । शायद पञ्चायतलाई ‘युगबोध’ आफैंमा क्रान्तिकारी नाम लाग्यो । दर्ता गर्न झस्कियो । दर्ताको प्रसंग सुनाउँछन् नारायण, “हामीले पहाड फोड्छौं भनेका थिएनौं, मात्रै जनजागृतिका समाचार दिन्छौं भनेका थियौं । सामाजवाद, साम्राज्यवाद, उपनिवेशवादविरुद्ध बोल्ने मेरो पृष्ठभूमि भएकाले पनि होला डराएको । दरबार र पञ्चायतविरुद्ध जनतालाई संगठित गर्ने हो कि भन्ने भय उनीहरूमा थियो । जनतालाई जागृत गरेर हामीविरुद्ध नै आवाज उठाउने बनाउने हुन् कि भन्ने पञ्चायतलाई डर थियो । तर पनि मैले पत्रिका दर्ता गरें ।”

प्रत्येक अंकमा अंकुश लगाउन खोज्थ्यो प्रशासन । नसके प्रत्रिका प्रकाशित भइसकेपछि भए पनि दिक्दार लगाउँथे । नारायणलाई हवल्दारदेखि डीएसपी र सीडीओदेखि अञ्चलाधीशले सम्म यस्तो किन छापेको भनेर स्पष्टीकरण लिन्थे । पञ्च नेताहरूले नसोध्ने त कुरै थिएन । सकेसम्म तर्साउन खोज्थे ।

“अक्षर तौली–तौली समाचार लेख्नुपथ्र्यो । थाहा पाएर पनि कति सूचना थाहा नपाएझैं गर्नुपथ्र्यो । त्यो बेलाको पत्रकारिता फलामको चिउरा चपाउनुसरह थियो । अक्षर–अक्षर तौलिएर समाचार दिँदा पनि पञ्चायतले देखिसहेन । ०३९ सालमा ‘युगबोध’ बन्द गरिदियो ।
प्रेसमा ताला लाग्यो । आम्दानीको स्रोत बन्द भयो । दानापानीकै समस्या भयो नारायणलाई । कानुनी प्रक्रियामा त गए तर त्यसको पनि सुनुवाइ भइरहेको थिएन ।

लाइसेन्स लिएर अर्को प्रेस खडा गरे । अर्कै पत्रिका दर्ता गरे । ‘युगबोध’को ठाउँमा ‘युगचेतना’ प्रकाशन शुरु गरे । ०४१ मा शुरु भएको ‘युगचेतना’ बहुदल नआउँदासम्म प्रकाशित भइरह्यो ।

०४६ को जनआन्दोलनले बहुदल फर्कायो । ‘युगबोध’ फुकुवा भयो । फुकुवासँगै प्रकाशन भएको ‘युगबोध’ अहिले पनि प्रकाशन भइरहेको छ । पाक्षिकबाट शुरु भएको ‘युगबोध’को यात्रा रंगीन ‘नयाँ युगबोध’ दैनिकसम्म आइपुगेको छ । दाङमा ‘नयाँ युगबोध’मात्रै रंगीन पत्रिका हो ।

जिन्दगीले त्राण पाएको दिन

नारायणले समाचार लेखे । अञ्चलाधीश नारायणसिंह बस्नेतलाई चित्त बुझेन । उनले नारायणलाई पञ्चायत र आफूविरोधी भन्ने अर्थ लगाए । प्रहरी निरीक्षक लगाएर घरबाटै पक्राउ गराए । पुलिस क्वार्टरमा लगेर यसरी अश्लील गाली गरे, जुन नारायणले अहिलेसम्म कसैलाई पनि जस्ताको तस्तै सुनाउन सकेका छैनन् । उनी भन्छन्, “उसले गरेको गाली न म तपाईंलाई सुनाउन सक्छु, न मैले सुनाए तपाईं सुन्न नै सक्नुहुन्छ ।”

‘किन लेखिस् यस्तो…’ भनी गाली गर्दै अञ्चलाधीशले तुलसीपुरस्थित आफ्नो कार्यालयमा लैजान गाडीमा चढाए । बाटोमा पर्ने एउटा खोलामा पुगेपछि अञ्चलाधीशले ड्राइभरलाई भने, “ए… गाडी रोक् ।”

गाडी रोकियो । नारायणलाई ओरालियो । अञ्चलाधीशले पेस्तोल निकाले । हातमा खेलाउन थाले । उनको हाउभाउले देखाइरहेको थियो— नारायणलाई उनले केही समयमै गोली हानेर उनको चोला यो धर्तीबाट उठाउँदै छन् ।

खै के सोचे अञ्चलाधीशले, उनै जानून् । ड्राइभरलाई भने, “ए… गाडी स्टार्ट गर् ।”

करिब २५ मिनेटमा गाडी अञ्चलाधीशको कार्यालय पुग्यो । प्रहरीको नियन्त्रणमा पुगे नारायण । सूर्य ओरालो लागिसकेको थियो । अँध्यारोले आफ्नो साम्राज्य कायम गर्न खोज्दै थियो । झिसमिसे साँझमा एसपीले नारायणलाई भने, “यसले जे पनि गर्न सक्छ तपाईंलाई । त्यसैले त्यसका कुरा नकाट्नु होला । हजुर… हजुर… मात्रै भन्नुहोला । मलाई अञ्चलाधीशको क्वार्टरमा ल्याउनू भनेको छ । जाऊँ ।”

बाटोमा रक्सीको नशाले मस्त भएका अञ्चलाधीश उनको कोठामा पुग्दा नाशाको मात्रा केही कम भएजस्तो देखिन्थ्यो । तर, पनि उनको दम्भको ग्राफ भने कत्ति पनि ओर्लिएको थिएन । भने, “तँलाई म जे पनि गरिदिन सक्छु ।”

नारायणलाई खार्न थाले । एसपीले भनिसकेका थिए— कुरा नकाट्नू । त्यसैले उनी खासै बोलेका थिएनन् । प्रतिवाद गरेर ज्यान गुमाउनुभन्दा कम बोलेर किनारामा पुगिसकेको जिन्दगी फर्काउनु नै उत्तम हुने नारायणको ब्रह्मले अह्रायो । उनी त्यहीअनुसार चल्न थाले । उनले अञ्चलाधीशलाई भने, “मलाई किन ल्याउनुभएको ? मैले के गरेको छु र ? मलाई त केही पनि थाहा छैन । तपाईंले मलाई के गर्न भन्नुभएको थियो र मैले के गरिनँ ? मैले के भूल गरें, भन्नुस् ।”

अञ्चलाधीशले भने, “पञ्चायतको खुला समर्थन गर्नुपर्छ । मेरो प्रशंसामा तैंले धारावाहिक लेखहरू लेख्नुपर्छ ।”

अञ्चलाधीश नशामा मात्तिएर हिँड्ने र चरित्र पनि राम्रो नभएको सबैलाई थाहा थियो । पत्रकार भएकाले त्यसबारे अझै धेरै जानकारी नारायणलाई थियो । त्यस्तो व्यक्तिसँग बहस र तर्क गर्नु मुर्खताशिवाय केही हुँदैन भन्ने उनलाई थाहा थियो ।

अञ्चलाधीशले भने, “त्यसो भए मैले भनेजस्तो गर्ने ?”

नारायणलाई उनको पञ्जाबाट जसरी भए पनि उम्किनु थियो । उनले कूटनीति चाले, “तपाईंले भने पछि त गर्ने हो । आजसम्म केही भन्नु नै भएको छैन, के गर्नू !”

नारायणको कूटनीतिले काम गर्न थाल्यो । शुरुमा ‘तँ’ भन्ने अञ्चलाधीश ‘तिमी’ हुँदै ‘तपाईं’मा आइपुगे ।

अन्तिममा उनले भने, “तपाईंलाई म मालामाल पनि गरिदिन सक्छु तर तपाईंले मैले भनेजस्तो गर्नुपर्छ ।”

“हस् हजुर !” तिहारको पूर्वसन्ध्यामा ललितपुरको बागडोलमा भेटिएका नारायणले हामीसँग ०३९ सालको कुरा सुनाए, “त्यसपछि म त्यही साँझ छुटेर घर आएँ ।”

सागरमा पुगिसकेको जिन्दगी त फर्कियो तर रातभर निद्रा परेन । जिन्दगी बचाउन त उनले अञ्चलाधीशसामु एकखालको प्रतिबद्धता जनाएका थिए तर त्यो प्रतिबद्धता पूरा गर्न उनलाई नैतिकताले दिँदैनथ्यो । जनतामा चेतनाको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्य बोकेको उनको पत्रिकाले न पञ्चायतको समर्थन गर्न सक्थ्यो न अञ्चलाधीशको प्रशंसा ।

उनले सोचे— अञ्चलाधीशले भनेजस्तो गर्ने हो भने त मेरो पत्रकारिताको करिअरै धूलोपीठो हुन्छ, पत्रिकाको छवि धुलिसात हुन्छ, व्यक्तित्व चैट हुन्छ । नगरे निरंकुश अञ्चलचलाधीशको हप्की सहनुपर्छ । त्यसैले उनले निर्णय गरे— अब दाङ छोड्छु । काठमाडौं जान्छु ।

भोलिपल्टै उनले काठमाडौंको बाटो समाते । काठमाडौंमा मदनमणि दीक्षित, गोविन्द वियोेगी, मणिराज उपाध्यायलगायत पत्रकारसँग भेट भयो । पानारोमा होटलमा कार्यक्रम थियो । नारायणले अञ्चलाधीशको हप्की र धम्की सुनाए । पत्रकारिता गर्न नसकेर विस्थापित भएको बताइदिए । काठमाडौंका अधिकांश अखबारले नारायणको समाचार प्राथमिकताका साथ छापे । समाचार भुसको आगोझैं फैलियो ।

नारायणले विस्थापित नै हुने गरी लेखेको समाचार के थियो ?

गिरिजाप्रसाद कोइराला कांग्रेस महामन्त्री थिए । उनी पार्टीको कार्यक्रममा दाङ पुगेका थिए । नारायणले गिरिजालाई भेटेर अन्तर्वार्ता लिए । त्यसकै आधारमा समाचार लेखे । त्यो बेला दाङमा नारायणको पत्रिकामात्रै थियो । ‘गोरखापत्र’, ‘रासस’ र ‘रेडियो नेपाल’का दाङ प्रतिनिधिमात्रै थिए । पत्रकारको संख्या नै धेरै थिएन । समाचार थियो, “राजाका सैनिक सचिव पनि विदेशी प्रभावबाट मुक्त छैनन् ।”

दरबार र पञ्चायतविरोधी समाचार लेखेको भन्दै उनलाई सैनिक कारबाहीको धम्की दिएर आतंकित बनाइयो । पत्रिका बन्द गर्ने बेला लिएको बयानमा नारायणले भनेका थिए, “गिरिजाले जे भने, मैले त्यही लेखेको हुँ ।”

काठमाडौंका पत्रिकाहरूले अञ्चलाधीशको विरुद्धमा समाचार लेखे । राष्ट्रिय पञ्चायतमा पनि कुरा उठ्यो । नारायणले ‘अञ्चलाधीशले अन्याय गरे’ भनेर दबारमा बिन्तीपत्र हाले । दरबारका सचिवले बोलाएर कारण सोधे । नारायणले घटनाको बेलीबिस्तार लगाए । उनका कुरा सुनेका सचिवले अर्को दिन बोलाएर भने, “तपाईं दाङ नै जानुस् । पत्रकारिता गर्नुस् । मैले अञ्चलाधीशलाई भन्दिसकें । निर्भीक भएर जानुस् ।”

त्यत्तिले मात्रै नारायणलाई विश्वास लागेन । अञ्चलाधीशले हातमा पेस्तोल बोकेर खोलाकिनारमा धम्क्याएको झल्झली आँखैमा घुम्थ्यो ।

तर, एकदिन अञ्चलाधीश नजिककै एक व्यक्ति (जो नारायणका पनि साथी थिए)ले फोन गरेर भने, “तपाईं आउनुस्, अब केही खतरा छैन । तपाईंलाई कुनै पनि यातना र तनाव दिँदैनन् ।”

नारायण ५ महिनापछि दाङ फर्किए । नभन्दै अञ्चलाधीशले उनलाई केही गरेनन् ।

पत्रकारिता गरेर खान पुग्छ ?

भूमिगत राजनीति गर्न सहज थिएन । प्रवासमा गएर राजनीति गर्न पनि सोचेजस्तो सजिलो थिएन । त्यसमाथि घरपरिवार आफैंले धान्नुपर्ने व्यक्तिलाई झनै कठिन थियो । त्यसैले नारायण भूमिगत पनि भएनन्, प्रवास निर्वासित पनि भएनन् । उनले मास्टरी पेशा शुरु गरे । मास्टरी गरे दालभातको जोहो पनि हुने, पत्रकारिता गर्न पनि सजिलो निष्कर्ष निकाले । उनले शुरु गरेको मास्टरीमा आँखा लाग्यो । बेलाबेलामा उल्झन आउँथ्यो ।

“त्यसबाट त्राण पाउन विवाद भए पनि माथिल्लै तहका व्यक्तिसँग हुन्छ भनेर ऋण लिई पत्रकारिता शुरु गरेको थिएँ,” उनले सुनाए ।

कम्युनिस्ट विचारधाराबाट प्रभावित भएर पत्रकारिता शुरु भएको सुनाउँदै नारायण भन्छन्, “अहिलेको जस्तो कमाउने र सुखसयलका लागि भनेर त्यो बेला पत्रकारिता गरिँदैनथ्यो । कि जनताको चेतनाका लागि हुन्थ्यो कि तत्कालीन सत्ताको गुणगान गाउन हुन्थ्यो ।”

उमेरले ८८ वर्षमा हिँडिरहेका नारायण खुसुक्क सोध्छन्, “बाबु, पत्रकारिता गरेर जीवन निर्वाह हुन्छ अहिले ?”

उनले शुरु गर्दा पत्रकारिता सेवामात्रै थियो । अहिले सेवामूलक व्यवसायमा परिणत भइसकेको छ । पत्रकारिता गरेरै पत्रकारहरूले जीवन धानिरहेका छन् । यो जवाफमा उनी खुशी देखिए । मुजा पर्न थालेको अनुहारमा खुशीका तरंग देखिए ।

संकटकालको संकट

हरेक देशको पत्रकारिता त्यो देशको राजनीतिक शासन व्यवस्थासँग जोडिएको हुन्छ । उदारवादी शासन व्यवस्था भएको देशमा स्वतन्त्र प्रेस, तानाशाही र निरंकुश व्यवस्था भएको देशमा नियन्त्रित प्रेस । नेपालमा अस्थिर राजनीति, परिवर्तन भइरहने शासन व्यवस्था अनि वर्षवर्षमा परिवर्तन हुने सरकार । यसको सीधा प्रभाव पत्रकारितामा पनि पर्‍यो । कहिले स्वतन्त्र प्रेस, कहिले लगाम लागेको प्रेस । यी सबै अनुभवको ज्युँदो साक्षी बने नारायण ।

२०५८ मंसिर ११ देखि शेरबहादुर देउवा सरकारले लगाएको संकटकाल र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनले फेरि निरंकुशता अनुभूत गरे ।

प्रायः हरेक दिन सेना आएर पत्रिकाको कार्यालयवरिपरि घुम्थे तर केही नभनी जान्थे । हरेक दिनको त्यो व्यवहार ‘नयाँ युगबोध’ सेनाको निगरानीमा परेको स्पष्ट संकेत थियो । सेना ब्यारेकबाट बाहिर निस्किएको बेला त्यस्तो व्यवहारले पत्रकारहरू आतंकित थिए ।

“एकदिन बिहान आएर सेनाले पत्रिका नचलाउनू भनेर सम्झाएजस्तो गर्‍यो । दिउँसो आएर पत्रिका नचलाउनुहोला है भन्यो । साँझ आएर छापिन तयार समाचारको फाइनल कपी हामीलाई देखाउनुस् है भन्यो,” संकटकालको घटना सम्झन्छन् नारायण, “राति १२ बजे प्रेसमा सेना आएछ । म सुतिसकेको थिएँ । ५० भन्दा धेरै सेनाले हाम्रो पत्रिकाको कार्यालय घेराउ गरिसकेछ । प्रेसमा काम गरिरहेका पत्रकारलाई सेनाले बाहिर ल्याएर बन्दुक तेस्र्याउँदै सोधेछ, “नारायण शर्मा कहाँ छ ?”

कर्मचारीले उनी सुतिसकेको बताएपछि सेनाले उठाएर ल्याउन अह्राएछन् । नारायण सुतेकै ड्रेसमा बाहिर आए । अरु पत्रकारलाई केही नगरी सेनाले नारायणलाई ब्यारेक लिएर गयो । अढाई घण्टासम्म केरकार गर्‍यो । एउटै कुरा दशौंपटक दोहोर्‍याएर सोध्यो । सेनाले नारायणको ठेगाना नै गलत भनेर ‘तँ फलानो नाम गरेको माओवादी नेता होस्’ भन्दै जबर्जस्ती स्वीकार्न बाध्य पारिहेको थियो । नारायणलाई त्यतिबेला जिन्दगीको अन्तिम क्षणमा आइपुगेछु भन्ने लाग्यो । सेनाले कबोल गराउन खोजेको व्यक्ति आफू नभएको बताइरहे उनले ।

“कुनै एक नेताको नाम लिएर मलाई त्यही नेता हुँ भन्न लगाइरहेका थिए,” नारायण सम्झिन्छन्, “तर, मैले झुटो कबोर गरिनँ । नभएको व्यक्ति हुँ भनिनँ । भनें कि कुनै बेला म नेता थिएँ । पछि शिक्षक भएँ । अहिले पत्रकार छु । पत्रकार भएपछि नेता छैन, यही हो मेरो  परिचय । राज्यले अनुमति दिएको वैध पत्रिका निकालिरहेको छु । यसमा मेरो के अपराध छ ?”

मनभरिको डरलाई एक छेउमा पाखा लगाएर उनी निडर देखिन खोजिरहेका थिए । माओवादी नेतालाई जस्तो व्यवहार गरेको सेनाले अन्ततः उनलाई घरमै ल्याएर छाडिदियो । फेरि अर्को पटक उनले त्राण पाए ।

सेनाले माओवादी नेता नारायण शर्मा ठानेर उनलाई रातारात ब्यारेक लगेको थियो । उनी ती नारायण शर्मा थिएनन् । जसोतसो उनी उम्किए ।

तर, उनको पत्रिकाले अझै एकपटक राज्यको अवरोध झेल्नु पर्‍यो । ज्ञानेन्द्रको शासनकालमा उनको पत्रिका बन्द गरियो । माघ १९ को कदमपछि पत्रिकाको कार्यालयमा ताला लाग्यो । अरु पत्रिकाका समाचार कक्षमा तैनाथ सेना फिर्ता भयो । पत्रिकाले थोरै भए पनि राहत महसुस गरे । बन्द सञ्चार सेवा खुल्यो । जनजीवन केही सहज त भयो तर नारायणको ‘नयाँ युगबोध’को प्रतिबन्ध फुकुवा भएन ।

नारायण अदालत गए, रिट हाले । न्यायालयले उनलाई न्याय दियो । रिटबाट पत्रिकामाथिको प्रतिबन्ध फुकुवा भएको नजिर ‘नयाँ युगबोध’ले बसाल्यो । लगातार १९ दिन ताला लागेपछि बीसौं दिनमा पत्रिका सुचारु भयो ।

‘यो समाचार लेख्’

देउवा सरकारले तत्कालीन भूमिगत माओवादी नेताका टाउकाको मोल तोकेको थियो । नेताका टाउका काटेर ल्याउनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरेको थियो । मूल्य तोकिएका नेताको सूची बोकेर एकदिन प्रशासक नाम र नेताको तस्बिर बोकेर पत्रिकाको कार्यालयमा आई ‘यो समाचार छाप्’ भने ।

उनले प्रशासकलाई सीधै भनिदिए, “रोल्पाबाट युद्ध शुरु भएको छ, दाङमा त्यसको प्रभाव कति छ, सबैलाई थाहा छ । यो लेखें भने उनीहरूले मलाई बाँकी राख्छन् ? मेरो सुरक्षाको ग्यारेन्टी तपाईंहरू लिन सक्नुहुन्छ ? म स्वयं असुरक्षित हुने समाचार छाप्न सक्दिनँ । पत्रिका बन्द गर्ने भए गर्नुस् तर माओवादीलाई आतंककारी भनेर लेख्न म सक्दिनँ ।”

उनी माओवादीका दुश्मन भएनन् । माक्र्स र लेनिनका सिद्धान्तलाई शिरोपर गरेर हिँडेका नारायण सधैं कम्युनिस्टका पक्षपाती नै रहे । ‘नारायण गुरु’ भनेर चिनिने उनका साहित्यिक रचनामा पनि त्यो देखिन्छ । शायद माओवादीले पनि उनको विचारलाई नजिकबाट नियालिरहेको थियो । भूमिगत राजनीतिबाट शान्ति–प्रक्रियामा आएपछि तत्कालीन माओवादीले उनलाई पुनस्र्थापित प्रनिनिधिसभामा सदस्य बनायो । पछि प्रेस काउन्सिलमा मनोनीत भए । नारायणकै पालामा हो, प्रेस काउन्सिलले ‘संहिता’ प्रेस काउन्सिलको ४० वर्षे इतिहास प्रकाशन गरेको ।

“आज पत्रकारिता ऊ बेलाको जस्तो रहेन । अहिले पत्रकारिता सुख, सुविधा, ऐश, आराम र व्यवसायका लागि भएको छ । सेवाका लागि पत्रकारिता एकादेशको कथासरह भएको छ,” जाँदाजाँदै उनले मनको गुनासो पोखे ।

वाह्रखरीवाट